कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फूल फुले, उनीहरू चुँडिए...

बलात्कारपछि हत्या
कान्तिपुर संवाददाता

धनगढी र कञ्चनपुर — आँगनभरि फूल फुलेका छन् । तर, ती फूल रोप्ने लालाबाला अहिले साथमा छैनन् । त्यसैले दसैंको रमझममा पनि परिवार रमाउन सकेका छैनन् ।

फूल फुले, उनीहरू चुँडिए...

‘हामीलाई दसैं आउनु र जानुमा कुनै चासो छैन,’ बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले भनिन्, ‘छोरीका हत्यारा पत्ता नलागी के चाडपर्व मनाउनु ?’ उनको परिवारले गौरा र तीज पनि मनाएन । गत वर्षको दसैंमा निर्मला आमासँगै धनगढीस्थित मामाघर गएकी थिइन् । मामाले एकजोर कपडा किनिदिएका थिए । यसपलि पनि धनगढी वा बुडर जाने दुर्गाको योजना थियो । तर छोरीको हत्यापछि सबै भताभुंग भयो ।


दसैंका दिन निर्मला आफैं पकौडा, ब्रेड र चाउमिन बनाउँथिन् । उनलाई खुबै मन पथ्र्यो । ‘खाने कुरा पकाउन निकै सोख मान्थी,’ दुर्गादेवि भन्छिन्, ‘ऊ गएदेखि न केही खान मन छ, न केही गर्न ।’ गाउँमा दसैं मनाउन नयाँनयाँ व्यक्तिहरू आउने क्रम चलिरहेको छ । सडकछेउको घरबाट दुर्गादेवी यी दृश्य टुलुटुलु हेरिराख्छिन् ।


सबै जना निर्मलाकै न्यायका लागि भौंतारिइरहेका छन् । कहिले मानवअधिकारकर्मी, कहिले प्रहरी त कहिले प्रशासन पुग्ने गरेको बुबा यज्ञराज बताउँछन् । ‘हामीलाई दसैंभन्दा पनि अपराधी पत्ता लाग्नुपर्छ भन्नेमा बढी ध्यान छ,’ उनले भने, ‘दसैं त अर्काे वर्ष पनि मनाउला तर छोरीका हत्यारा उम्किए भोलि कसैले सुनवाइ गरिदिँदैन ।’ उनी बर्सेनि नवरात्रीमा पहाड जान्थे । टीकाको अघिल्लो दिन फर्किन्थे । छोराछोरी सबैलाई टीका लगाइदिन्थे । बजारबाट मिठाइ, पनिरलगायत खानेकुरा किनेर लैजान्थे । ‘निर्मला पनिर धेरै मन पराउँथी,’ उनले भने, ‘म नआएसम्म सबै जना टीका लगाउन कुरिराख्थे ।’ उनका छिमेकी पनि विगतझैं तडकभडक गरेर दसैं मनाउने पक्षमा छैनन् । सामान्य टीकाटालो मात्र गर्दै छन् ।


दसैंमा निर्मला र दिदी मनीषा मिलेर खाने कुराहरू पकाउँथे । ‘अहिले घटस्थापना लागेदेखि नै भान्सा पस्न मन लागेको छैन,’ मनीषाले भनिन्, ‘दसैं मनाउने इच्छा नै रहेन, बाहिरको चहलपहल देख्दा निर्मलाकै याद आउँछ ।’ साउन १० गते साथीको घर गएकी भीमदत्त–२ उल्टाखामकी १३ वर्षीया निर्मला दोस्रो दिन नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन् । बलात्कारपछि हत्या गरिए पनि हालसम्म अपराधी पत्ता लाग्न सकेको छैन ।
***


कञ्चनपुरको कृष्णपुर–८ शान्तिपुरका कर्णबहादुर बिष्टसँगै आफन्त र छिमेकीका घरआँगनसमेत सुनसान छन् । यसपालि असार अन्तिम सातादेखि नै यो बस्ती सुनसान छ । दसैंमा पनि रौनिक फर्किएन ।


असार २६ गते किताब किन्न साथीसँग अत्तरिया गएकी कर्ण बिष्टकी १७ वर्षीया छोरी कविता त्यसपछि घर फर्किनन् । ६ दिनपछि लालझाडी जंगलमा उनको शव फेला पर्‍यो, बलात्कार गरिएको अवस्थामा ।


‘३ बजेतिर फर्कन्छु भनेकी थिई,’ हजुरआमा बेलुदेवीले भनिन्, ‘मुखसमेत हेर्न पाइनँ, चाडबाडका बेला खुब रमाउँथी ।’ उनी नातिनी सम्झँदै भक्कानिएर रुन थालिन् । ‘उसले असारमा रोपेको धान काटदै छौं, खेतबारीमा उसैको झल्को आउँछ, आँगनभरि फूलका बोट लगाएकी थिई, ती फूल फुल्दै छन्,’ यति भनेपछि उनले कामना गरिन्, ‘मेरो आँसुले सरापोस्, अपराधी छुटन नपाऊन् ।’


कवितासँगै गएकी साथी डम्मरा रोकायाले आफूहरूले भेटेका युवकबारे खुलासा गरेपछि घटना थाहा भएको बुबा कर्णले बताए । ‘डम्मरालाई लिएर युवकको खोजीमा झलारी पुगेपछि उनले मदन गिरीलाइ देख्नेबित्तिकै चिनिन्, त्यसपछि घटनाको रहस्य खुल्यो,’ उनले भने ।


सुरुमा इलाका प्रहरी कार्यालयमा जानकारी गराउँदा खासै चासो नदिएको कर्णले बताए । ‘मदनको साथी भरत बोहराले समेत शव रहेको ठाउँबारे फोन गरेर जानकारी दियो, त्यसपछि मात्रै प्रहरी हामीसँगै जंगलतिर गएको हो,’ उनले भने । घटनामा संलग्न आरोपमा मदन र भरत पुर्पक्षका लागि कारागारमा छन् । मुद्दा अझै टुंगो लागेको छैन । ‘अदालतले के फैसला गर्छ, हामी पर्खिबसेका छौं, ती दुवैलाई छुटाउन प्रयास भइरहेको सुन्दैछौं,’ कर्णले भने ।


निर्मला प्रकरणमा प्रहरीले नै प्रमाण नष्ट गरेको सुनेपछि कर्णलाई यो केस पनि कमजोर बनाइयो कि भन्ने चिन्ता थपिएको छ । ‘हामी कहिल्यै यस्ता मुद्दामामिलामा परेनौं, वकिल राख्ने, बहस गराउने खर्च पनि छैन,’ उनले भने ।


घटनाको ती महिना बित्दा पनि उनीहरूको पीडा घटेको छैन । गाउँले पनि खुलेर दसैं मनाउन सकिरहेका छैनन् ।


न ओल्के न दसैं
डोटेलीहरू ओल्केलाई मुख्य चाड मान्छन् । डोटीबाट तराई झरेकाहरूले यो परम्परा धानिरहेकै छन् । गत भदौमा सबैले धुमधामसँग ओल्के मनाउँदा कैलाली, मसुरियाका हर्क विकको घरमा भने रौनक पसेन । छोरी गुमाउनुपरेको चोटमा उनीहरूले पर्वबारे । परिवार सदस्यको निधनमा एउटा पर्व बार्नु स्थानीय चलनै हो । तर, दसैंमा पनि उनीहरूमा कुनै उत्साह छैन ।
मसुरियाको जहरी कटानस्थित दलित बस्ती । अहिले नाम फेरिएर दुर्गाचोक । यही बस्तीका बासिन्दा हुन् हर्क । गत असार १२ गते परिवारमा वज्रपात पर्‍यो । भर्खर २० टेक्न थालेकी छोरी मायाको सामूहिक बलात्कारपछि हत्या भयो ।


‘छोरीसँग पोहोर दसैं मनाएको झझल्कोले सताइरहन्छ, अहिले ऊ नै छैन, केको उत्साह ?,’ हर्कले भने, ‘केटाकेटीको मन राख्न मात्र हुन्छ भनेर टारेको छु ।’


घटनापछि प्रदेश सरकारले परिवारलाई ५ लाख दिने घोषणा गरेको थियो । नगरपालिकाले पनि एक लाख दिने निर्णय गरेको छ । तर, उनीहरूलाई रकमभन्दा पनि पीडक उम्केला कि भन्ने चिन्ता छ । नगरका पदाधिकारीले पनि वास्ता नगरेको हर्कले बताए । ‘रकम दिने भए बुझौंला, पहिला दोषीलाई कडा कारबाही होस्,’ आमा देउसराले भनिन् ।

प्रकाशित : आश्विन ३१, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?