षड्यन्त्रका ओथाराहरुले सरकार ढल्दैन : प्रधानमन्त्री

अर्जुन राजवंशी

बिर्तामोड — प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले देशको सम्पूर्ण ढुकुटी रित्याएर गएकाले वर्तमान सरकारले तत्काल प्रतिफल देखिने गरी काम गर्न नसकिरहेको बताएका छन् ।

षड्यन्त्रका ओथाराहरुले सरकार ढल्दैन : प्रधानमन्त्री

आफ्नो नेतृत्वमा सरकार गठन हुँदा मुलुकको अर्थतन्त्र अत्यन्तै धरासायी अवस्थामा रहेकाले प्रतिफल दिन नसकेको उनले स्वीकार गरे । यद्यपि, वर्तमान सरकारले बिग्रिएको अर्थतन्त्रलाई सुधारको बाटोमा अघि बढाइसकेको ओलीले दाबी गरे ।


प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले बिहीबार बडादसैं, शुभ दीपावली, छठ तथा नेपाल सम्वतको अवसरमा गृहजिल्ला झापाको बिर्तामोडमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विपक्षीले विभिन्न बहानाबाजीमा आरोप र लाच्छना लगाउने कार्य गरे पनि आफू भने समृद्ध राष्ट्र र जनतालाई सुखी बनाउने संकल्पबाट विचलित नभई अघि बढिरहेको बताए । ‘ढुक्क हुनुहोस् । तपाईंहरुको विश्वास र आशालाई मर्न दिने छैन । तपाईहरुले मप्रति देखाउनुभएको विश्वासमा धक्का लाग्न दिने छैन’ प्रधानमन्त्री ओलीले भने, ‘सुखी जनता र समृद्ध राष्ट्र निर्माणका लागि म अघि बढिरहेको छु ।’


प्रधानमन्त्री ओलीले केही मानिस सरकारलाई असफल बनाउन लागिपरेको बताए । उनले यो सरकार जोर–बिजोरले बनेको नभएकाले सजिलोसँग ढल्छ भन्ने नसोच्न चेतावनी दिए । उनले भने, ‘अँध्यरो कोठामा बसेर षड्यन्त्रका चल्ला कोरल्दैमा र षड्यन्त्रका ओथाराहरुले यो सरकार ढल्दैन ।’ ओलीले पुर्खाले ‘सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया:’ भने जस्तो अबको केही वर्षभित्रमै देशको विकास हुने बताए ।


ओलीले वर्तमान सरकारले भारत र चीनसँग समानताको सम्बन्ध बनाएको बताए । उनले भने, ‘भारतसँग आँखा जुधाएर बोल्न नसक्ने अवस्थाको अन्त्य गरेका छौं । चीनबाट कैयौं कुराहरुमा सहयोग आउने वातावरण बनाएका छौं ।’ उनले जसले जति विरोध गरे पनि अब चाडै कोसी र गण्डकी हुँदै समुन्द्रसम्म नेपालको पानी जहाज चल्ने बताए ।


प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले राज्यको ढुकुटी रित्याएर गएकाले यो वर्ष वृद्ध भत्ता बढाउन नसकेको स्पष्ट पारे । उनले अर्थतन्त्रमा सुधार हुँदै गएकाले अर्को वर्षदेखि वृद्ध भत्ता वृद्धि गर्ने प्रतिबद्धक्ता व्यक्त गरे । ‘वृद्ध भत्ता हामीले नै सुरुआत गरेका हौं । सय रुपैयाँबाट बढाउँदै दुई हजारसम्म हामीले नै पुर्‍याएका हौं’ ओलीले भने,‘यो पटक पनि वृद्ध भत्ता बढाउने भनेका थियौं । तर, अघिल्लो सरकारले ढुकुटी रिल्याएर गएकाले बढाउन सकेनौं । तपाईहरु ढुक्क रहनुस् अर्को वर्ष बढ्छ ।’

प्रकाशित : कार्तिक १, २०७५ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?