१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गोकुलेश्वर विमानस्थल बनेन

पर्यटन विकास प्रभावित
मनोज बडू

दार्चुला — सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाका विमानस्थल भटाभट पुन: सञ्चालनमा आइरहेका छन्  । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ मा रहेको गोकुलेश्वर विमानस्थल भने निर्माण प्रक्रियामा समेत पर्न सकेको छैन  ।

गोकुलेश्वर विमानस्थल बनेन

विमानस्थल अहिले गौचरमा परिणत भएको छ । २०७३/७४ आर्थिक वर्षको बजेट वक्तव्यमार्फत गोकुलेश्वर विमानस्थल सञ्चालन गर्ने कार्यक्रम थियो । तर नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले स्थलगत निरीक्षण गर्दा यो विमानस्थल जोखिममा रहेको प्रतिवेदन मन्त्रालयलाई बुझाए । यहीकारण विमानस्थल निर्माणमा पर्न नसकेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

जिल्लाले पर्यटन विकासको ठूलो सम्भावना बोकेको भए पनि विमानस्थलको निर्माण कार्य अगाडि नबढेपछि स्थानीय चिन्तित भएका छन् । अछामको साँफेबगरमा जहाज अवतरण भइसकेको छ । अन्य जिल्लाहरू बैतडीको पाटन, डोटीको दिपायललगायत विमानस्थल कालोपत्रे भइरहेका छन् ।

बैतडी र दार्चुलाको सिमाना छुट्याउने चमेलिया नदीमा बनेको सस्पेन्सन पुलका कारण गोकुलेश्वर विमानस्थललाई प्राधिकरण टोलीले जोखिमयुक्त श्रेणीमा राखेको पाइएको छ । गोकुलेश्वर विमानस्थल भारतको सीमा नजिक भनेर गलत रिपोर्ट दिइएको शैल्यशिखर नगरपालिकाका प्रमुख अमर धामीले बताए । ‘भारतीय सीमाबाट धेरै टाढा पर्छ, विमानस्थलनजिक अनुमति नलिएरै दर्जनौं घर बनेको भनेर पनि गलत रिपोर्ट पेस भएको छ,’ उनले भने ।

गोकुलेश्वरमा रहेको विमानस्थलनजिक ठूलाठूला घर तथा होटल निर्माण भएकाले उडान भर्नमा समस्या हुने भन्दै काम अघि नबढेको प्राधिकरणले जनाएको छ । विमानस्थल प्राथमिकतामा नपरेपछि यहाँका सांसद, पूर्वमन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराइसकेका छन् ।

‘दार्चुला–बैतडी जोड्ने सीमा पुल र एयरपोर्टबीच कुनै सम्बन्ध छैन,’ नगरपालिकाका प्रमुख धामीले भने, ‘नबनाउने नियतले समस्या देखाएर जोखिमको श्रेणीमा राखिएको हो ।’ लामो समयदेखि गोकुलेश्वर विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लावासीले आवतजावतमा समस्या झेल्दै आएका छन् ।

विमानस्थल सञ्चालनका लागि स्थानीय तहबाट प्रधानमन्त्री तथा सम्बद्ध निकायलाई ज्ञापनपत्रसमेत बुझाइएको छ । विमानस्थल लामो समयदेखि बन्द हुँदा जिल्लाका पर्यटकीय स्थल ओझेलमा पर्दै गएका छन् । ‘यहाँको पर्यटकीय विकास हुन सकेको छैन, सर्वसाधारणले समेत आवतजावतमा सास्ती खेप्नुपरेको छ,’ मालिकार्जुन गाउँपालिका प्रमुख नरेन्द्रसिह धामीले भने ।

पर्यटकहरूलाई यहाँका पर्यटकीय गन्तव्यसम्म पुर्‍याउने भरपर्दो यातायात छैन । शैल्य शिखर धाम, अपीनाम्पा संरक्षण क्षेत्र, कैलाश मानसरोवर पदमार्ग, अपि हिमाल, ब्यास गुफा, मार्कण्डेय गुफा, सुर्मा सरोवर क्षेत्र, सिद्धटोपी, ब्रह्मदहलगायतका पर्यटकीय स्थल ओझेलमा परेको पर्यटन व्यवसायी शोभानसिह लोथ्यालले बताए ।

‘जिल्लामा थुप्रै पर्यटकीय सम्भावना बोकेका ऐतिहासिक ठाउँ छन्,’ उनले भने, ‘यी क्षेत्रको उचित प्रचारप्रसार हुन नसक्नु र विदेशी पर्यटकलाई सहज किसिमले गन्तव्यसम्म पुग्ने मार्ग छैनन् ।’ विदेशी पर्यटकलाई जिल्ला पुग्न अत्यन्त कठिन छ । ‘त्यसपछि पर्यटकीय स्थलसम्म पुग्ने पदमार्गको पनि अभाव छ,’ उनले भने । विदेशी पर्यटकलाई गन्तव्यसम्म पुर्‍याउन नसक्नु कमजोरी भएको उनको भनाइ छ ।

प्रकाशित : कार्तिक १०, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?