राष्ट्रिय गौरवका विमानस्थल निर्माण सुस्त

घनश्याम खड्का

काठमाडौँ — बढ्दो हवाई चाप थेग्न नयाँ अन्तर्राष्ट्रिय र क्षेत्रीय विमानस्थलहरू बढाउनुपर्ने निक्र्योलमा नागरिक उड्डयन प्राधिकरण वर्षाैंअघि नै पुगे पनि काम भने गौतम बुद्ध विमानस्थलबाहेक अन्यत्र अघि बढ्न सकेको छैन  ।

राष्ट्रिय गौरवका विमानस्थल निर्माण सुस्त

दुई दशकभन्दा अघिदेखि बनाउने भनिएको निजगढ विमानस्थल अहिले पनि अध्ययनकै विवादमा अल्झिएको छ भने २०३२ देखि बनाउन भनेर जग्गा अधिग्रहण गरिएको पोखरा विमानस्थलमा बल्ल काम सुरु भएको छ ।


संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ, गौतम बुद्ध र पोखरा विमानस्थल निर्माणका क्रममा देखिएका समस्या र काम अघि बढ्न नसक्नाका कारण यतिखेर अध्ययन गरिरहेको छ जसका लागि पूर्वप्रधानमन्त्री माधव नेपालको संयोजकत्वमा अध्ययन उपसमितिसमेत गठन भएको छ । ‘वर्षौंसम्म पनि काम किन भइरहेको छैन यो देशमा ?’ प्राधिकरणका अधिकारी र विज्ञसमेतलाई संसद्मा बोलाएर गत साता नेता नेपालले सोधेका थिए, ‘आखिर के त्यस्तो कारण छ जसले नेपालमा ठूला काम हुन दिइरहेको छैन ?’


उड्डयन प्राधिकरणका अधिकारी विकास हुन नसक्नाको कारण प्रशासनिक ढिलासुस्ती, विज्ञहरूबीचको मतैक्यता र राजनीतिक इच्छाशक्तिलाई औंल्याउँछन् । ‘हामीलाई बढीभन्दा बढी अन्तर्राष्ट्रिय कनेक्टिभिटी बढाउन नयाँ विमानस्थलहरू जतिसक्दो छिटो चाहिएको छ,’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम भन्छन्, ‘जति प्रयास गर्दा पनि निजगढमा निर्माण अघि बढ्न सकेको थिएन, बल्ल अहिले आएर केही गति लिएको छ ।’


भैरहवामा निर्माणको गति तीव्रताका साथ अघि बढेको र पोखरामा चाहिँ सुरु भएको कागजात पनि प्राधिकरणले संसद्मा पेस गरेको छ । विभिन्न बहानामा विकास रोक्ने तत्त्वहरू सलबलाइरहेको भन्दै प्राधिकरणले संसदीय समितिमा अब कुनै बहानालाई यसो गर्न नदिन पनि आग्रह गरेको छ । समितिमा प्राधिकरणले पेस गरेको प्रतिवेदनअनुसार गौतम बुद्ध क्षेत्रीय विमानस्थलमा ५३ प्रतिशत भौतिक काम पूरा भइसकेको छ भने २०१९ को जुन सम्ममा थप काम सक्ने गरी चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुप्स लिमिटेडसँगको सम्झौता अवधि थप गरिएको छ । उक्त कम्पनीसँग प्राधिकरणले १३ नोभेम्बर २०१४ मा उक्त विमानस्थल बनाउने सम्झौता गरेको थियो जसमाथि एसियाली विकास बैंकको लगानी छ । सुरुवाती सम्झौताअनुसार निर्माणको सबै काम ३१ डिसेम्बर २०१७ मै गरिसक्नुपर्ने थियो । तर, भूकम्प, नाकाबन्दीलगायत विविध कारणले निर्माण तोकिएको समयमा हुन नसकेपछि समय थप गरिएको हो ।


त्यस्तै पोखरा विमानस्थलको निर्माण २०१७ जुलाई ११ बाट सुरु भएको प्राधिकरणले जनाएको छ । यो बनाउने काम पनि चिनियाँ कम्पनीले नै पाएको छ । प्राधिकरण र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडसँग २०१४ मे २२ मा विमानस्थल निर्माण सम्झौता भएको थियो । आउने १० जुलाई २०२१ मा पोखरा विमानस्थल बनाइसक्ने आयोजनाको लक्ष्य छ । ढिलै भए पनि लुम्बिनी र पोखरामा काम अघि बढे पनि निजगढमा भने अझै विविध प्रश्न उठेकामा पूर्वप्रधानमन्त्री नेपाललाई चित्त बुझेको छैन । ‘अब थप अध्ययन र अनुसन्धान यसबारे गर्नु आवश्यक छैन,’ गत साता प्राधिकरणलाई निर्देशन दिँदै नेपालले भनेका थिए, ‘अब जे जति अध्ययन अनुसन्धान भएका छन्, त्यसैका आधारमा काम अघि बढाउनुस् ।’

प्रकाशित : आश्विन ३१, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?