१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सवारी चापले बेनी–जोमसोम सडक ठप्प, आन्तरिक पर्यटकले जोमसोम भरिभराउ

घनश्याम खड्का

म्याग्दी — मुस्ताङ भ्रमणमा आउने पर्यटकका सवारीसाधनको संख्या बढेपछि स्तरोन्नति भइरहेको बेनी–जोमसोम सडकमा घन्टौं ट्राफिक जाम हुने गरेको छ । अक्करे भीरको साँघुरा र पहिरोग्रस्त सडक पनि स्तरोन्नति गर्न भित्ता काट्ने र डिलतर्फ गाह्रो उठाइ फिलिङ गर्ने काम भइरहेको बेला बढी सवारीसाधन भित्रिएर ओहोरदोहोर हुन नसक्दा सडक ठप्पै भएको हो ।

सवारी चापले बेनी–जोमसोम सडक ठप्प, आन्तरिक पर्यटकले जोमसोम भरिभराउ

मुस्ताङ जाने र तत्काल फर्कने भएकोले सडकमा दोहोरो सवारी जाम बढी भएको हो ।


देशभरबाट भित्रिएका बस, जीप, मोटरसाइकल र पर्यटक गाडीको अधिक चापले सिङ्गल लेनको बेनी–जोमसोम सडक अस्तव्यस्त भएको हो । सडकको बेगखोला, भीरकाटे, तातोपानी, घन्टेखोला दानाको रुप्से छहरा, अन्धगल्छी र बाँदरजुँग भीर क्षेत्रका साँघुरो सडक क्षेत्रमा लामो जाम हुने गरेको छ ।


‘दसैंको टिकाकै दिनदेखि मुस्ताङ आउने पर्यटक बढेका छन् । आइतबार र सोमबार त अधिक नै चाप भयो,’ घाँसा प्रहरी चौकीका इन्चार्ज सई गोपाल खत्रीले भने, ‘म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानाको काप्रे र रुप्से छहरा छेउमा पहिरोले सडक साँघुरो हुँदा यातायात एकातर्फी भएकोले घन्टौं जाम भयो । जाम खुलाउन राति १ बज्यो । राति यात्रुले सास्ती पाए ।’


बाढीपहिरोले क्षतिग्रस्त र साँघुरा बनेका सडकखण्डमा गाडी दोहोरो पास नहुने र कतै सडक छेउमा ठूला गाडी पार्किङ् नहुँदा दैनिक घन्टौं जाम हुने गरेको हो । बस्ती नभएको जंगल क्षेत्रमा घन्टौं गाडी जाम हुँदा यात्रुले सास्ती पाएका मात्र छैनन्, समयमा गन्तब्यमा पुग्न नसक्दा बास पाउन समेत समस्या हुने गरेको छ ।


दसैंको लामो बिदा मनाउन छिमेका, म्याग्दी, बाग्लुङ, पर्वत मात्र होइन पोखरा, काठमाडौं, बुटवल, हेटौंडा, विराटनगर लगाएत देशका विभिन्न ठाउँबाट मुस्ताङ तथा मुक्तिनाथ आउने आन्तरिक पर्यटकको संख्या बढेको छ ।


‘पर्यटकको उच्च बृद्धिले बेनी–जोमसोम सडकमा ट्राफिक चाप पनि अधिक परेको छ । दैनिक १ हजार ५ सय बढी सवारीसाधन मुस्ताङ प्रवेश गर्ने र उत्तिकै संख्यामा बाहिरिँदा निर्माणाधीन सडक छिचोल्नै मुस्किल हुन्छ,’ सपरिवार मुस्ताङ्ग भ्रमणबाट फर्केका नेकपा म्याग्दीका नेता बालकृष्ण सुवेदीले भने, ‘मुस्ताङ्ग उक्लने बस, जिप र मोटरसाइकलको ताँतीले ५ घन्टाको बाटो छिचोल्न १२ घन्टाबढी समय लाग्यो । आशालाग्दो पर्यटक बृद्धि भएको छ ।’


मोटरबाटोको सुगमताले दसैंको टिका लगाउन नपाएका र लामो बिदा मनाउन सहरका कर्मचारी, व्यवसायी, सञ्चारकर्मी सपरिवार मुस्ताङ भ्रमणमा आएका छन । त्यसैगरी चिसो बढी नसकेकोले विभिन्न कलेजका विद्यार्थीहरु पनि शैक्षिक भ्रमणमा आएका छन ।


त्यसैगरी असोज–कात्तिक नेपालको पहाडी/हिमाली क्षेत्रको पदयात्रा मौसम भएकोले राउण्ड अन्नपूर्ण पदमार्गको उत्कृष्ट गन्तब्य थोरङ्ला पास मुनीको मुक्तिनाथ, जोमसोममा बाह्य पर्यटकको पनि उत्तिकै घुइँचो लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मुस्ताङका अनुसार अहिले दैनिक दुई सयबढी बाह्य पर्यटक मुक्तिनाथमा ‘इन्ट्री’ गरेका छन ।


‘जोमसोम, कागवेनी, मुक्तिनाथ क्षेत्रका होटल दिउँसो १२ बजे नै भरिभराउ हुँदा अबेर पुगेका पर्यटकले बासको समस्या खेप्न बाध्य छन,’ मुस्ताङका स्थानीय सञ्चारकर्मी सुन्दर थकालीले भने, ‘मोटरबाटोको सोझो पहुँच र सिजनेवल व्यवसाय जोमसोम माथिका होटल क्षमताले पाहुना थेग्न नसक्ने र तल्लो क्षेत्रका लेते, कोवाङ समेतका होटलमा पर्यटन नहुने भएको छ ।’


मुस्ताङ प्रवेश गर्ने सवारीसाधनको अभिलेख राख्ने सीमावर्ती घाँसा प्रहरी चौकीको अभिलेख अनुसार आइतबार २ सय ५० मोटरसाइकल समेत गरेर ५ सय सवारीसाधनमा ३ हजार र सोमबार ९५ जना विदेशी पर्यटक समेत २ हजार आन्तरिक पर्यटक मुस्ताङ प्रवेश गरे । जाने र फर्कने सवारी उत्तिकै भएकोले भीड बढी भएको हो । राती १ बजेसम्म यातायात जाम परेकोले मुस्ताङ प्रवेश गर्ने सबै सवारीसाधनको अभिलेख व्यवस्थित हुन सकेन ।

प्रकाशित : कार्तिक ६, २०७५ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?