साप्सुखोलाबाट ७ मेगावाट

लागत १ अर्ब ५० करोड
डम्बरसिं राई

काठमाडौँ — साप्सुखोलाबाट सात दशमलव १५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन हुने भएको छ  । करिब एक अर्ब ५० करोड लगानीमा उक्त विद्युत् उत्पादन हुने भएको हो  ।

साप्सुखोलाबाट ७ मेगावाट

थ्रीस्टार हाइड्रोपावर कम्पनी भक्तपुरले सञ्चालन गर्ने उक्त विद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकको ७० र उपभोक्ताको ३० प्रतिशत लगानी रहने छ । यो आयोजना आगामी दुई वर्षभित्र सम्पन्न हुने छ ।


उक्त जलविद्युत् हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सिमानास्थित बेलडाडाँबाट उत्पादन गरिने हाइड्रोपावर कम्पनीका अध्यक्ष कुमार खरेलले बताए । ‘विद्युत् उत्पादनका लागि प्राधिकरणसँग पीपीए गरिसकिएको छ ।’ खरेलले भने,‘दसैंतिहारपछि रफतारमा काम बढाउने तयारीमा लागेका छौं ।’


यो विद्युत् आयोजना पीपीपी मोडलमा सञ्चालन गरिएको आयोजनाले जनाएको छ । यसबाट हुने कुल आम्दानीको दुई प्रतिशत स्थानीय तहलाई दिने खरेलले सुनाए । जलविद्युत् उत्पादनको काम अहिलेसम्म दस प्रतिशत सम्पन्न भइसकेको खरेलले जनाए । विद्युत् उत्पादनका लागि ८५ रोपनी सरकारी र ४७ रोपनी निजी जग्गा खरिद गरेर कम्पनीको नाममा पास गरिसकिएको आयोजना प्रमुख जेनिश लामाले बताए ।


विद्युत् उत्पादनपछि प्रतिवर्ष २२ करोड आम्दानी गर्ने लक्ष्य राखिएको छ । जलविद्युतका लागि सडक र सव–स्टेशन निर्माण, पावर हाउस निर्माण गर्ने ठाउँ सम्याउने, सब–स्टेशनसम्म पोल गाड्ने र तार विस्तार लगायतका दस प्रतिशत काम सकिएको खरेलले सुनाए ।


यो विद्युतको पावरहाउस बेलडाडाँमा राखिने छ । यहाँ उत्पादित विद्युत् राजापानीस्थित पुरानोगाउँमा निर्माण गरिएको सव–स्टेशनमार्फत केन्द्रीय प्रसारण लाइनमा मिसाइने प्रमुख लामाले बताए । ‘काजगी काम सकेर भौतिक काम पनि दस प्रतिशत सकिएको छ ।’ लामाले भने,‘दसैंतिहारपछि सिभिल मेकानिकल, हाइड्रो मेकानिकल र इलेक्ट्रोनिक मेकानिकलको काम सुरु गरिन्छ ।’


जलविद्युतको भौतिक निर्माणको काम ५० प्रतिशत पुगेपछि सेयर खुला गरिने कम्पनीले जनाएको छ । यो आयोजना तीस वर्षपछि विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिने छ । यसको सेयर स्थानीयवासी र लगानीकर्ताका लागि छुट्टाछुट्टै वितरण गरिने प्रमुख लामाले सुनाए ।


यो जिल्लाकै ठूलो जलविद्युत् आयोजना हुने छ । यहाँ करिब ३० जना स्थानीय युवाले रोजगारी पाउने प्रमुख लामाले बताए । विद्युत् उत्पादनपछि खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीयवासी अन्धकारमुक्त हुने कम्पनीले जनाएको छ । यहाँ उत्पादित विद्युत् ‘लुप इन लुप आउट’ सिस्टममा सञ्चालन गरिने भएको छ । ‘लुप इन लुप आउट’ सिस्टम नहुँदा
जिल्लामा उत्पादित साप्सु कालिका हाइड्रोपावर केन्द्रीय विद्युत् अवरुद्ध हुँदा बन्द हुने गरेको छ ।


जिल्लाका दस स्थानीय तहमा साना–ठूला गरी डेढ दर्जन बढी साना हाइड्रोपावर सञ्चालनमा छन् । तत्कालीन जिल्ला विकास समितिले आर्थिक वर्ष २०६३/०६४ मा पाँच वर्षभित्र जिल्लालाई लोडसेडिङमुक्त बनाउने योजना बनाएको थियो ।

प्रकाशित : कार्तिक ५, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?