१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सडकले जोडियो दुनै

कृष्णप्रसाद गौतम

सुर्खेत — दशकअघि निर्माण सुरु गरिएको जाजरकोट–डोल्पा खण्डको ट्रयाक खुलेसँगै विकट हिमाली जिल्ला डोल्पा सदरमुकाम दुनै मुलुकको सडक सञ्जालसँग जोडिएको छ  । तर भेरी नदी र अन्य खोलामा पुल बन्न बाँकी छन्  ।

सडकले जोडियो दुनै

१ सय १८ किमि लामो सडकमा पुल नभएकै कारण तीन खण्डमा गरेर गाडी चल्न थालेका छन् ।

यो सडकलाई भेरी करिडोरमा समेटेर भारत र चीनसँग जोड्ने सरकारको योजना छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको मारिम्ला नाकाबाट तिन्जे, धो, लसीक्याप हुँदै डोल्पा सदरमुकाम दुनै जोड्ने र दुनैबाट त्रिपुराकोट, खदाङ, त्रिवेणी, जाजरकोट, छिन्चु हुँदै नेपालगन्जबाट भारतको रुपैडिहा जोड्ने सरकारी योजना छ ।

ट्रयाक खुलेपछि जाजरकोटको पासाङगाडदेखि रिम्ना हुँदै खदाङसम्मको ८७ किमि र खदाङदेखि सुपानीसम्मको १७ किमिमा नियमित गाडी चलाइएको छ भने सुपानीदेखि दुनैसम्मको १४ किमि दूरीमा जिप सञ्चालनमा छ । करिब पाँच दर्जन गाडी नियमित चल्न थालेका छन् ।

‘डोल्पावासीका लागि सडक ठूलो सपना हो, सदरमुकामसम्म ट्रयाक खुल्यो,’ मुडेचुला गाउँपालिका १ का लंकबहादुर रोकायाले भने, ‘यसले डोल्पालाई समृद्ध बनाउन सहयोग पुग्ने ठानेका छौं ।’

साविक जिल्ला विकास समितिले ड्रिलिप परियोजनामार्फत सडक बनाई हेलिकप्टरमा जिप ल्याएर दुनै–सुपानी खण्डमा सञ्चालन गरेको थियो । खदाङदेखि त्रिपुराकोट खण्डमा ट्रयाक्टर चल्छन् । उक्त सडकमा नियमित जिप सञ्चालनका लागि गाडी तार्ने तुइन निर्माण जारी छ ।

दुई साताभित्रै तुइन बनाइसकेर नियमित यातायात चलाउने तयारी रहेको सेनाको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलले जनाएको छ । कार्यदलका अनुसार सबै खण्डमा नियमित यातायात सुचारु भएपछि सडक विभागलाई हस्तान्तरण गरिनेछ । हस्तान्तरणपछि मात्रै पुल निर्माण र कालोपत्रेको काम अघि बढाउने विभागले जनाएको छ ।

ट्रयाक जोडिएसँगै केही दिनअघि भौतिक पूर्वाधार, रक्षा र अर्थ मन्त्रालय, महालेखा परीक्षकको कार्यालय तथा सेनाका उच्च अधिकारीसहितको टोलीले अनुगमन गरेको थियो । डोल्पा–रुकुम सिमानाको त्रिवेणीसम्म २०७३ सालमै विभागलाई हस्तान्तरण गरिसकिएको छ ।

त्रिवेणीदेखि खदाङसम्मको १० किमि खण्डमा २०७४ फागुनदेखि यातायात सञ्चालनमा छ । अहिले पुल भएका ठाउँमा निर्बाध रूपमा र नभएका ठाउँमा वारिपारि गरेर गाडी चल्ने गरेका छन् ।

‘खदाङदेखि त्रिपुराकोटसम्मको पाँच सय मिटर भीर छिचोल्न सफल भएपछि दुनैसम्म ट्रयाक खोल्ने काम पूरा भएको छ, वर्षौंदेखिको डोल्पालीको सपना साकार बनेको छ,’ कार्यदल प्रमुख विश्वबन्धु पहाडीले भने । उनका अनुसार भेरी नदीको रिम्ना र चिसापानीमा पुल निर्माण भइसकेको छ । भेरीकै तीन ठाउँ र अन्य खोलामा १० वटा पुल बनाउन बाँकी छन् ।

२०६४ सालमा छिन्चु–जाजरकोट सडक निर्माण भएसँगै डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न ट्रयाक खोल्ने जिम्मा सेनालाई दिइएको थियो । रेखांकन विवादका कारण दुई वर्ष रोकिएको काम २०६७ सालदेखि सुचारु भएको थियो ।

जाजरकोट–डोल्पा सडकको साढे ४७ किमि जाजरकोटमा, साढे ३० किमि रुकुममा र साढे ४० किमि डोल्पामा पर्छ । यसअघि सेनाले ४१ किमिको देवस्थल–कैनकाँडा–चौरजहारी र १ सय ७ किमिको छिन्चु–जाजरकोट सडक बनाएको थियो ।

‘भेरी नदीको किनारैकिनार अत्यन्तै कडा चट्टानका भीरमा काम गर्नुपर्दा धेरै कठिन भयो,’ प्रमुख सेनानी पहाडीले भने, ‘तर सुरुदेखि नै नागरिकसँग सहकार्य रहेकाले धेरै कुरामा सहज पनि भयो ।’ कार्यदलका अनुसार जाजरकोट खण्डको तल्लु, रातोपहरा, रग्दाभगवती, रुकुमको ढाडछाला, मन्का तथा डोल्पामा पर्ने करवाड, खदाङ, सिरबिन्डे, सिउरेनी, तपतपे, धाउन्ने, बतासेलगायत भीर फोड्न निकै गाह्रो परेको थियो । कार्यदलका अनुसार सडक बनाउन करिब १० किलोमिटर कडा चट्टानका भीर छिचोल्नुपरेको थियो ।

प्रकाशित : कार्तिक ८, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?