नगरकोट आउने पर्यटकलाई दोहोरो शुल्क

कान्तिपुर संवाददाता

भक्तपुर — काभ्रे र भक्तपुरको सिमानामा पर्ने पर्यटकीय गन्तव्य नगरकोट आउने पर्यटकले दोहोरो शुल्क तिर्नुपर्ने भएको छ  । काभ्रेको मण्डन देउपुर र भक्तपुरको चाँगुनारायण नगरपालिकाले छुट्टा/छुट्टै प्रवेश सेवा शुल्क उठाउन थालेको हो  ।

नगरकोट आउने पर्यटकलाई दोहोरो शुल्क

न्यु दक्षिणकाली सप्लायर्सले साउन १ गतेबाट चाँगुनारायण नगरपालिका ६ तेलकोट र ८ कलमसीबाट पर्यटक प्रवेश सेवा शुल्क लिन थालेको छ । उक्त कम्पनीले चाँगुनारायण मन्दिर अवलोकनका लागि आउने पर्यटकसँग समेत शुल्क लिन पाउँछन् ।


मण्डन देउपुर नगरपालिका काभ्रेले गत असोज २९ बाट नगरकोट आउने पर्यटकसँग प्रवेश शुल्क लिन थालेको छ । मण्डन देउपुरको सूचनामा ०७५/७६ का लागि नगरपालिकाअन्तर्गत नगरकोट क्षेत्रभित्रका काभ्रेचोक, भ्यु टावर चोक र कात्तिके क्षेत्रमा आउने विदेशी पर्यटकहरूसँग प्रवेश शुल्क उठाउने गरी मञ्जरी निर्माण सेवालाई १ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

सार्क राष्ट्रबाहेकका विदेशी पर्यटकसँग ३ सय ३९ रुपैयाँ र सार्क राष्ट्रभित्रका पर्यटकसँग २ सय रुपैयाँ (करबाहेक) प्रतिपर्यटक प्रवेश सेवा शुल्क उठाउन थालेको नगरपालिकाले जनाएको छ । चाँगुनारायण नगरपालिकाले सार्क राष्ट्रका पर्यटकसँग २ सय र अन्य राष्ट्रका पर्यटकसँग ३ सय प्रवेश शुल्क लिँदै आएको छ ।


दुई नगरपालिकाले आपसमा समन्वय नै नगरी पर्यटन सेवा शुल्क निर्धारण गरी छुट्टा/छुट्टै शुल्क उठाउँदा बाह्य पर्यटकमा नकारात्मक असर परेको पर्यटन व्यवसायीहरू बताउँछन् । ‘एकै ठाउँ आउन दोहोरो शुल्क तिर्नुपर्दा पर्यटकमा नकारात्मक सन्देश गएको छ, पूर्वाधारविहीन क्षेत्रमा शुल्क लगाउनु गलत हो’, नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्रबहादुर लामाले भने, ‘नगरकोट आउने पर्यटकका लागि बसपार्कको व्यवस्था छैन, सार्वजनिक शौचालय छैन, सडकको अवस्था दयनीय छ ।’

नगरपालिकाले पर्यटन विकास तथा प्रवद्र्धनका लागि केही लगानी नगरी शुल्क उठाउन थालेको व्यवसायीको गुनासो छ । दुवै नगरपालिकाबीच समन्वय गरेर एकीकृत कर लगाएर नगरकोटको भौतिक विकासका लागि लगानी गर्नुपर्ने लामा बताउँछन् ।


मण्डन देउपुरले भने चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिले समन्वय नै नगरी नगरकोट आउने पर्यटक प्रवेश सेवा शुल्क निर्धारण गरेको भन्दै आलोचना गरेका छन् । ‘गत आर्थिक वर्ष ०७४/७५ मा चाँगुनारायण नगरपालिकाले कुनै समन्वय नै नगरी हतारमा टेन्डर गर्‍यो,’ मण्डन देउपुर नगरप्रमुख टोकबहादुर वाइबाले भने, ‘नगरकोटको विकासका लागि चाँगुनारायण नगरपालिकाले केही पहल गरेको छैन ।’

पर्यटकीय क्षेत्र नगरकोट दुई जिल्लाको सिमानामा पर्ने भए पनि ८० प्रतिशत भूभाग मण्डन देउपुर नगरपालिकामा पर्ने तर कर भने एउटाले मात्र लिएकाले बाध्य भएर चालु आर्थिक वर्षको पर्यटन सेवा शुल्क उठाएको उनले बताए ।


चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्रले दुई नगरपालिकाबीच समन्वय गरी समस्या समाधान गर्न पटक/पटक प्रयास गर्दा पनि सफल हुन नसकेको बताए । ‘चाँगुनारायणले उठाएकै शुल्क बाँडफाँट गरौं, पर्यटकलाई दोहोरो शुल्कमा नपारौं भन्दा मण्डन देउपुरले टेरेन,’ उनले भने ।

प्रकाशित : कार्तिक ७, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?