२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट बडादसैंको शुभकामना

रासस

काठमाडौँ — असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दसैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट बडादसैंको शुभकामना

‘मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवम् पुनर्मिलन गराई खुशीयाली र हार्दिकता साटासाट गर्न प्रभावकारी भूमिका निर्वाह गरिरहेको हाम्रो सांस्कृतिक वैभवको रुपमा रहेको बडादसैंले सामाजिक एकता, आपसी सद्भाव र आत्मीय भ्रातृत्व अभिवृद्धिमा ठूलो मद्दत पुग्ने विश्वास छ,’ राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको शुभकामना सन्देशमा उल्लेख छ ।


यसै अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सङ्घीय प्रतिनिधिसभाका सभामुख, विभिन्न राजनीतिक दलका नेतालगायत नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका व्यक्तित्वले पनि बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी हार्दिक शुभकामना प्रकट गरेका छन् ।


शरद ऋतुको महान् चाड दसैंले सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, सहयोग र स्नेह बढाउने बताउँदै उपराष्ट्रपति पुनले हाम्रा चाडपर्वले धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई सम्मान गर्दै सामाजिक, सद्भाव, एकता र साझा पहिचानसहित सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास विश्वास व्यक्त गरेका छन् ।


सभामुख कृष्णबहादुर महराले चाडपर्वले विभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं संस्कृतिक पहिचान रहेका सबै नेपालीका लागि समान अवसर प्राप्त हुने विश्वास व्यक्त गर्दै सामाजिक सद्भावसहित समृद्धिको कामना गरेका छन् ।


यसै उपलक्ष्यमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो र पार्टीका तर्फबाट स्वदेश तथा विदेश जहाँ रहे पनि सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले हिन्दू धर्मावलम्बीको महान् चाड विजयादशमीका अवसरमा शुभकामना व्यक्त गर्दै नेपालीको उत्तरोत्तर प्रगति तथा समृद्ध जीवनका लागि शुभकामना व्यक्त गरेका छन् ।


प्रकाशित : कार्तिक २, २०७५ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?