जिल्ला अस्पतालमा शल्यक्रिया बन्द

विप्लव महर्जन

सल्यान — जिल्ला अस्पतालले बेहोस बनाएर गरिने शल्यक्रिया बन्द गरेको छ  । केही दिनअघि बाग्चौर नगरपालिका ७, कोटबाराका बालकको शल्यक्रियापछि बेहोस अवस्थामै मृत्यु भएपछि आन्दोलन भएको थियो  ।

जिल्ला अस्पतालमा शल्यक्रिया बन्द

मृतकका आफन्तको आन्दोलनलगत्तै अस्पतालले शल्यक्रिया बन्द गरेको हो ।

अस्पतालले चार वर्षयता पाठेघर चिरेर बच्चा निकाल्ने, एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, ठूला घाउ, खटिरालगायत शल्यक्रिया गरिरहेको थियो । अस्पतालमा डाक्टरले शल्यक्रिया गर्न छाडेपछि बिरामी मर्कामा परेका छन् । शल्यक्रिया नहुने भएपछि बिरामी धेरै रकम खर्च गरेर बाहिर जानुपर्ने बाध्यता भएको छ । चिकित्सकले शल्यक्रिया गर्न छाडेका कारण बिहीबार मात्र दुई जनालाई अस्पतालले रिफर गरिएको जनाएको छ ।

केही दिनअघि पिसाब नली बन्द भएका ११ वर्षीय बालकको शल्यक्रियापछि रिफर गर्दा उपचारका लागि भारतको लखनउ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्त बिरोधमा उत्रेका थिए । बालकको मृत्युपछि विभिन्न आरोप प्रत्यारोप लागेको र क्षतिपूर्तिबापत रकम तिर्नुपरेको चिकित्सकको भनाइ छ । जोखिम मोलेर शल्यक्रिया गर्न छाडिएको जिल्ला अस्पतालका डा. प्रदीप शर्माले बताए । उनका अनुसार जिल्ला अस्पतालमा महिनामा साना/ठूला गरी ९० वटासम्म शल्यक्रिया हुने गरेका थिए ।

चिकित्सकले शल्यक्रिया रोकेपछि बिरामीलाई नेपालगन्ज, सुर्खेत, भारतको लखनउ र काठमाडौं लैजानुपर्ने बाध्यता भएको छ । ‘बालकको मृत्यु कुनै लापरबाही होइन, भबितव्य हो,’ डा. शर्माले भने, ‘जोखिम मोलेर काम गर्ने डाक्टरले उल्टै पैसा तिर्नुपर्छ भने कसले जोखिम उठाउँछ ?’ उनले पीडित पक्षले अस्पताल घेर्नु र विरोध गर्नु स्वाभाविक भए पनि सरोकारवाला निकाय मौन बसेको आरोप लगाए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीले एउटा घटनाका कारण अस्पतालमा उपचारमा समस्या भएको बताए । ‘कुनै डाक्टरको मान्छे मार्ने चाहना हुँदैन,’ उनले भने, ‘उपचार गरेपछि सबै बाँच्छन् भन्ने सय प्रतिशत ग्यारेन्टी हुँदैन ।’ शल्यक्रिया बन्द भएपछि छिमेकी स्थानीयका साथै जिल्ला रुकुम र रोल्पाका बिरामीसमेत समस्यामा परेको उनको भनाइ छ । सरकारी निकायले चिकित्सकको संरक्षणका लागि कुनै निर्णय नगर्दा शल्यक्रिया बन्द गरिएको चिकित्सकले जनाएका छन् ।

प्रकाशित : कार्तिक १०, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?