कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नयाँ ‘सेलेब्रिटी’

किरण पाण्डे

चितवन — चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सौराहाको खोरसोर पुग्ने पर्यटकले आजकाल एक नयाँ सेलेब्रिटी भेट्ने गरेका छन्  । धेरैजसो पर्यटकका क्यामेरा खोरसोर पुग्नेबित्तिकै यतै सोझिने गरेको छ  ।

नयाँ ‘सेलेब्रिटी’

यो सेलेब्रिटी हो, पूजाकली हात्तीको बच्चा (छावा) औंसीकली ।

असोज २३ गते औंसीका दिन जन्मिएकाले यसको नाम औंसीकली राखिएको छ ।
दुई साताको यो सानो हात्ती आफ्नो आमा र बथानका अरू हात्तीसँग खेलेको देखेर पर्यटक रमाउने गरेका छन् । कतिले यसलाई माया गरेर खानेकुरा पनि दिने गरेका छन् । औंसीकली आफ्नो आमासँगै निकुञ्जभित्र चर्न पनि जान थालेको छ ।

चितवन निकुञ्जमा अहिले ५४ वटा हात्ती छन् । कोसी टप्पु वन्यजन्तु आरक्षबाट काजमा ल्याएका थप ५ वटा हात्ती पनि यहीं छन् । निजी हात्तीमा कमै प्रजनन हुने गरेको छ । निजी हात्ती चितवन र बर्दिया निकुञ्ज क्षेत्रमा मात्रै छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहामा ६ हात्ती छन् । हात्तीको १२ देखि १५ वर्षको उमेर बच्चा पाउन सक्ने उमेर हो । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार निकुञ्जमा वर्षमा २ वटासम्म हात्तीले बच्चा जन्माउने गरेका छन् ।

पोथी हात्ती जंगली भाले हात्तीबाट गर्भवती हुने गरेका छन् । निकुञ्जको हात्ती प्रजनन केन्द्रमा अहिलेसम्म २० भन्दा बढी हात्ती जन्मिएका छन् । नेपालमा हात्तीको संख्या कम भएपछि सन् १९८६ मा भारतको दुधुवा राष्ट्रिय निकुञ्जलाई चारवटा गैंडा दिएर १६ वटा हात्ती नेपालले लिएर यो प्रजनन केन्द्र स्थापित गरिएको थियो ।

चितवनको मुख्य आकर्षण भनेको हात्ती हो । पहिलो पटक पुग्नेहरूको रोजाइ हात्ती सफारी बन्ने गर्छ । हात्ती चढेर चितवन निकुञ्ज घुम्ने जमात बाक्लो छ । यसमा आन्तरिक पर्यटक मात्र होइनन्, बाह्य पर्यटकसमेत छन् । पर्यटक बढाउनु, घुमाउनुका अलावा निकुञ्जमा गस्ती, उद्धार र यातायातकै साधनका रूपमा समेत हात्तीको उपयोग गरिँदै आएको छ । निकुञ्ज जोडिएका ठाउँहरू सौराहा, जगतपुर र मेघौलीलगायत स्थानमा रहेका अधिकांश होटलमा हात्ती पालिएको छ । क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहा, मेघौली र जगतपुरमा गरेर करिब १ सय निजी हात्ती छन् ।

‘सौराहा घुम्न आउने पर्यटकको पहिलो प्राथमिकता हात्ती सफारी हुन्छ,’ उनले भने, ‘हात्तीले चितवन चिनाउने काम गरेको छ ।’ चितवनमा हात्ती सफारी सुरु भएको चार दशक भयो । एउटा हात्तीलाई दैनिक १५ केजी धान, १ केजी सख्खर, २ सय ग्राम नुन, १ केजी चना, करिब तीन क्विन्टल घाँस र सयदेखि दुई सय लिटर पानी चाहिन्छ ।

एउटा हात्ती पाल्न औसतमा दिनको १५ सयदेखि २ हजार खर्च लाग्छ । यस हिसाबले महिनाको ४५ देखि ६० हजार चाहिन्छ । हात्तीको आयु एक सय वर्षजति हुन्छ । निजी रूपमा पालिएका हात्तीहरू निकुञ्जभित्र जान नपाउने हुँदा घाँस पुर्‍याउनै मुस्किल हुने गरेको एक हात्ती मालिक बताउँछन् ।

प्रकाशित : कार्तिक १०, २०७५ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?