२५ वर्षपछि आफ्नै घरमा दसैं

प्रकाश बराल

बागलुङ — अढाई दशकअघि राजमार्ग निर्माण गर्दा विस्थापित राजु माझीले यसपटक आफ्नै घरमा दसैं मनाए  । सार्वजनिक जमिनको छाप्रोमा बस्दा सधैं सुकुम्बासीको नामले चिनिएका बेला परिचय फेरिएकोमा उनले खुसी लागेको बताए  ।

२५ वर्षपछि आफ्नै घरमा दसैं

पोखरा–बागलुङ राजमार्गको ट्रयाक खुल्दा यहाँस्थित गणेश घुम्तीका १४ घर माझी विस्थापित थिए । उनीहरूलाई सरकारी तहबाटै घर बनाइदिने आश्वासन पूरा नभएपछि सुकुम्बासीझैं जीवन बिताएका थिए ।


२०४९ मा राजमार्गको ट्रयाक खुल्दा उनीहरूको बस्तीबाट सडक पसेपछि सबै विस्थापित भएर बाङगेचौरमा छाप्रो बनाएर बसेका थिए । फुटबललगायत मैदान निर्माणका क्रममा उनीहरूको बस्तीमा असर परेको थियो । बागलुङ नगरपालिकाले दशक अघिदेखि बस्ती बनाएर स्थानान्तरण गर्ने योजना बनाए पनि सफल भएको थिएन । २ वर्ष अघिदेखि ठेक्कामा दिएको योजना पूरा भएर यो वर्षको दसैंमा भने उनीहरूलाई नयाँ घरमा सारिएको नगरप्रमुख जनकराज पौडेलले बताए ।


माझीहरूकै जमिन रहेको स्थानमा केही जग्गा किनेर नगरपालिकाले सामूहिक घर निर्माण गरिदिएको हो । ३ कोठे १४ वटा घर बनाएर नगरपालिकाले दसैंकै दिन उनीहरूलाई हस्तान्तरण गरिदिएको हो । ‘सानो/ठूलो जस्तो भए पनि आफ्नै घर छ भन्न पाइयो,’ सोमबहादुर माझीले भने, ‘अब घर नभएर चौरमा बसेका हौं भन्न नपर्ने भयो ।’ चौरमा सरेपछि जन्मेकाहरू पनि २५ वर्ष पुगेका छन् । युवाले आफ्नो घर राजमार्गले पुरिएको हो भन्नेसमेत बिर्सेका थिए, यो वर्ष आफ्नै घरमा बसालेर दसैं मनाउन पाएको उनले बताए ।


नगर विकास कोष र बागलुङ नगरपालिकाको लगानीसमेत गरी झन्डै डेढ करोडमा १४ घर निर्माण भएका हुन् । नगरपालिकाले निर्माणका लागि मुक्तिनाथ बीएन्ड त्रिशक्ति संयुक्त निर्माण सेवालाई ठेक्का दिएको थियो । अघिल्लो वर्षको दसैंमा निर्माण गरी हस्तान्तरण गर्ने सम्झौता गरेको कम्पनीले ढिला गरी वर्षदिनपछि हस्तान्तरण गरेको हो । नगर विकास कोषको ८० प्रतिशत अनुदान १० प्रतिशत ऋण र स्थानीय सहभागिताको १० प्रतिशतमा घर बनेको इन्जिनियर दीपेन्द्र भण्डारीले बताए । बनेका भवनमा हरेक घरका लागि शौचालय, खानेपानीलगायत सुविधा पनि दिइएको छ ।


सुरु डिजाइनमा शौचालय र खानेपानीको व्यवस्थापन नगरिएकाले १ वर्ष ढिला भएको ठेकेदार नारायण जीसीले बताए । केही समय भने ठेकेदारले गुणस्तरहीन सामग्री प्रयोग गरेकाले उपभोक्ताको विरोधपछि निर्माण रोकिएको थियो । ‘कमजोरी सच्याएर गुणस्तरयुक्त घर हस्तान्तरणमा ढिलाइ भएको हो,’ पौडेलले भने, ‘अब विस्थापितको समस्या समाधान भएको छ ।’


सुकुम्बासीका रूपमा बागलुङ नगरपालिकाकै वडा १२ मा पनि केही माझी बस्ती व्यवस्थापन गर्न बाँकी रहेको उनले बताए । बस्ती व्यवस्थापनका लागि नगरपालिकाले १ रोपनी र स्थानीय कर्णबहादुर बोहरा, दिव्यधर आचार्य, कृष्णबहादुर केसी, शम्भु आचार्य र कौशिला आचार्यले १४ रोपनी जमिन नि:शुल्क उपलब्ध गराएका थिए ।


प्रकाशित : कार्तिक ७, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?