पौडेल र सिटौलाका कारण पार्टी अनिर्णयको बन्दी : निधि

देवनारायण साह

मोरङ — कांग्रेस उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाका कारण पार्टी अनिर्णयको बन्दी बनेको बताएका छन् ।

पौडेल र सिटौलाका कारण पार्टी अनिर्णयको बन्दी : निधि

विराटनगरमा सोमबार पत्रकारसँगको कुराकानीमा निधिले वरिष्ठ नेता पौडेल र सिटौलाले समय नदिएकाले पार्टीको बैठक बस्न नसकेको बताएका हुन् । ‘पार्टीको बैठक बस्न नसकेर कुनैपनि निर्णय हुनसकेको छैन,’उनले भने,‘महासमिति बैठकको तयारी भइरहेको बेलामा पार्टीलाई अनिर्णयको बन्दी बनाउनु उचित होइन ।’


पार्टी बैठक बस्न नसक्दा गणतान्त्रिक फोरमसँगको सहमति कार्यान्वयन हुन नसकेको उनले गुनासो पोखे । उहाँहरुको अनुपस्थितिमा बैठक बसेर कुनै निर्णय गरिहाले एकलौटी ढंगले पार्टी चलाएको आरोप लगाउने गरेकाले बैठक बस्न समस्या भएको निधिले सुनाए ।


महासमिति बैठकपछि पार्टीमा अनुशासन समिति गठन हुने उनको भनाई छ । पार्टीभित्र बहस चलिरहेको अर्ली महाधिवेशनको विषयमा निधिले विधान अनुसार पार्टीको महाधिवेशन हुने प्रष्ट पारे ।

‘पार्टीको महाधिवेशन अर्ली पनि होइन र लेट पनि होइन,विधान अनुसार समयमा हुन्छ,’ उनले भने, ‘विधानमा एक वर्ष कार्यकाल थप्ने व्यवस्था छ भने विधान अनुरुप त्यो पनि हुन्छ ।’


पार्टीको विधान संशोधन मस्यौदामा सभापति र कार्यसमिति दुवैलाई मजबुत बनाउने व्यवस्था गरिनुपर्ने उनको भनाई थियो ।


कांग्रेसले सरकारमा सक्षम प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको उपसभापति निधिले दाबी गरे । ‘निर्मला पन्तको हत्या र स्वास्थ्य विधेयकमा पार्टीले विरोध जनाउँदा कांग्रेसले हतार गरेको टिप्पणी भएकाले धैर्य गरेर बसेका छौं,’उनले भने,‘मुलुकको राजनीतिमा प्रत्येक दिन नयाँनयाँ विषय आइरहेकोले हतार नगरी सचेत पूर्वक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ ।’


सरकारले करको जिम्मेवारी नलिएकाले मुलुकमा कर आतंक बढेको नेता निधिको आरोप छ ।

प्रकाशित : कार्तिक ५, २०७५ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?