कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालमै दसैं

फातिमा बानु

काठमाडौँ — दाङकी रीमा दर्लामीको दसैं यसपटक वीर अस्पतालमा बित्यो । वर्ष दिनको चाड परिवारसँगै बसेर मनाउने सोचमा रहेकी उनी एक महिनादेखि अस्पतालमा छिन् । १८ वर्षीय कान्छो छोरा वीरबहादुर बालुवा घोल्ने मेसिनमा खुट्टा अडकेर घाइते भएपछि उनी वीर अस्पतालको ट्रमा सेन्टरमा कुरुवा बसिरहेकी छन् ।

अस्पतालमै दसैं

वीरबहादुरको दाहिने खुट्टा शल्यक्रिया गरी घुँडादेखि तल काटिएको छ । उठ्न, बस्न सहारा चाहिन्छ । रीमा भन्छिन्, ‘आफूले नखाई नसुती कति दु:ख गरेर हुर्काएको बच्चा अपांग भएको छ, मलाई कत्रो दशा रहेछ !’ वीरबहादुर पढाइ छोडेर घर बनाउने काममा लागेका थिए । कामकै क्रममा घाइते भएका हुन् ।


दसैं मनाउन नपाएकामा भन्दा छोराको खुट्टा गुमेकामा रीमाको मन रोएको छ । ‘हुर्केर हामीलाई हेर्ला भनेको, अब उसैलाई हेर्नुपर्ने भयो,’ उनले चिन्ता जनाइन् ।


मातातीर्थकी सुभा घिमिरे दुई सातादेखि वीर अस्पतालमा उपचाररत छिन् । ज्वरो आउँछ । कुनै औषधिले छोएको छैन । रोग अनुसन्धानकै क्रममा भएकाले उनी अरू बिरामीझैं डिस्चार्ज भएर घर जान पाइनन् । उनलाई अस्पतालको महिला बिरामी कक्षमा रगत चढाएर राखिएको छ । उनी भन्छिन्, ‘म ओछ्यान परेपछि घरमा दसैं आएन, साना छोरीहरूलाई आफन्तकोमा छोडेर म अस्पताल भर्ना भएकी हुँ ।’

पूरै घर सुभाले सम्हाल्थिन् । श्रीमान्ले छोडेर हिँडेपछि उनी घर धान्ने एक मात्र खम्बा भएकी थिइन् । दसैं खर्च जोहो गर्नेदेखि पाहुना बोलाएर टीका लगाउने, खुवाउने सबै उनैले गर्दै आएकी थिइन् । चाडको समयमा घरमा साँचो लगाएर अस्पताल बस्नुपर्दा नरमाइलो लागिरहेको सुनाउँछिन् सुभा ।


थापाथलीस्थित परोकार तथा प्रसूति गृह अस्पतालमा पनि धेरै बिरामी र सुत्केरीले दसैं मनाए । प्रसूति हुनका लागि भर्खरै शल्यक्रिया गरेका र पाठेघरको शल्यक्रिया भएका बिरामी दसैंभर अस्पतालमै बसेको प्रसूति गृह प्रशासनकी प्रमुख रानु थापाले बताइन् । आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीलाई अस्पतालले दसैंभर रोकेर राख्ने गरेको वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए । ‘ज्यान जोखिममा परेका बिरामीको उपचार आवश्यक हुन्छ, शल्यक्रियाको पालो कुर्ने बिरामी पनि दसैंभर अस्पताल बस्छन्,’ उनले भने ।


दम, निमोनियाँजस्ता घातक रोगका बिरामी पनि दसैंभर अस्पतालमै बसे । शल्यक्रियापश्चात् औषधि उपचार पूरा नभएका बिरामी घर जान पाएनन् ।


महाराजगन्जस्थित शिक्षण अस्पताल (टिचिङमा) मा उपचाररत धेरै बिरामी घर जान पाएनन् । अस्पतालका वरिष्ठ मेडिकल रेकर्ड अफिसर कुमार केसी भन्छन्, ‘घरमा राख्दा झनै जोखिम हुने बिरामीलाई घर पठाउन सकेनौं, उनीहरूलाई स्वास्थ्यकर्मीकै सहयोग चाहिन्छ ।’ कात्तिक २ गतेसम्म टिचिङमा २ सय ४७ बिरामी भर्ना भएका थिए ।


टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १५ जना बिरामी घर जान पाएनन् । सर्पले टोकेर रगत पातलो भएका, एचआईभी संक्रमित, भर्खरै क्षयरोगको औषधि सुरु गरेका र टाढाबाट रेफर भएर आएका बिरामीलाई घर पठाउन नमिल्ने अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए । उनले भने, ‘यस्ता बिरामीलाई चोटपटक लागेमा रगत रोकिँदैन, निरन्तर रगत बगेर ज्यानै जोखिममा पर्ने हुँदा डिस्चार्ज गर्न सकेनौं ।’

प्रकाशित : कार्तिक ५, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?