कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सयपत्रीले ढकमक्क

तिहार ढिलो भएकाले फूल जोगाउन हम्मे
रमेशचन्द्र अधिकारी

धनकुटा — तिहारको समयमा पूर्वका अधिकांश ठूला सहरलाई धान्ने सयपत्री फूल उत्पादन गर्दै आएका धनकुटाका कृषकले यसपालि पनि लाखौं मूल्यको फूल बिक्रीका लागि तयारी गर्दै छन्  ।

सयपत्रीले ढकमक्क

विगतमा विभिन्न प्रकारका अन्नबालीमा संलग्न धनकुटा नगरपालिका ३ का अधिकांश कृषक पछिल्लो केही वर्षदेखि वैकल्पिक खेतीका रूपमा सयपत्री उत्पादन गर्दै आएको संलग्न कृषक बताउँछन् ।

स्थानीय लाँकुरे, चिउरेबोटे, सेउले, सिप्तिङ लगायतका कृषकले सयपत्री बिक्रीबाट मनग्गे आम्दानी हात पार्दै आएका छन् । ती गाउँबाट यस वर्ष कम्तीमा ५० लाखको फूल बिक्री हुने अनुमान रहेको स्थानीय जितेन्द्र राईको भनाइ छ ।

राईले मात्रै २० रोपनी क्षेत्रफलमा सयपत्री फुलाएका छन् । विगतमा यो मौसममा रोपिने कोदो खेती छोडेर उनले सयपत्रीमा आकर्षित भएको बताए । पाँच वर्षदेखि सयपत्री खेती गर्दै आएका उनी यस वर्ष कम्तीमा २ लाखभन्दा बढी आम्दानी गर्ने बताउँछन् ।

पाखो बारीमा रोपिने सयपत्रीलाई अन्य बाली जस्तै मेहनत गर्न नपर्ने भएपछि यसतर्फ आकर्षित भएको उनको भनाइ छ । सयपत्रीको आकर्षण देखेरै उनले स्थानीय जातको भन्दा बाह्य मुलुकबाट बीउ झिकाएर उन्नत जातको सयपत्री खेती गरेका छन् ।

‘सयपत्री खेतीबाट आम्दानी राम्रैसँग गर्न सकिने भएकाले यसैमा लागेको छुु,’ उनले भने, ‘खर्च कटाएर २ लाख आम्दानी हुने आशा छ ।’ उनले १७ हजार रुपैयाँको बीउ छरेर २० रोपनी जग्गामा खेती गरेका छन् ।

सेउले, लाकुरे, चिउरीबोटे तथा सिप्तिङ लगायत आसपासका ३० कृषकले व्यावसायिक सयपत्री फूलको खेती गर्दै बिक्रीबाट मनग्गे आम्दानी हात पार्दै आएका छन् ।

सेउले कृषक समूहले त समूहगत रूपमा नै १२ रोपनी जग्गामा सयपत्री फूलको खेती गरेको छ । यसैगरी स्थानीय शैलजा घिमिरेले २ रोपनी, महेन्द्र घिमिरे ३ रोपनी, रामकुमार राई, दिनेश घिमिरे लगायतले पनि सयपत्रीलाई व्यावसायिक खेती गर्दै आएका छन् ।

सयपत्री बिक्री गर्न बोकेर बजार धाउनु नपर्ने भएपछि कृषकलाई सहज भएको छ । कृषकको बारीमा नै व्यापारीले अग्रिम बुकिङ गर्दै रकम उपलब्ध गराउने संलग्न कृषकले बताए ।

धनकुटा, धरान, इटहरी, धरान, सप्तरी, सिरहा लगायतका बजारमा यहाँ उत्पादित सयपत्री पुग्ने गरेको छ । यस खेतीबाट स्थानीय कृषकले न्यूनतम ५० हजारदेखि २ लाखसम्म आम्दानी गरिरहेका छन् ।

तर तिहारमा अत्यधिक माग रहने सयपत्री फूलको व्यावशायिक उत्पादन गर्दै आएका कृषक यतिबेला बोटैमा सुक्न लागेको फूल जोगाउने चिन्तामा छन् । तिहार पर्व ढिलो भएकाले बोटैमा फूल सुक्ला भन्ने पिरलो भएको कृषक राईले बताए ।

प्रकाशित : कार्तिक ८, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?