२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

एउटैको पटकपटक उद्धार

सीमामा परिचयपत्र लागू गर्न सुझाव
ठाकुरसिंह थारू

बहराइच, भारत — खाडी मुलुकमा जान भारतको बाटो प्रयोग गर्ने महिला उद्धारपछि पनि पटक–पटक जाने गरेको पाइएको छ ।

एउटैको पटकपटक उद्धार

वैदेशिक रोजगारीका नाममा भारत पुर्‍याउने गरिएका महिलालाई भारतीय सुरक्षाकर्मीले फर्काउने गरेका छन् तर फर्काइएका व्यक्ति पटकपटक जान थालेपछि भारतीय सुरक्षाकर्मीले तिनको अभिलेख राख्न थालेका छन् ।


‘उद्धार गरेर पठाइएका महिला तीन पल्टसम्म विदेश जाने भन्दै आएको पाइयो,’ नेपाल–भारत सीमा अगैया रेन्जस्थित भारतीय सीमासुरक्षा बल (एसएसबी) का डेपुटी कमान्डेन्ट जय प्रकाशले भने, ‘त्यस्ता महिलालाई रोक्न नेपालबाट पनि निगरानी बढाउनुपर्छ । नेपाल–भारत आउजाउ गर्ने व्यक्तिको पहिचानका लागि परिचयपत्र अनिवार्य गर्ने हो भने केही सम्भव हुन सक्छ ।’


भारत जाने नेपालीको परिचयपत्र अनिवार्य नगरिएका कारण हराएकाको खोजीमा समस्या हुने गरेको छ । दिल्ली एयरपोर्ट हुँदै खाडी पुगेका सयौं महिला अझै पनि हराइरहेका छन् ।


पहिचान अभावले तिनको उद्धार हुन सकेको छैन । भारत, बहराइच जिल्लाका प्रहरी प्रमुख एसपी सभा रामले खुला सीमाका कारण मानव तस्करी चुनौतीपूर्ण बन्दै गएको बताए ।


‘खुला सीमा हाम्रो प्रमुख चुनौती हो तर सीमामा खटिने सुरक्षाकर्मीले निगरानी बढाएका छन्,’ उनले भने, ‘बेलाबेलामा नेपाल–भारत सुरक्षा अधिकारीबीच यसबारे छलफल पनि भएको छ ।’


भारतको बहराइचमा भएको इन्डो नेपालको छलफल कार्यक्रममा मानव तस्करी नियन्त्रणका लागि सीमामा परिचयपत्र लागू गर्न सुझाव दिइएको छ । भारतकै देहात संस्थाका जितेन्द्र चतुर्वेदीले सीमाबाट उद्धार गरिएका महिला र बालबालिका नेपाली अधिकारीलाई बुझाउने गरेको बताए । ‘हामी नेपाल–भारत सीमामा काम गर्दै आएका छौं, दैनिकजसो महिलालाई उद्धार गर्छौं,’ उनले भने, ‘कतिपय महिला पटक–पटक आएको भेटेका छौं ।’


नेपाल राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका अधिकृत टंकप्रसाद खनालले मानव तस्करी नियन्त्रणका लागि संयुक्त पहलकदमी आवश्यक रहेको जनाए । नेपालगन्ज नाका भएर महिलालाई भारत लैजान मानव तस्करको सञ्जाल गाउँगाउँमा सक्रिय छ ।


नेपाली महिला बिक्री हुन सक्ने भन्दै सरकारले भारत भएर वैदेशिक रोजगारीमा जान रोक लगाएको छ तर मानव तस्करले भारतको दिल्लीमा भिसा बनाइदिने भन्दै लैजान्छन् । माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले भने, ‘तस्करहरूले प्रलोभनमा पार्छन् र भारत लैजान्छन् ।’


माइती नेपालका अनुसार नेपालगन्ज सीमा हुँदै भारत गएका करिब साढे पाँच सय महिला सम्पर्कविहीन भएको भन्दै खोजीका लागि निवेदन परेको थियो । तीन वर्षको अवधिमा ८ सय ४६ महिला हराएको बाँके प्रहरीले जनाएको छ । तीमध्ये ३ सय ९४ जना मात्रै फेला परेका छन् ।

प्रकाशित : कार्तिक ५, २०७५ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?