सुर्दशन गौतम विरुद्ध रेडकर्नर नोटिस जारी गर्न नेपाल प्रहरीसँग इन्टरपोलले माग्यो थप कागजात

जनकराज सापकोटा

काठमाडौँ — संगठित मानव तस्करीको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट वारेन्ट जारी भएका नेपाली मुलका क्यानडेली नागरिक सुर्दशन गौतम विरुद्ध रेडकर्नर नोटिस जारी गर्न प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) ले नेपाल प्रहरीसँग थप कागजातहरु मागेको छ ।

सुर्दशन गौतम विरुद्ध रेडकर्नर नोटिस जारी गर्न नेपाल प्रहरीसँग इन्टरपोलले माग्यो थप कागजात

महानगरीय प्रहरी अपराध महाशाखाले कलाकारको आवरणमा भारतको नयाँ दिल्लीबाट रुसको राजधानी मस्को, कोलम्बियाको राजधानी बोगटा हुँदै टापु राष्ट्र डोमिनिका र त्यहाँबाट हैटीको राजधानी पोर्ट औं प्रिन्स हुँदै अमेरिकामा मानव तस्करी गर्न खोजेका सुर्दशन विरुद्धका प्रमाणहरु इन्टरपोलमा पठाउने अन्तिम तयारी सकेको छ ।


साउन ३ मा काठमाडौं जिल्ला अदालतले गौतम विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो भने साउन २३ गते महानगरीय प्रहरी अपराध महाशाखाले इन्टरपोलमार्फत रेड कर्नर नोटस जारी गराउने प्रक्रिया थालेको थियो । स्रोतका अनुसार क्यानडाको पासपोर्ट बहाक भएका कारण इन्टरपोलले थप प्रमाणहरु खोजेको छ । एक उच्च प्रहरी अधिकारीले भने, ‘सम्भवत: मानव तस्करीको घटनासँग उनी जोडिएका प्रमाणहरु पुगेपछि इन्टरपोलले उनी विरुद्ध रेडकर्नर नोटिस जारी गर्नेछ ।’


नौ महिना अघिको भारतको नयाँ दिल्लीबाट तीन नेपाली महिला रुसको राजधानी मस्को, कोलम्बियाको राजधानी बोगटा हुदै टापु राष्ट्र डोमिनिका र त्यहाँबाट हैटीको राजधानी पोर्ट औं प्रिन्स पुऱ्याइएका थिए । सुर्दशन सहित संगठित मानव तस्करहरुले हैटीमा छायांकन गरिने ‘संस्कार’ नामक फिल्ममा अभिनय गर्ने भन्दै बनाइदिएको कागजातको भरमा उनीहरु त्यहाँ पुगेका थिए ।


२३ जनवरी २०१७ मा हैटी फिल्मसले सुमित्रा कुँवर सहितका दुई महिलालाई आमन्त्रण गरेको देखिन्छ । पत्रमा सुमित्रा प्रोडक्सन असिस्टेन्ट म्यानेजर र अन्य कलाकारको हैसियतमा हैटी जान खोजेको देखिन्छ । यसरी हैटी पुगेका तीन नेपालीलाई महिनौं हैटीको एक अर्पाटमेन्टमा राखेर मानव तस्करले पोर्ट औं प्रिन्सबाट क्यारेबियन सी हुँदै अवैध रुपमा अमेरिका लैजान खोज्दा समुन्द्रमा पानीजहाज दिशाहीन बनेपछि खाद्यन्न र पानीको अभावमा सुमित्राको निधन भएको थियो ।


मानव तस्करका एजेन्टले शव गन्हाउने र तस्करीको घटना बाहिर आउने भन्दै सुमित्रालाई समुन्द्रमै मिल्काईदिए का थिए भने दिशाहीन जहाजलाई टापु राष्ट्र बहमासका जल सेनाले उद्धार गरेको थियो ।


सुमित्रासँगै हिँडेका दुई नेपाली युवतीलाई भने अमेरिकास्थित नेपाली दुतावासले कुटनीतिक पहल चालेर क्युवा हुँदै नेपाल पठाईदिएको थियो । अमेरिका छिर्ने सपनामा ६० लाख रुपैयाँ गुमाएका र नौ महिना लामो अप्ठ्यारो यात्रा छिचोलेर नेपाल फर्केका युवतीहरु महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएपछि संगठित मानव तस्करीको अनुसन्धान सुरु भएको थियो ।

प्रकाशित : कार्तिक १०, २०७५ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?