राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीमा पूजापाठ

नगेन्द्र अधिकारी

काभ्रे — नवरात्री अन्तर्गत महाअष्टमीको दिन बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचखाल ९ साठीघरमा रहेको पलाञ्चोक भगवतीमा दर्शन र पुजापाठ गरेकी छन् । राष्ट्रपतिको साथमा संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, जेठी छोरी निषाकुसुम भण्डारी लगायत उनका सल्लाहकार थिए । 

राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीमा पूजापाठ

नेपाली सेनाको हेलिकप्टरबाट विरेन्द्र शान्ती कार्य तालिम केन्द्रमा अवतरण गरेपछि स्कर्टिङमा मन्दिर पुगेकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका काभ्रेका प्रमुख उद्धव केसी, पलाञ्चोक कालिका भगवती विकास तथा सेवा समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, पाँचखाल नगरप्रमुख महेश खरेल, धुलिखेल नगरप्रमुख अशोककुमार व्याञ्जु, बनेपाका उपप्रमुख रेखा दाहाल सापकोटा, पलाञ्चोक कालिका भगवी मन्दिर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष किरण श्रेष्ठ लगायतका स्थानीयले स्वागत गरेका थिए ।

मुलुक संघीय गणतन्त्रात्मक व्यस्थामा गएपछि राष्ट्रप्रमुख आएको यो दोस्रो पटक हो । गतबर्ष पनि राष्ट्रपति भण्डारीले मन्दिरको दर्शन र पुजा अर्चना गरेकि थिइन् । २०३१ जेठ र २०३२ मंसिरमा तत्कालिन राजा विरेन्द्रले मन्दिर दर्शन गरेर पूजापाठ गरेका थिए । तत्कालिन राजा ज्ञानेन्द्र २०५८ भदौमा मन्दिर दर्शनका लागि आएका थिए । २०७१ कार्तिकमा तत्कालिन उपराष्ट्रपति परमानन्द झाले मन्दिर दर्शन गरेको समितिले जनाएको छ ।

नगरप्रमुख खरेलले मन्दिरको बारेमा राष्ट्रपतिलाई जानकारी दिएका थिए । वि। सं ४२५ मा राजा मानदेवको पालामा बनेको मन्दिर २०७२ सालको भूकम्पमा क्षति भएपछि २०७३ पुषदेखि पुरातत्व विभागमार्फत जीर्णोदार भइरहेको छ । ९० प्रतिशत जीर्णोदार सकिएको अध्यक्ष श्रेष्ठले जनाकारी दिए । जीर्णोदार र पार्किङस्थलको लागि अनुरोध गरिएको उनले बताए । राष्ट्रपति भण्डारीले आफ्नो तर्फबाट सक्दो सहयोगको प्रतिवद्धता व्यक्त गरेकी छन् ।

नमोबुद्ध नगरपालिकास्थित बुच्चाकोटमा रहेको शिला तिब्बततर्फ लाने क्रममा आफै पलाञ्चोमा आएर रहेको र भरियालाई राती सपनामा मेरो स्थान त्यही हो भनेपछि सो स्थानमा शिला स्थापना भएको किवंदन्ती छ । पछि सोही शिलाका आधारमा मुर्तिको रुप दिएर मन्दिर स्थापना भएको थियो । अन्त बनाउन नसकोस् भनेर कलाकारको दाहिने हात काटिएको वडाअध्यक्ष समेत रहेका पलाञ्चोक कालिका भगवी मन्दिर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, सोही कलाकारले शोभा, नाला र नक्साल भगवतीको मूर्ती बनाएका थिए । मन्दिर दर्शन गरे मनोकामना पुरा हुने, शुख शान्ती हुने धार्मिक विश्वास छ ।

प्रकाशित : आश्विन ३१, २०७५ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?