जोडिँदै पोखरा–रुकुमकोट

टावरवाला झोलुंगे पुल समयअघि नै निर्माण पूरा हुँदै िजोखिम मोल्दै नदी वारपार गर्ने स्थानीयलाई सहज हुने
हरि गौतम

रुकुमपूर्व — सिस्ने गाउँपालिका ३ र ४ का स्थानीयलाई जोखिम मोलेर सानीभेरी नदी वारपार गर्नुपर्ने बाध्यता हट्ने भएको छ  । वर्षौंदेखि सानीभेरी नदी वारपारका क्रममा ठूलो जोखिम मोल्दै आएका स्थानीयलाई अब सहज हुने भएको हो  ।

जोडिँदै पोखरा–रुकुमकोट

सस्पेन्सन ब्रिज डिभिजनले सिस्नेको तातोपानी र धाउने जोड्ने टावरवाला (एन टाइप) झोलुंगे पुल निर्माण सम्पन्न गर्न थालेको छ । सदरमुकाम रुकुमकोटका साथै घाँस/दाउरा र विद्यालय आउनजान पनि काठे साँघुको भर पर्दै आएका स्थानीयलाई पुल बनेपछि राहत मिल्ने भएको हो ।


सानीभेरी नदीमाथि पुल नहुँदा बर्सेनिजस्तो सर्वसाधारण बग्नुपर्ने अवस्था थियो । हिमशिखर/बीएलटी जेभीले बनाइरहेको उक्त पुल निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ । ३ सय ५५ मिटर लामो पुल २ करोड ९१ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको हो । ०७४ माघमा डिभिजन र ठेकेदार कम्पनीबीच ठेक्का सम्झौता भएको थियो ।


०७६ असोजमा निर्माण सकिने गरी सम्झौता भए पनि धाउने–तातोपानी टावरवाला झोलुंगे पुल तोकिएको समयअगावै सम्पन्न भइसक्ने हिमशिखर कन्स्ट्रक्सन कम्पनीका प्रोप्राइटर नरहरि खड्काले बताए । पुलको टावर र लठ्ठा हाल्ने काम सकिएकाले अब फल्याक राख्न र जाली बुन्न मात्रै बाँकी रहेको उनले बताए ।


यतिबेला पुल निर्माण सम्पन्न भइसक्ने भए पनि स्थानीयको असहयोगका कारण ढिलाइ भएको उनले बताए । पुल निर्माण सुरु हुँदा स्थानीय भोजकुमारी शाहीले भर्‍याङ तयार गर्ने जग्गा दिने भनेर सहमति गरे पनि हाल आएर जग्गा दिन आनाकानी गर्दा समस्या भएको उनले बताए । ‘हामीले काम सकिसक्ने थियौं, जग्गाधनीको पूर्ण सहयोग नपाएपछि थोरै ढिला भएको छ,’ उनले भने, ‘सहजीकरणका लागि स्थानीय तहको सहयोग लिने तयारीमा छौं ।’ आगामी कात्तिक मसान्तसम्म पुल हस्तान्तरण गर्ने गरी काम भइरहेको उनले बताए ।


उक्त ठाउँमा पुलको विकल्पका रूपमा राखिने काठे पुलबाट हरेक दिन ३ सय ५० भन्दा बढी सर्वसाधारण तथा विद्यार्थी आवतजावत गर्थे । पक्की पुल नहुँदा नाथीगाड, घरेलीलगायत ठाउँका धेरै विद्यार्थी नजिकको जनता मावि छाडेर टाढाको स्कुलमा पढ्न जान बाध्य छन् । पोखराको तातोपानी नुहाउन तथा हेर्न जानेलाई पनि अब उक्त पुलले सजिलो हुने भएको छ । पोखराका ७४ वर्षीय देवबहादुर खत्रीले लामो समयपछि सानीभेरीमाथि पुल बन्न लागेकामा खुसी व्यक्त गरे । ‘बाजेबराजुको पालादेखि नै हामी काठे साँघुबाट सानीभेरी वारपार गर्दै आएका थियौं,’ उनले भने, ‘पुल निर्माण अन्तिम चरणमा पुगेको छ, धेरै नै खुसी छौं ।’


पुलको विकल्पमा हरेक मंसिर महिनामा पोखरावासीले बनाउने काठे साँघु हरेक असारमा सानीभेरीमा आउने बाढीले बगाउने गरेको थियो । ५ महिना वारिका वारि र पारिका पारि नै बस्नुपर्ने बाध्यतामा सर्वसाधारण थिए । झन्डै ५ हजार रुपैयाँमा काठे साँघु तयार हुन्थ्यो र त्यसको आयु पनि मंसिरदेखि जेठसम्म ७ महिना मात्रै हुन्थ्यो । पुल बन्न थालेपछि स्थानीयले साँघु बनाउनेतर्फ ध्यानै दिएका छैनन् ।


स्थानीय डिलबहादुर केसीले धेरै सर्वसाधारणको साँघुबाट खसेर ज्यान गएको बताए । ०६० सालमा नेपाली सेनाका केही जवान सोही साँघुबाट खस्दा हतियार बगाएको र सेनाका जवानलाई खोज्न एक दिन लागेको थियो । सानीभेरी तर्न वर्षामा अमलाचौर या बोजेरी पुग्नुपर्ने बाध्यतामा स्थानीय थिए ।


प्रकाशित : कार्तिक ६, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?