कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेकपामा जिम्मेवारी बाँडिदै

दुर्गा खनाल

काठमाडौँ — पार्टी एकिकरण भएको चार महिनापछि नेकपाले बल्ल नेताहरुको कार्यविभाजन तयारी गरेको छ । पार्टी एकतापछि  झण्डै साढे ४ सय केन्द्रीय सदस्य छन् । उनीहरुलाई पार्टी कामको जिम्मेवारी दिइएको छैन । पार्टीको काम नहुदाँ केन्द्रीय नेताहरु खाली छन् । पार्टी सचिवालयको बिहीबारको बैठकले कार्यविभाजनको प्रस्ताव तयार गर्ने कार्यदल बनाएको छ । 

नेकपामा जिम्मेवारी बाँडिदै

महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापालाई जिम्मेवारी दिइएको छ । एकता पछि पार्टी सचिवालयले दैनिक काम गरिरहेको छ । त्यसबाहेक स्थायी समिति र केन्द्रीय समितिमा रहेका नेताहरुको पदीय जिम्मेवारी दिइएको छैन । कुनै पनि नेतालाई जिम्मेवारी नदिँदा नेकपाको संगठनात्मक कामहरु अलपत्र छन् । आउँदो स्थायी समिति बैठकमा पेश गर्नेगरी प्रस्ताव तयार पारित महासचिव विष्णु पौडेलले जानकारी दिए ।


स्थायी समितिको बैठक १२ र १३ गते बोलाइएको छ । अहिले तत्कालीन एमाले र माओवादी केन्द्रकामा रहेका नेताहरुले विगतमा जे जिम्मेवारी थियो, त्यही जिम्मेवारी अन्तर्गतका कामको अनौपचारिक रुपमा समन्वय मात्र गरिरहेका छन् । एकिकृत भएपछि पूर्ण जिम्मेवारी नहुँदा कुन कामको आधिकारिक जिम्मेवार को हो भन्ने अन्योल थियो । अब बस्ने स्थायी समिति बैठकबाट कार्य विभाजनको टुंगो लागे तदर्थमा चलिरहेको नेकपाको संगठनात्मक काम सुचारु हुनसक्छ ।


त्यस्तै बिहीबारको सचिवालयले प्रदेश समितिका सदस्यहरुको छनौटको मापदण्ड सम्बन्धि प्रस्ताव तयार गर्ने जिम्मेवारी पनि महासचिव पौडेल र सचिवालय सदस्य थापालाई नै दिएको छ । ‘प्रदेश सदस्यका लागि सिफारिस भएका व्यक्तिहरुको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने भएको छ,’ महासचिव पौडेलले भने ।


सचिवालयका सदस्य र प्रदेशका पदाधिकारीसँगको छलफलबाट चयनको मापदण्ड निर्धारण गरिने महासचिव पौडेलले जानकारी दिए । यसअघि नै प्रदेश समिति गठनका लागि प्रदेशस्तरीय कार्यदल बनेका थिए ।


ती कार्यादलले सिफारिस गरेका नामहरुलाई निश्चित मापदण्ड तय गर्नुपर्ने आवाज उठेपछि सचिवालयले मापदण्ड तयार गर्न लागेको हो । यसअघि प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको विषयमा वरिष्ठ नेता माधव नेपालले आपत्ति जनाएका थिए ।


उनले विधि, प्रक्रिया र मापदण्ड तय नगरी आफू खुसी निर्णय भएको भन्दै पार्टीमा असहमति पत्र समेत बुझाएका थिए । नेता नेपालको उक्त असहमतिलाई दुई दिन अघि बसेको सचिवालय बैठकमा छलफल भएको थियो । त्यसले अब सदस्यहरु लगायत चयन गर्दा मापदण्ड बनाउने सहमति भएको थियो । त्यही सहमति अनुसार बिहीबार पौडेल र थापालाई सदस्य चयनको मापदण्ड बनाउने जिम्मेवारी दिइएको हो ।


नेकपा भित्र वरिष्ठ, सक्रियता, कार्यक्षमता लगायतलाई आधार मानेर पार्टीको जिम्मेवारी दिनुपर्ने माग भइरहेको छ । नेताहरुले निश्चित सम्बन्धको आधारमा जथाभावी निर्णय र सिफारिस गर्न थालेछि तल्लो तहबाटै विरोध भएको थियो । त्यही विरोधका कारण हालसम्म तल्लो तहको एकीकरण सक्न नेकपालाई सकस परिरहेको छ ।


अब प्रदेशको मापदण्ड बनेर प्रदेश समितिले पूर्णता पाएपछि जिल्ला तहको एकीकरण टुंग्याउन पनि सहज हुने नेताहरुले बताएका छन् । हाल प्रदेशका पदाधिकारीहरुलाई जिल्ला तहको एकीकरण भइरहेको अल्झन पनि हटाउने जिम्मेवारी दिइएको छ ।


दाहाल दिल्ली जाँदै

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भारतमा हुने एक थिंक ट्यांकको कार्यक्रममा भाग लिन शुक्रबार भारतको राजधानी नयाँ दिल्ली जाने भएका छन् । इन्डिया फाउण्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ’मा भाग लिन दाहाल जान लागेका हुन् ।


उक्त कार्यक्रमका लागि दाहाललाई निम्ता आएको र पार्टीकै प्रतिनिधित्व गर्दै अध्यक्ष दाहालले भाग लिन लागेको महासचिव पौडेलले जानकारी दिए । दाहालले त्यहा राजनीतिमाथि प्रचवन दिने र शुक्रबारै स्वदेश फर्किने जनाइएको छ ।


यचुरी राजधानीमा

भातीय कम्यूनिष्ट पार्टी (मार्क्सवादी) महासचिव सिताराम यचुरी पुष्पलाल प्रतिष्ठानको कार्यक्रममा भाग लिन बिहीबार राजधानी आइपुगेका छन् । शुक्रबार हुने प्रतिष्ठानको कार्यक्रममा यचुरीले कम्यूनिष्ट आन्दोलनबारे बोल्ने कार्यक्रम छ । यचुरी नेकपाको शनिबार हुने चियापान कार्यक्रममा पनि सहभागी हुनेछन् ।


प्रकाशित : कार्तिक ८, २०७५ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?