विदेशमा बुद्ध चिनाउँदै

मनोज पौडेल

लुम्बिनी — ३२ वर्षीय भिक्षु मैत्रेय शाक्यपुत्र र ३० वर्षीय भिक्षु वजिर प्रेमबीच धेरै समानता छ  । दुवै सानैदेखि शान्तिप्रति समर्पित भएर लागेका  ।

विदेशमा बुद्ध चिनाउँदै

एकजना मधेसी ब्राह्मण, अर्का अर्का थारू समुदायका । दुवै अन्तर्राष्ट्रियस्तरमा नेपाल र बुद्ध चिनाउन लागिपरेका छन् । उनीहरूको शान्ति, करुणा र भ्रातृत्वसम्बन्धी प्रवचन पाका भिक्षुको भन्दा कम हुँदैन ।

कोस्टारिकासँग जोड्दै
लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलबारमा जन्मेका भिक्षु मैत्रेय शाक्यपुत्र लुम्बिनी विकास कोषका उपाध्यक्ष हुन् । उनले दक्षिण अमेरिकी मुलुक कोस्टारिकामा बौद्ध बिहार र ध्यान केन्द्र सञ्चालन गरेका छन् ।

कोस्टारिका तीन पटकसम्म विश्वकै खुसी देशको सूचीमा परेको छ । ग्वेनाकान्ता जिल्लास्थित उत्कृष्ट पर्यटकीयस्थल ग्रेनाभिस्टा सुतामा उनको बिहार छ । नेपालदेखि ९ हजार ७ सय ७९ एरोनटिक माइल टाढा पश्चिम प्रशान्त र पूर्वक्यारेबियन महासागरबीचको ६० रोपनी जग्गामा उनले बुद्ध चिनाउन बिहार सञ्चालन गरेका हुन् । स्थानीय भाषामा एलेग्रिया सेन्टर नाम राखिएको बिहारको नेपाली नाम आनन्द बिहार हो ।

लुम्बिनीमा पनि उनले दुईवटा सामुदायिक र एउटा महिला विद्यालय सञ्चालन गरेका छन् । ‘सुरुदेखि विदेशमा पनि नेपाली बिहार होस् भन्ने चाहना थियो,’ मैत्रेयले भने, ‘त्यो चाहना जर्मन पाइलट फ्रेन्च निरहफले पूरा गरिदिए ।’

क्यानेडियन धर्मआमा गुरुमा लोरी फोस्टरमार्फत भेट भएका बुद्ध अनुयायी लुफ्थान्सा एयरका पाइलटले कोस्टारिकाको ग्रेनाभिस्टा सुतामा भएको आफ्नो सबै जग्गा नेपाली बिहारका नाममा गरिदिए । झन्डै २० करोड नेपाली रुपैयाँ पर्ने जग्गा उनले पाँच करोड रुपैयाँमा बिहारका नाममा गरिदिएका थिए । ‘१२ वर्ष लुफ्थान्साको एयरबस उडाएँ,’ उनले भने, ‘त्यस कारण बुद्धको उपदेशलाई अझ व्यापक बनाई विश्व शान्ति र समुन्नत विश्वका लागि काम गर्न उत्पेरित भई जग्गा दिएको हुँ ।’

यो पैसा पनि क्यानेडियन नागरिक बोधी गुरुमाले तिरिदिएकी हुन् । बोधी गुरुमाले भनिन्, ‘संसारमा अहिंसाको अभियान चलाउने शिखर पुरुषलाई जन्मदिने ठाउँ नेपाल हो । त्यही भएर नेपाली माटोको सम्मान गर्न विदेशमा पनि बिहार सञ्चालन गरेका हौं ।’

उनी एक दशकदेखि लुम्बिनीमा शिक्षा र सामाजिक क्षेत्रमा सक्रिय छन् । ‘बुद्धिज्म नेपालको हो,’ उनले भने, ‘यसमा नेपालको ठूलो योगदान छ ।’ विश्वमै भारत र चीनले बुद्धिज्म हाम्रो हो भनिरहेका बेला भिक्षु मैत्रेयले भने, ‘आनन्द विहारमा हामी बुद्धिज्म नेपाल र नेपालीको हो भनेर सिकाउँछौं ।’

भिक्षु मैत्रेयले पछिल्लो तीन वर्षदेखि हरेक फेब्रुअरीमा कोस्टारिकाको बिहारमा ध्यान शिविर आयोजना गरिरहेका छन् । यसले विदेशी पर्यटकलाई नेपाल ल्याउन सघाउ पुग्ने उनी बताउँछन् ।

कोस्टारिका विश्वकै प्रमुख पर्यटकीय गन्तव्य हो । अमेरिका, क्यानडाका नागरिक बिदा मनाउन कोस्टारिका पुग्छन् । कोस्टारिका विश्वमै उत्कृष्ट झरना, सामुद्रिक किनार, ज्वालामुखी र जंगलका लागि प्रसिद्ध छ । बिहारको अग्लो डाँडामा जापानी शैलीमा काठैकाठबाट निर्मित ध्यानकेन्द्र छ ।

श्रीलंकामा लुम्बिनी
सप्तरीको थारू परिवारमा जन्मेका वजिर प्रेम सानैमा भिक्षु बने । १० वर्षको उमेरमा अध्ययनका लागि श्रीलंका पुगेका उनले तीन वर्षदेखि कोलम्बोमा मिनी लुम्बिनीको रिप्लिका बनाएर बुद्ध जन्मस्थल प्रदर्शन गरिरहेका छन् ।

श्रीलंकाको दोस्रो ठूलो सहर क्यान्डीस्थित क्यालेनी विश्वविद्यालयमा पाली विषय प्राध्यापन गर्दै आएका उनले नेपालको बुद्धस्थल चिनाउन गंगारामयमा बर्सेनि १० दिन लुम्बिनी बनाएर देखाउँछन् । प्रत्येक वर्ष बुद्ध पूर्णिमाका अवसरमा हुने सरकारी कार्यक्रममा उनी बुद्ध जन्मस्थल लुम्बिनीको रिप्लिका प्रदर्शन गर्छन् ।

मायादेवी मन्दिर, मायादेवी गर्भवती भएपछि नुहाएको पुष्करणी पोखरी र चारैतिरको हरियाली वातावरण बनाएर लुम्बिनीजस्तै बनाएका छन् । साढे चार फिट लम्बाइ, तीन फिट चौडा र दुई फिट उचाइ रहेको मायादेवी मन्दिर प्लाइउडले बनाएर रंग लगाई सजाएका छन् । ‘बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिई पर्यटकीय गन्तव्य बनाउने उद्देश्य हो,’ उनले भने, ‘त्यसमा सफल हुँदै आएको छु ।’

लुम्बिनीबारे भ्रम चिर्ने काम गरेकामा उनी खुसी छन् । ‘यो स्टल प्रदर्शनलाई प्रत्येक वर्ष देखाउनुपर्छ,’ उनले भने, ‘यसो गर्दा श्रीलंकालीलगायत बौद्ध मुलुकका पर्यटकलाई नेपालमा आकर्षित गर्न सकिन्छ ।’

त्यस्तो प्रदर्शनी (स्टल) बुद्धस्थलको राम्रो प्रचार माध्यम बनिरहेको धर्मोदय सभा उपाध्यक्ष तथा उद्योगी पद्मज्योतिले बताए । ‘सराहनीय कामको प्रशंसा गर्नुपर्छ,’ उनले भने, ‘युवा भिक्षुको कामबाट धेरै प्रभावित भएँ ।’

सानो कामले गतिलो अन्तर्राष्ट्रिय प्रचार पाएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीर बताउँछन् । नेपाली स्टल हेर्न प्रत्येक वर्ष चीन, भियतनाम, कम्बोडिया, जापान, म्यानमार र श्रीलंकाका उपासक/उपासिकाको घुइँचो लाग्छ । गत वर्ष ४० भन्दा बढी राष्ट्रका प्रतिनिधिले नेपालको स्टल अवलोकन गरेका थिए । उक्त ठाउँमा विभिन्न मुलुकले बुद्ध, साहित्य, जीवनगाथा र महिमाका स्टल राख्छन् ।

भिक्षु वजिरले आफूले प्रत्येक वर्ष एक महिनाभन्दा बढी समय लगाएर रिप्लिका बनाउने गरेको बताए । अध्ययनका लागि श्रीलंका पुगेका उनलाई बुद्ध जन्मस्थलबारे धेरैले अनेक प्रश्न गरे । ‘थोरैलाई मात्र वास्तविक जानकारी थियो,’ उनले भने, ‘धेरैले भ्रम पालेका थिए ।’ बुद्ध नेपालमा जन्मेका हुन् भनेर देखाउन उनले निकै कसरत गरे । ‘कसरी बनाउने भनेर पटकपटक सिकर्मीकहाँ धाएँ,’ उनले भने ।

प्रकाशित : कार्तिक १०, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?