१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

निर्मला बलात्कार/हत्या प्रकरणः विष्ट र भट्ट बर्खास्त

जनकराज सापकाेटा

काठमाडौँ — गृह मन्त्रालयले निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा चरम लापरबाही गरेको ठहरसहित एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई बर्खास्त गरेको छ । गृहसचिव प्रेमकुमार राईको नेतृत्वमा बिहीबार मन्त्रालयमा बसेको बैठकले उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी बर्खास्त गर्ने निर्णय गरेको हो । 

निर्मला बलात्कार/हत्या प्रकरणः विष्ट र भट्ट बर्खास्त

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले असोज २९ गते विष्टलाई सेवाबाट हटाउन मन्त्रालयमा पत्राचार गरेका थिए । खनालले पत्रमा घटनाको अनुसन्धानमा संलग्न प्रहरीबाट चरम लापरबाही भएको, गैरव्यावसायिक र गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको, सामान्य कानुनी व्यवस्थासमेत पालना नगरेका लगायत कारण प्रहरी नियमावली २०७१ बमोजिम कारबाही गर्न सिफारिस गरेका थिए ।


बर्खास्तीपछि गृहले जारी गरेको प्रेस विज्ञप्तिमा दुवैमाथि कारबाही गर्नुपर्नाको कारण खुलाइएको छ । तत्काल प्रहरीबाट अनिवार्य रूपमा गर्नुपर्ने खोजतलास तथा अनुसन्धानमा चरम लापरबाही गरिएको, बलात्कार र हत्या घटनासँग सम्बन्धित प्रमाण लाग्ने वस्तु र भित्री वस्त्र पानीमा चोपलेको, गुप्तांग र तिघ्रा पखालेको तथा सुरक्षित राख्नुपर्ने वस्त्र लोप पारिएको लगायत गम्भीर त्रुटि भएको निष्कर्ष गृहले निकालेको छ ।


घटनालगत्तै नेपालमै नरहेका मृतकका बाबुको दस्तखत गराएको, शव सनाखत गर्न पीडितको परिवारलाई अनावश्यक प्रभाव, दबाब र धम्की दिएको, प्रहरीको व्यवहार र कार्यशैलीबाट पीडित परिवारका सदस्य प्रहरीको कामकारबाहीप्रति विश्वस्त हुन नसकेको जस्ता गम्भीर कसुरका कारण बर्खास्तीको निर्णयमा पुगेको गृहले जनाएको छ ।


प्रहरी महानिरीक्षकसमेतको टोलीको स्थलगत अध्ययन, डीआईजी धिरु बस्न्यातको नेतृत्वमा गठित आन्तरिक छानबिन कमिटीबाट प्राप्त तथ्य र कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा विष्ट, भट्टलगायत प्रहरी अधिकारीका कमजोरी औंल्याइएको थियो ।


गृह प्रवक्ता रामृकष्ण सुवेदीले अनुसन्धानमा भएको गम्भीर त्रुटिपछि उच्च प्रहरी अधिकारी बर्खास्तीको भागिदार बन्ने घटना विरलै रहेको बताए । उनले भने, ‘राष्ट्रसेवकले कानुनविपरीत काम गरेमा सजायको भागिदार बन्नुपर्छ भन्ने सन्देश यो घटनाले दिएको छ ।’


बर्खास्तीअघि गृहले विष्ट र भट्टसँग कात्तिक ४ गते पहिलो स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ चित्त नबुझेपछि गृहले बुधबार तपाईंहरूलाई किन कारबाही नगर्ने भन्ने प्रश्नसहित दोस्रो पत्र काटेको थियो । दोस्रो पत्रको जवाफ उनीहरूले बिहीबार प्रहरी प्रधान कार्यालयको सचिवालयमा बुझाएका थिए । सचिवालयले करिब ४ बजेतिर उक्त पत्र गृह मन्त्रालयमा पठाएको थियो ।

पत्र पुगेलगत्तै बसेको गृहसचिव राईलगायतको बैठकले दोस्रो पत्रको जवाफसमेत चित्तबुझ्दो नभएको ठहर गर्दै उनीहरूलाई प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम १ बमोजिम बर्खास्त गर्ने निर्णय गरेको थियो ।


कञ्चनपुर भीमदत्त नगरपालिका–२, खोल्टीकी पन्त गत साउन १० गते साथीको घरबाट पढेर निस्केपछि बेपत्ता भएकी थिइन् । घटनाको भोलिपल्ट उनको शव निम्बुखेडास्थित उखुबारीमा फेला परेको थियो ।


०००

अनुसन्धान अन्योलमै

निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका एसपी र इन्स्पेक्टरलाई बर्खास्त गरे पनि अभियुक्त भने पत्ता लाग्न सकेको छैन । अनुसन्धानक्रममा प्रहरीले घटनाको मुख्य अभियुक्त भन्दै स्थानीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर प्रहरीको भनाइप्रति आश्वस्त हुन नसकेका स्थानीयले निरन्तर आन्दोलन गरेपछि उनको संलग्नताबारे थप अनुसन्धान सुरु भयो ।

निर्मला पन्तको भेजाइनल स्वाबबाट निकालिएको डीएनएसँग दिलीपको डीएनए नतिजा नमिलेपछि उनी निर्दोष सावित भए । त्यसलगत्तै प्रहरीले शंकाको घेरामा तानिएका एसपी विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डीएनए नमुना परीक्षण गरेको थियो । तर तीनैको डीएनए प्रोफाइल म्याच भएन ।


गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनाली नेतृत्वको टोली पनि अनुसन्धानका त्रुटिमै बढी केन्द्रित भयो । घटनामा संलग्नको पहिचान गर्न असफल समितिकै सिफारिसका आधारमा गृहले एसपी विष्टसहितका प्रहरी अधिकारीलाई निलम्बन गरेको थियो ।


गृहको टोलीले अनुसन्धान जारी राखेका बेला प्रहरी प्रधान कार्यालयले डीआईजी बस्न्यात नेतृत्वको अर्को छानबिन टोली गठन गरेको थियो । यही समयमा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका तत्कालीन एसएसपी ठाकुर ज्ञवाली नेतृत्वको समूह, प्रहरी प्रधान कार्यालयबाट खटिएका एसपी दुर्गा सिंह र अन्य दुई डीएसपी नेतृत्वको टोलीले पनि घटनाबारे अनुसन्धान गरेका थिए । सोही समयमा कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले पनि अनुसन्धान जारी राखेको थियो । तैपनि घटनाका दोषी पत्ता लाग्न सकेको छैन । तीन महिनासम्म मुख्य अभियुक्तको पहिचान नहुँदा अनुसन्धानमा झन् अन्योल थपिँदै गएको छ ।


प्रकाशित : कार्तिक ८, २०७५ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?