१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सिंगो गाउँको एक्लो घर

वडा कार्यालय पुग्नै ४ घण्टा हिँड्नुपर्छ
कुम्भराज राई

कटारी, उदयपुर — कटारी नगरपालिका १ हात्तीटारका कृष्णबहादुर सुनुवारका पुर्खा यही गाउँमा बस्दै आएका हुन्  । उनलाई आफ्नो परिवार कति पुस्तादेखि यहाँ बसेको हो भन्ने थाहा छैन  ।

सिंगो गाउँको एक्लो घर

गत वर्षको चुनावमा उनले भोट पनि दिए । सांसद त कुरै छाडौं, वडाध्यक्ष पनि चिनेका छैनन् उनले ।

‘हामी पुर्खादेखि यहीँ बसेका हौं । कहिलेदेखि यहाँ बसेका हौं थाहा छैन । तर पनि विकासका लागि कोही नेता आएको याद छैन,’ सुनुवारले भने, ‘भोट लगाएपछि आ–आफ्नो ताप्के तताएर नेता हिँड्छन् जनता जस्ताको तस्तै ।’ हात्तीटारमात्रै होइनन् । एक्लेसल्ला, बाख्रीचरनलगायत गाउँ नगरपालिकाभित्रै गुमनाम छन् ।

चुरे जंगलको मध्यभागमा रहेका यी गाउँमा कुल ३० परिवार बसोबास गर्छन् । एक्लेसल्लामा २५, हात्तीटारमा ४ र बाख्रीचरनमा १ घर छन् । नगरपालिकाको केन्द्र कटारी आइपुग्न पैदल ४ घण्टा चुरे जंगल छिचोल्नुपर्छ । वडा कार्यालय बेलसोत पुग्न पनि ४ घण्टा हिँड्नुपर्छ ।

स्वास्थ्य संस्था नजिकै छैनन् । शिशुलाई खोप लगाउन उनीहरू सिरहाको गोलबजार, चोहर्वा, लहान पुग्ने गर्छन् । त्यहाँ पुग्न पनि गाह्रो छ । घुर्मी खोला हुँदै एक घण्टा पैदल हिँडेर घुर्मी पुगेपछि अटोरिक्सा चढेर तीन घण्टापछि गोलबजार, चोहर्वा वा लहान पुगिन्छ ।

‘वर्षाभरि घुर्मी खोलामा बाढी आउँदा कोही बिरामी भइहाले स्वास्थ्य संस्था लग्न सम्भव छैन,’ हात्तीटारकी चन्द्रमाया मगरले भनिन्, ‘सरकारले स्थानान्तरण गरे त अन्तै जान्थ्यौं । हाम्रो जुनी दु:खमै जाने भयो ।’

यहाँका बासिन्दाले चुनावमा मतदान गर्ने, जग्गाको राजस्व बुझाउने, घटनादर्ता र नागरिकता लिनेबाहेक अरू कामका लागि सरकारी अड्डा गएका छैनन् । सडक र बिजुली उनीहरूको मुख्य माग हो । ‘वर्षौंदेखि सडक र बिजुलीको माग गरे पनि कसैले सुनिदिएनन् ।’ स्थानीय गुञ्जबहादुर सुनुवारले भने, ‘हाम्रो समस्या कसले सुन्ने ? जाउँ जाने ठाउँ छैन । बसौं बस्नै गाह्रो छ ।’

घरमै प्रसूति
गत भदौमा आफ्नो नौ महिने शिशुलाई खोप लगाउन एक्लेसल्लाबाट हिँडेकी छविमाया सुनुवार हात्तीटार पुगेर फर्किइन् । खसीबास हिँडेकी उनी जंगलको बाटो एक घण्टा हिँडेपछि चर्को घामले नसकेर फर्कनु पर्‍यो ।

३५ वर्षमा सात सन्तानकी आमा बनेकी उनले पछि सिरहातिर लगेर खोप लगाउने भन्दै फर्केको सुनाइन् । सातै सन्तान घरमा जन्माएको उनी बताउँछिन् । ‘स्वास्थ्य संस्थामा बच्चा जन्माउन जाऊँ भने ४ घण्टा टाढा छ,’ उनले भनिन्, ‘जंगलको बाटो कसले बोकेर लैजान्छ र ?’

बाख्रीचरनकी निर्मला मगर २० वर्षमै २ सन्तानकी आमा बनिन् । कति बच्चा जन्माउने भन्ने योजना उनीसँग छैन । यस भेगका कुनै पनि आमाले स्वास्थ्य संस्थामा पुगेर प्रसूति गराएका छैनन् ।

एक घरको गाउँ
बाख्रीचरनमा एकमात्र घर छ । त्यस घरका धनी लीलबहादुर मगरको छिमेकी कोही छैनन् । उनको एक छोरा, बुहारी र नातिनातिना छन् । ११ वर्षदेखि उनी एक्लो बनेका हुन् । पहिले यहाँ अरू दुई घर थिए । उनीहरू बसाइँ सरेपछि लीलबहादुर एक्लो गाउँले भएका हुन् ।

१५ कट्ठा ऐलानी जग्गामा खेतीपाती लगाउने गरेको उनले सुनाए । अरूभन्दा पनि मर्दापर्दा छिमेकीको आवश्यकता खड्किँदो रहेछ । ‘छिमेकीलाई बोलाउनुपर्छ,’ उनले भने, ‘छिमेकी गाउँ पुग्न १ घण्टाभन्दा बढी लाग्छ ।’ बजार अभाव भएकै कारण घरमा उत्पादित दुग्धजन्य पदार्थ र पशुपक्षी बिक्री गर्न गाह्रो भएको उनले सुनाए ।

विद्यालयको बिजोग
एक्लेसल्ला गाउँमा जनता आधारभूत विद्यालय छ । ०६४ सालमा खोलिएको उक्त विद्यालयको २ कोठे भूकम्प प्रतिरोधी भवन डीएफआईडी भन्ने संस्थाले बनाइदिएको हो । २ कोठामध्ये एउटामा कार्यालय र अर्कोमा कक्षा छ । त्यही कोठामा ५ वटै कक्षाका विद्यार्थी पढ्छन् ।

बहुकक्षा विधिबाट सञ्चालन गर्ने गरेको निजी स्रोतका शिक्षक अमित थापा मगरले सुनाए । एउटै कोठामा ५ वटा कक्षा सञ्चालन गरिए पनि विद्यार्थीले कोठा भरिएको शिक्षकलाई थाहा छैन । एक्लेसल्ला, हात्तीटार, गागन र मागनका गरी ३४ घरका विद्यार्थी लक्षित यस विद्यालयमा हिउँदमा बढीमा १० जना आउँछन् । ‘विद्यालय टिकाउन विद्यार्थीको तथ्यांक बढी देखाउने गरेका छौं,’ शिक्षक मगरले भने, ‘नियमित २० जना विद्यार्थी आउन पनि गाह्रो छ ।’

वडाध्यक्ष चिन्दैनन्
वडावासीले आफूले मत दिएर जिताएको वडाध्यक्ष चिनेका छैनन् । गाउँमा आएका कार्यकर्ताको भरमा भोट दिएकाले उनीहरूलाई वडाध्यक्षको नामसमेत थाहा छैन । अध्यक्षको नाम सोध्दा धेरैले विद्यालय व्यवस्थापन समिति अध्यक्ष खम्बसिंह मगरको नाम लिने गर्छन् । कतिले वडा सदस्यको नाम लिन्छन् ।

वडाको अध्यक्ष नवराज पोखरेल हालसम्म गाउँ नआएकाले चिन्न नसकेको कृष्णबहादुर सुनुवारले बताए । आफ्नै गाउँ छोडेर जानु न बस्नु भएका छन् यहाँका बासिन्दा । कि त सेवा सुविधा पुर्‍याइदेऊ होइन भने उपयुक्त ठाउँ खोजेर स्थानान्तरण गरिदिन उनीहरूको माग छ ।

प्रकाशित : कार्तिक ८, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?