२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

व्यस्त राजमार्गमा घोडचढीको ‘टकटक’

जीविकोपार्जनको साधन कहिलेकाहीँ सेल्फीको पात्र पनि बन्छ
वेदराज पौडेल

सुनसरी — चाडबाडका बेला धरान–विराटनगर सडकमा सवारीको घुइँचो छ । चाड मान्न राजधानीबाट घर फर्केकाको पनि सवारी थपिएपछि घरीघरी सडक जाम हुन्छ । गन्तव्य पुग्न हतारिरहेकालाई जाममा फस्नुपर्दाको हैरानी खपिसक्नु छैन ।

व्यस्त राजमार्गमा घोडचढीको ‘टकटक’

तर ३५ वर्षदेखि सडकको व्यस्तता र जामसँग बेफिक्री छन् ६५ वर्षीय अब्दुल करिम । उनी कालोपत्रे सडकको किनारमा मझौला खाले टट्टु घोडामा सफर गर्छन् । उनी दैनिक २० किलोमिटरसम्म घोडाबाटै यात्रा गर्छन् ।


यो उनको शोख होइन । पेट पाल्नका लागि गरेको संघर्ष हो । सडक किनारामा उनले कुदाएको घोडा देखेर धेरैले अचम्म मान्छन् । आजकल तराईमा घोडाको सवारी न्यून छ । त्यसैले उनलाई धेरैले अचम्म मानेर हेरेका हुन् । कहिलेकाहीँ उनी सेल्फीको पात्र पनि बन्छन् ।


मझौला खाले घोडा भारतको फारबिसगन्जबाट १५ हजारदेखि २५ हजार रुपैयाँसम्ममा किनेर उनी ल्याउँछन् । त्यही घोडालाई सवारी बनाउँछन् । अन्य इन्जिनबाट चल्ने सवारीभन्दा धेरै सस्तो भएका कारण उनी र घोडाबीचको सम्बन्धले तीन दशक नाघेको हो ।


उनी भन्छन्, ‘घोडालाई पेट्रोल डिजेल हाल्नु पर्दैन, अनि बेलाबेलामा मर्मत पनि गर्नु पर्दैन । भुस दिनोस् चरनमा छाडिदिनोस् बस् ।’ त्यसैले यो सवारी अन्यभन्दा सस्तो भएको तर्क उनको छ । तेलको हाहाकार होस् वा चक्काजाम अथवा आमहडताल अब्दुलको यात्रा कहिल्यै रोकिन्न ।


सवारी नपुगेका पहाडी गाउँमा अहिले पनि ढुवानी र सवारीका लागि घोडा अनिवार्य साधन हुन् । तर तराईका राजमार्गमा घोडा चढ्ने मानिस सितिमिति भेटिँदैनन् । दैनिकको सडक यात्रामा मानिसहरू उनलाई अचम्म मानेर हेर्छन् । उनी भन्छन्, ‘कतिले फोटो खिच्छन् त कतिले एकपटक चढाइदिन आग्रह गर्छन् ।’


राजमार्गमा ३५ वर्षदेखि अन्य कुनै सवारीको साटो घोडामा यात्रा गर्नुको कारणबारे जिज्ञासा राख्दा उनले भने, ‘मलाई पोलियो भएको कारण मेरो दाहिने खुट्टा चल्दैन ।’ लुलो र सुकेको खुट्टाको कारण उनले घरमा मात्रै बस्नुपर्ने बाध्यता थियो । तर पारिवारिक कमजोर आर्थिक अवस्थाका कारण उनले आफूलाई घरमै सीमित राखेनन् ।

उनले एउटा घोडा किने र त्यसमा गाउँगाउँ पुगेर खसीबाख्रा खरिद गरेर घोडामा नै चढाएर ल्याई दुहवीमा बिक्री गर्न थाले । उनको घोडचढीको यात्रा यहींबाट सुरु भयो । दैनिक रूपमा ५ सयदेखि हजार रुपैयाँसम्म नाफा हुन थालेपछि उनको परिवारको आर्थिक बोझ कम हुँदै गयो । हिजोसम्म केही गर्न सक्दैन भन्नेका अघि आत्मबल बढेर आयो । उनले जोहार खातुनसँग विवाह गरे ।


मोरङको बूढीगंगा गाउँपालिका ४ को बूढीखोला किनारको ऐलानी जमिनमा घर भए पनि उनले कमाएर ४ कठ्ठा नम्बरी जमिन दुहवीमा किने । एक दिन श्रीमती बिरामी परिन् । आफूसँग भएको र सरसापटले पनि उनको रोग ठीक भएन । उपचार गर्ने अन्य उपाय थिएन उनीसँग । उनले त्यही जमिन बिक्री गरे । श्रीमतीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गराए । ८ लाख सकियो । श्रीमतीलाई घर ल्याए । तर पनि बिमार निको भएन । तीन वर्षअघि उनले सदाका लागि छाडेर गइन् ।


श्रीमती बितेपछिको एक्लोपन मेटाउन उनी कहिले नातिनातिनासँग हाँसखेल गर्छन् भने अरूबेला दिनभरि घोडामा गाउँघरतिर खसीबाख्रा किन्न निस्कन्छन् । राज्यले दिने अपांगता भत्ताले पनि उनलाई निकै भरथेग गरेको छ । अहिलेको पट्टु घोडा उनले १५ हजारमा किनेका हुन् । यसअघि रातो अलि बलियो घोडा थियो । त्यो घोडालाई सवारीले ठक्कर दिएर मर्‍यो । ठक्कर दिने गाडी पक्राउ नपर्दा उनले क्षतिपूर्तिसमेत पाएनन् ।


घोडालाई बेलुका चरनमा छाडिदिन्छन् । केही भुस खान दिन्छन् । आर्थिक अवस्था कमजोर भएका कारण घोडालाई भनेजस्तो दाना दिन नसकेको उनले सुनाए । तर भोकै कहिल्यै नराखेको बताउँदै उनले भने, ‘मेरो जीवन चलाउने यही घोडा हो ।’

प्रकाशित : कार्तिक ७, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?