कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

तीन पुस्तादेखि पूरै परिवारलाई हात्तीपाइले

पीडा सहन नसकेर परिवारकै एक सदस्यद्वारा आत्महत्या
डीआर पन्त

डडेलधुरा — हात्तीपाइले नियन्त्रण भएको भनिए पनि जिल्लाको एक दुर्गम गाउँमा भने तीन पुस्तादेखि एक गरिब परिवार यही रोगको प्रकोपबाट पीडित छ । हात्तीपाइले रोग लाग्दा हुने पीडा सहन नसकेर परिवारका एकजनाले आत्महत्यासमेत गरेका छन्  ।

तीन पुस्तादेखि पूरै परिवारलाई हात्तीपाइले

गन्यापधुरा गाउँपालिका १, जर्मनाका वनबहादुर महताको परिवार तीन पुस्तादेखि हात्तीपाइले रोगबाट पीडित छ । उनका भाइले रोगको पीडा सहन नसकेर ५ वर्षअघि आत्महत्या गरेका थिए । ‘बाजेलाई पहिलोपटक हात्तीपाइले रोग देखिएको हो,’ ५८ वर्षीय वनबहादुरले भने, ‘बुबापछि म पीडित भएँ अहिले भने २ छोरीबाहेक सबै परिवार हात्तीपाइलेबाट पीडित भएका छौं ।’

हात्तीपाइले वंशानुगत रोग नभए पनि परिवारका सदस्यहरू भने तीन पुस्तादेखि यसबाट दु:ख झेल्दै आएको उनको भनाइ छ । ‘बुबा भानबहादुर पनि हात्तीपाइलेबाट ग्रसित भएर दु:ख झेलेरै बिते,’ उनले घरपरिवारले बेहोरेको पीडा पोख्दै भने, ‘म पनि ३५ वर्षदेखि हात्तीपाइलेको दु:ख झेलिरहेको छु ।’

गाउँका अन्य कसैमा पनि यो रोग देखिएको छैन । वंशानुगतजस्तै एउटै परिवारमा हात्तीपाइलेले ग्रसित बनाएको छ । पछिल्लो समय हात्तीपाइले रोगविरुद्ध सुरु गरिएको खोप अभियानका कारण पनि अरूमा यो रोग सर्न नसकेको स्थानीयको भनाइ छ । स्थानीय दलबहादुरले भने, ‘उनको परिवारमा मात्र बुबापछि छोरा र नातिमा देखियो, गाउँमा अरू कसैलाई पनि हात्तीपाइले देखिएको छैन ।’

हुन पनि वनबहादुरका बुबाबाट उनलाई ३५ वर्षअघि यो रोग सरेको हो । वनबहादुरबाट छोराछोरीमा रोग सरेपछि अहिले परिवारका ७ जना हात्तीपाइलेबाट ग्रसित छन् । ‘विवाहिता २ दिदीबाहेक घरमा यो रोगबाट जोगिएको कोही पनि छैन,’ वनबहादुरका २८ वर्षीय छोरा केशवले भने, ‘बाबुबाजेको अज्ञानताका कारण पूरै परिवारले यस्तो रोगबाट ग्रसित हुनुपर्‍यो । समयमा उपचार गराउन सकेको भए बुबाबाट अरूमा रोगै सर्ने थिएन,’ उनले भने, ‘गरिबी र अशिक्षाका कारण त्यतिबेला न त उपचार सम्भव भयो न सरकारले नै उपचारका लागि सहयोग गर्‍यो ।’

हात्तीपाइले रोग सुरु हुँदा हुने पीडा सहन नसकेर काका वासुले ५ वर्षअघि आत्महत्या गरेको वनबहादुरका छोरा प्रकाश बताउँछन् । ‘बुबाबाजेले उपचार गर्न पाएनन् तर हामीले पनि उपचार गर्न नपाएर दु:ख भोग्नुपरेको छ,’ उनले भने । सरकारले हात्तीपाइलेका रोगीको नि:शुल्क उपचार गर्छ भन्ने सुनेका मात्र छौं तर आफ्नो परिवारलाई भने कसैले पनि सहयोग नगरेको उनको गुनासो छ । डडेलधुरा जिल्ला हात्तीपाइले रोगशून्य घोषणा भए पनि आफ्नो परिवारले भने कसैबाट कुनै सहयोग नपाएको उनले बताए ।

अन्तिम चरणको हात्तीपाइले रोगबाट ग्रसित बनेको पुरै परिवारले उपचार पाउन नसक्दा कष्टकर जीवन बाँच्न बाध्य भए पनि सरकारी तथ्यांकमा भने जिल्लामा हालसम्म जम्मा २२ जनालाई यो रोग देखिएको उल्लेख छ । २२ जनामा दुर्गम जर्मना गाउँका यो परिवारका सदस्यको भने नाम समावेश छैन ।

‘एक पटक मात्र भएको सर्भेमा जिल्लाभरिमा जम्मा २२ हात्तीपाइलेका रोगी देखिएका हुन्,’ जनस्वास्थ्य कार्यालयका अधिकृत दीपेन्द्र रावलले भने, ‘पछिल्लो समय यो रोगशून्य भएको जिल्लाका रूपमा डडेलधुरा छ ।’ उक्त परिवारका विषयमा भने धेरै जानकारी नभएको रावलको भनाइ छ । ‘पुरानो सर्भेमा त्यो परिवारका सदस्यको नाम हुनुपर्छ,’ उनले भने, ‘पछिल्लो अवस्थाका विषयमा भने जानकारी छैन ।’

प्रकाशित : कार्तिक ९, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?