कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लापारबाहीले लियो ज्यान

शिल्पा कर्ण

काठमाडौँ — कीर्तिपुरस्थित ल्याबरोटरी स्कुलअगाडि बल्खु–दक्षिणकाली सडक किनारको खानेपानी च्याम्बरमा जमेको पानीमा खस्दा शनिबार एक साइकल यात्रीको मृत्यु भएको छ ।

लापारबाहीले लियो ज्यान

स्ल्याब खुलै रहेको च्याम्बरमा खसेर काठमाडौं महानगरपालिका–१५, चागलका श्यामसुन्दर श्रेष्ठको ज्यान गएको हो ।


उनको शवसँगै भेटिएको रातो रंगको माउन्टेन बाइक दुर्घटना भइ खाल्डोमा खसेर मृत्यु भएको देखिएको छ । प्रहरी वृत्त कीर्तिपुरलाई बिहानै ६ बजे स्थानीयले जानकारी दिएपछि प्रहरीले उनको शव खाल्डोबाट निकालेको थियो । दुर्घटना कति बजे भएको भन्नेबारे यकिन भन्न नसकिने प्रहरीले जनाएको छ ।


काठमाडौं महानगरपालिका–१५ चागल निवासी श्रेष्ठ साइकल चलाएर जाँदै गर्दा खाल्डो नदेखेर खसेको र निस्कन नसकेको हुन सक्ने प्रहरीको अनुमान छ । ‘शव परिवारजनले जिम्मा लिइसकेको छ । पोष्टमार्टम हुन बाँकी छ,’ वृत्तका ड्युटी अफिसरले भने ।


काठमाडौं महानगरपालिका–१५ चागल निवासी श्रेष्ठको शव, साइकल र परेको खाल्डा । तस्बिर : रामकृष्ण महर्जन ।

कीर्तिपुर नगरपालिकाको वडा नं. १० मा पर्ने उक्त क्षेत्रमा अगाडि पनि यस्तै खुला ढल छ । दिनहुँ मोटरसाइकलले कालिमाटीबाट कीर्तिपुर पुग्ने गरेका नगरपालिकाका कर्मचारी रामकृष्ण महर्जन यसमा केयुकेएलको दोष रहेको बताउँछन् । राति बाइकमा हिँड्दासमेत स्ल्याब नदेखिने गरेको उनले बताए । मुख्य सडक र फुटपाथको बीचमा रहेको धुलोबीचको उक्त स्थानमा स्ल्याबमा साइकल ठोक्किएर चालक पानीमा खसेर बेहोश भइ निस्कन नसक्दा मृत्यु भएको हुन सक्ने उनले बताए ।


त्यहाँको पिच भएको मुख्य सडकमा बढी गति भएको चारपांग्रे र अलिक छेउबाट साइकल र दुई पांग्रे गुड्ने गर्छन् । ‘सरकारले नै मान्छे मार्न धराप थापेको जस्तो देखिन्छ । धेरै पहिलेदेखि त्यो ठाउँ यस्तै खुला छ,’ बिहानै घटनास्थल पुगेका महर्जनले भने, ‘ केयुकेएलकै लापरवाहीले यो दुर्घटना भएको हो, क्षतिपूर्ति दिनुपर्छ ।’


दुर्घटनास्थल भन्दा केही पर किर्तिपुर नयाँबजार जाने सडक छेउमा रहेको अर्को खुला ढल । तस्बिर : शिल्पा कर्ण/कान्तिपुर ।

केयुकेएलका प्रमुख महेश भट्टराईले पानीको च्याम्बर खुला रहेकै कारणले मृत्यु भएको पुष्टि नभएकाले अहिल्यै क्षतिपूर्ति दिने सम्बन्धमा निर्णय लिइनसकेको बताए ।

‘मर्मत सम्भारका लागि भनेर त्यो भल्भ च्याम्बर आधा मात्र ढाकिएको रहेछ । अहिले पोष्टमार्टम रिपोर्ट आएपछि र अनुसन्धान प्रक्रिया समाप्त भएपछि मात्र मृत्युको वास्तविक कारण खुल्नेछ । त्यसैले अहिल्यै केही भन्न सकिन्न,’ भट्टराईले भने ।

यो पहिलो घटना भने होइन । काठमाडौं उपत्यकामा यस्ता धाराप जस्ता खाल्डाहरु धेरै छन् । गतवर्ष असार अन्तिममा विद्यालयबाट फर्किँदै गरेकी ११ वर्षीया बालिका विनिता फूयाँलको नेपालटारस्थित ढलमा बगेर मृत्यु भएको थियो । सोही दिन सामाखुशीमा सत्या सापकोटालाई पनि ढलले बगाएको थियो । तर तुरुन्तै ह्युमपाइपको अर्कोतिरबाट निस्केपछि स्थानीयले उनको उद्धार गरेपछि ज्यान जोगिएको थियो ।

प्रकाशित : कार्तिक १०, २०७५ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?