३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रोल्पामा दसैं चहलपहल : कतै पूजाआजा कतै मेला

शान्ति प्रक्रियापछि जनप्रतिनिधिको अगुवाईमा दसैं पर्व मनाइयो 
काशीराम डाँगी

(रोल्पा) — दसैंको अवसरमा शुभकामना व्यक्त गर्दै रोल्पामा नेता तथा जनप्रतिनिधिले दसैं नेपालीको साझा पर्व भएकाले धुमधामसाथ मनाउन आव्हान गरेका छन् । करिब दसैं वर्षसम्म रोल्पाबाट सुरु भई चलेको सशस्त्र द्वन्द्वका बेला पर्व मनाउन अफ्ठेरो भएपनि शान्ति प्रक्रियापछि सबैले खुशीसाथ दसैं मनाउन थालेकामा नेताहरुले खुशी व्यक्त गरेका हुन् ।

रोल्पामा दसैं चहलपहल : कतै पूजाआजा कतै मेला

तत्कालीन सशस्त्र द्वन्द्वका बेला दसैं लगायतका परम्परागत पर्व मनाउने चलन कम भएको थियो । तत्कालीन विद्रोहीले ती पर्वलाई जाति र धर्म विशेषसँग जोड्दै पर्व मनाउन अवरोध समेत उत्पन्न गरेका थिए । तर शान्ति प्रक्रियापछि भने त्यो अवस्था फेरिएको छ । यस अवधिमा माओवादी आफैले पर्व मनाउने गरेका छन् ।


पर्वका बेला शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्नुका साथै माओवादी नेता तथा जनप्रतिनिधिले मेला समेत आयोजना गर्दै आएका छन् । नव गठित सत्ता पक्षीय दल नेकपाका नेताहरु गाउमा दसैंै मनाउन आयोजना गरिएका कार्यक्रम मार्फत शुभकामना व्यक्त गर्दै पार्टी एकताबारे जानकारी गराइरहेका छन् ।


प्रदेश ५ का सांसद दीपेन्द्र पुनले दसैं नेपालीको साझा पर्व भएकाले सबैले रमाइलोगरी मनाउन आव्हान गरे । ‘दसैंलाई नयाँ परिवेशमा नयाँ तरिकाले मनाउन थालिएको छ । यसलाई परम्परागत तरिकाले मनाउनु पर्छ,’ नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद पुनले भने । सदरमुकामस्थित रोल्पा नगरपालिकाले आव्हान गरेको दसैं शुभकामना आदान प्रदान कार्यक्रममा भाग लिएर उनी ग्रामीण भेगमा आयोजना गरिएका कार्यक्रमहरुमा दसैं शुभकामना बाँड्न पुगेका छन् ।


बुधबार उनी एकै दिन लिबाङ र नुवागाउमा आयोजना गरिएका दसैं शुभकामना आदान प्रदान कार्यक्रममा भाग लिन पुगे । दसैं पर्वकै अवसरमा आफ्नो जन्म गाउ कोटगाउमा आयोजना गरिएको मेला तथा शुभकामना आदान प्रदान कार्यक्रममा भाग लिन आएका प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले दसैंले सबै समुदायलाई एकीकृत बनाउन बाँधेको बताए ।


रोल्पा नगरका मेयर पूर्ण केसीले दसैंसहित तिहार र छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै पर्वले सबै बीच सुमधुर सम्बन्ध बृद्धि गरेको विश्वास गरे । ‘दसैंले सबैलाई बाँधेको छ । यस अवसरमा सबैमा शुभकामना व्यक्त गर्छु । पर्वले सबैमा सुख र शान्ति ल्याओस् ।’


आफैले नगर कार्यालयमा बुधबार आयोजना गरेको दसैं मिलन र शुभकामना आदान प्रदान कार्यक्रममा मेयर केसीले भने । उक्त कार्यक्रममा दलका नेता, जनप्रतिनिधि तथा कर्मचारीहरु उपस्थित थिए ।



यस्तै प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले आफ्नो निबासमा दसैं मिलन कार्यक्रम आयोजना गरे । जनप्रतिनिधि, नेता, कर्मचारी तथा पत्रकारहरु उपस्थित कार्यक्रममा प्रजिअ एमसीले दसैंले सबैमा खुशी ल्याउने विश्वास गरे । कार्यक्रममा पूर्व मन्त्री सरेन्द्र हमाल, पूर्व सांसद लेखनाथ आचार्य लगायतका नेताहरु समेत उपस्थित थिए । प्रजिअ एमसीले जिल्लामा दसैंका अवसरमा प्रजिअ कार्यालयले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने तथा देवीको पूजापछिको प्रसाद ग्रहण गर्ने चलनलाई निरन्तरता दिएको बताए ।


शक्तीपीठमा मेला

जिल्लाका दुई शक्तिपीठहरु गजुलकोट र खुंग्रीमा दसैंैको महाष्टमीको अवसरमा विशेष मेला लागेको थियो । बिहानैदेखि देवीका मन्दिरमा पूजाआजाका लागि मानिसहरु भेला भएका थिए । गजुलकोटमा तत्कालीन सेन वंशका राजाले शासन चलाएको कोटमा दसैंको अवधिभर पूजाआजा र मेला लाग्छ । स्थानीय परम्परा अनुसार उक्त कोटबाट दसैंको फूलपातीका दिन नेपाली सेनाले लिएको प्रसाद र फूलपाती लिबाङस्थित देवी मन्दिरमा भित्र्याउने चलन छ । देवी पूजाको अवसरमा गजुलकोट र लिबाङको देवी मन्दिरमा विशेष पूजा समेत आयोजना गरिन्छ ।


यस्तै सती देवीको अंग पतन भएको विश्वास गरिएको खुंग्रीस्थित त्रिपुरेश्वरी मन्दिरमा दसैंको महाष्टमीका दिन विशेष पूजा हुन्छ । उक्त मन्दिरमा पूजाका लागि रोल्पासहित छिमेकी जिल्ला प्युठानका अधिकांश गाउबाट मानिसहरु आउछन् । विहानैदेखि उक्त मन्दिरमा भिड लागेको थियो । स्थानीयले बाजाजागासहित पूजा गर्ने पुरानो चलन छ ।


प्रकाशित : कार्तिक १, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?