१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

संघ र प्रदेश सरकारबीच दूरी बढ्दै, प्रधानमन्त्री नै उदासीन

प्रदेशका समस्या समाधान गर्न गठित प्रदेश समन्वय परिषद् बैठक अझै अनिश्चित
राजेश मिश्र

काठमाडौं — राजनीतिकस्तरमा संवाद नहुँदा संघ र प्रदेश सरकारबीच दूरी बढ्दै गएको छ । प्रधानमन्त्री केपी ओली नै प्रदेशका समस्या र चुनौती समाधानमा उदासीन देखिएका छन् ।

संघ र प्रदेश सरकारबीच दूरी बढ्दै, प्रधानमन्त्री नै उदासीन

यसका लागि संविधानले प्रधानमन्त्रीको अध्यक्षतामा प्रदेश समन्वय परिषदको व्यवस्था गरे पनि अहिलेसम्म बैठकै बस्न सकेको छैन ।


भदौ २४ गतेलाई तय गरिएको परिषद् बैठक अन्तिम समयमा प्रधानमन्त्री ओलीले नै स्थगित गरिदिएका थिए । त्यसयता बैठक बस्ने कुनै तयारी छैन । प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोद कुँवरले परिषद् बैठक बस्ने टुंगो लागिनसकेको बताए । संविधानविद् विपिन अधिकारी संघ र प्रदेश सरकारबीच राजनीतिक संवाद नहुँदा समस्या व्यवस्थापनमा कठिनाइ देखिएको बताउँछन् । ‘संघीयताको प्रभावकारिताका लागि संघ सरकार नै पहिलो जिम्मेवार निकाय रहेकाले त्यसको नेतृत्व तहबाट सक्रियता आवश्यक छ,’ उनले भने ।

प्रदेशलाई आवश्यक भौतिक पूर्वाधार, सांगठनिक संरचना, कर्मचारी, कानुनजस्ता सबै विषयमा संघ उदासीन रहेको प्रदेश सरकारको गुनासो छ । प्रदेशको आवश्यकता पूर्तिका लागि संघले कुनै कार्ययोजना बनाएको छैन । उल्टै प्रदेश सरकारसँग छलफलबिनै एकतर्फी ढंगले कर्मचारीको सांगठनिक संरचना बनाएको छ ।

केन्द्रले बेवास्ता गरेको भन्दै प्रदेश सरकारहरू पनि आफूखुसी अघि बढ्न लागेका छन् । प्रदेश २ सरकारले प्रदेश प्रहरी ऐन ल्याउनु, करारमा कर्मचारी भर्नाका लागि विधेयक प्रदेशसभामा पेस गर्नुले त्यस्तै संकेत दिएको छ । संघीयताको प्रभावकारी कार्यान्वयनका लागि कुनै कार्ययोजना तयार नभएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । ‘समस्या दिनदिनै थपिँदै छन् तर प्रधानमन्त्रीबाट जुन रूपमा सक्रियता देखइनुपर्ने हो, त्यो नदेखिएको पक्कै हो,’ स्रोतले भन्यो ।


गत वर्ष चैत ७ गते सबै मुख्यमन्त्री, प्रमुख सचिव र मुख्य न्यायाधिवक्तासँग बैठक बसेयता प्रधानमन्त्रीले प्रदेशसँग संवाद गरेका छैनन् । उनले त्यस बैठकमा प्रदेश सरकारले भोगिरहेका समस्या पहिचान र समाधानका उपायबारे श्वेतपत्र नै जारी गरेर काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

संविधानविद् अधिकारी ७ मध्ये ६ प्रदेशका सरकार आफ्नै पार्टीका भएकाले प्रधानमन्त्रीलाई केही सहज भए पनि त्यो सहजता सधैं रहन नसक्ने बताउँछन् । ‘प्रदेशले सामना गर्ने वास्तविक समस्या क्रमश: बाहिर आउन थालेका छन् । यस्तोमा एक एक जना मुख्यमन्त्रीसँग अनौपचारिक भेटेर समाधान हुन सक्दैन,’ उनले भने, ‘प्रधानमन्त्रीले संविधानले दिएको संयन्त्र परिचालन गर्न ढिला गर्नु हुन्न । समस्या आएपछि मात्रै होइन, आउन नदिन पनि परिषद् बैठक नियमित बोलाइनुपर्छ ।’ त्यसका लागि प्रधानमन्त्रीकै अग्रसरता आवश्यक ठान्छन् उनी ।

अन्तरप्रदेश परिषद् मात्रै होइन, प्रधामन्त्रीकै अध्यक्षतामा बनाइएको उच्चस्तरीय संघीयता कार्यान्वयन तथा प्रशासन पुन: संरचना निर्देश समिति पनि निष्क्रिय छ । ओलीको अघिल्लो कार्यकालमै उक्त समिति बनाइएको थियो । अधिकांश मन्त्री र सचिव उक्त समितिका सदस्य छन् । प्रधानमन्त्री कार्यालयको वेबसाइटमा प्राथमिकतासाथ संघीयता कार्यान्वयन तथा प्रशासन पुन: संरचना विषयलाई हाइलाइट गरिए पनि त्यसको कार्यप्रगतिमा नयाँ कुरा केही उल्लेख छैन ।


मुख्य सचिव लोकदर्शन रेग्मी संघीयता कार्यान्वयनको विषय सरकारको प्राथमिकतामा रहेको दाबी गर्छन् । उनले संघीयता कार्यान्वयनका सवालमा देखा पर्ने समस्या र समाधानका सम्बन्धमा प्रधानमन्त्रीबाट दिनदिनै चासो व्यक्त भइरहेको बताए । परिषद् बैठकको मिति तय भइनसकेको तर त्यसबारे आवश्यक छलफल भइरहेको भन्दै उनले सरकार संघीयता कार्यान्वयनको गति बढाएर लैजाने तयारीमा रहेको उल्लेख गरे । ‘प्रदेश सरकारबाट आएका समस्या समाधानका सन्दर्भमा हरेक दिनजसो सम्बन्धित मन्त्रालयका सचिवसँग बैठक गरिरहेका हुन्छौं,’ उनले भने, ‘आवश्यक कानुन, सांगठनिक संरचना, जनशक्ति व्यवस्थापनका सन्दर्भमा आवश्यक निर्णय गरेर पठाउने, प्रदेशलाई पनि प्रोत्साहित गर्ने काम नियमित भइरहन्छ ।’

प्रकाशित : कार्तिक ६, २०७५ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?