कर्णाली राजमार्ग जीर्ण

तुलाराम पाण्डे

कालीकोट — कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक पिच भएको ५ वर्षमै जीर्ण बनेको छ ।

कर्णाली राजमार्ग जीर्ण

२७ वर्षअघि निर्माण सुरु भएको कर्णाली राजमार्गको १२ वर्षअघि ट्रयाक ओपन भएको थियो । विश्व बैंकको सहयोगमा दुई चरणमा ओटासिल प्रविधिको कालोपत्रे गरिए पनि अधिकांश स्थानमा उप्किएपछि राजमार्ग जीर्ण बनेको हो । राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई जोडेको छ भने अछाम, बाजुराका बासिन्दाको आवागमनलाई पनि सहज बनाएको छ ।


राजमार्गको स्तरवृद्धिलाई जुम्ला, मुगु र कालीकोटका सबैजसो राजनीतिक दलले चुनावी नारा बनाएर भोट लिने प्रतिस्पर्धा गरे पनि अहिले सबैको बेवास्तामा परेको छ । ‘चुनाव सकिएपछि कसैले वास्ता गरेनन्,’ स्थानीय लालबहादुर मल्लले भने ।


गत असोजमा स्थानीय स्तहका जनप्रतिनिधिसँगको अन्तक्र्रियामा कालीकोट र जुम्ला आएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग स्थानीय तहका जनप्रतिनिधिले कर्णाली राजमार्गको स्तरउन्नति र पक्की पुल निर्माणको मागलाई मुख्य रूपमा उठाएका थिए ।


शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौंलागाईले कर्णाली राजमार्ग गतिलो हुने हो भने सडकले गाउँ जोड्न कठिनाइ नहुने बताए । ‘कर्णाली राजमार्गकै बिजोग छ,’ उनले भने, ‘पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुन्छ ।’


२०४८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेको कर्णाली राजमार्गको निर्माण सशस्त्र द्वन्द्व र बजेट अभावका कारण समस्यामा परेको थियो । नेपाली सेनालाई निर्माणको जिम्मा दिएपछि ०६३ चैत ३० गते सुर्खेत–जुम्ला सडकको ट्रयाक खुलेको थियो ।


ट्रयाक खुलेपछि पहिलो चरणमा सुर्खेतबाट खिडिज्युलासम्म १ सय २६ किमि र दोस्रो चरणमा खिडिज्युलादेखि जुम्लासम्म १ सय ७ किमि ओटासिल पिच गरिएको थियो । राजमार्ग अहिले सिंगल लेनको मात्र छ । पिच गरिएको ९० प्रतिशत सडकको कालोपत्रे उप्किएको छ । सस्तो प्रविधिको ओटासिल पिच हालिएको पाँच वर्षमै सबैजसो ठाउँमा उप्किएर सडक हिलाम्मे र धुलाम्मे भएको छ । सुर्खेतबाट जुम्लासम्म पहिरो बग्ने र पुल निर्माण हुन बाँकी रहेका क्षेत्रमा करिब ७ किमि सडक कालोपत्रे गर्न छुटेको थियो ।


सडकले सुविधा धेरै भए पनि जीर्ण हुँदा यात्रा जोखिमपूर्ण रहेको जुम्ला सिंजाका मदन आचार्यले बताए । उनले सडकको स्तरवृद्धिमा सरकारले बेवास्ता गरेको गुनासो पोखे । ‘हामीलाई अरू विकास चाहिएको छैन,’ आचार्यले भने, ‘कर्णाली राजमार्ग सडक दुई लेनको पक्की बनाइदिए विकासका नयाँ अवसर आफैं सिर्जना गर्न सकिने थियो ।’


उनका अनुसार जीर्ण र साँघुरो सडकका कारण सुर्खेतबाट जुम्ला पुग्न दुई दिन लाग्ने गरेको छ । एउटा गाडी बिग्रिएपछि पूरै सडक ठप्प हुने अवस्था रहेको उनको भनाइ छ ।


राजमार्गको स्तरवृद्धि नहुँदा बेलाबेलामा भयानक दुर्घटना पनि हुने गरेको छ । सडक भए पनि कर्णालीवासीलाई सास्ती उस्तै छ । ‘सडक राम्रो भएको भए आधा दिनमै सुर्खेत पुगिन्थ्यो,’ तिलागुफा नगरपालिका–१ नाग्मका मायालाल महताराले भने, ‘जीर्ण र धुलाम्मे सडकले सास्ती छ ।’ उनले राजमार्ग निर्माणपछि दैनिक उपभोग्य वस्तुको आपूर्तिमा सहज भएको, आधुनिक भवन निर्माणमा सजिलो भएको र स्थानीय उत्पादन बजार पुर्‍याउन सहज भएको जनाए ।


सुर्खेतको बोगेसिमलबाट सुरु हुने सडक जुम्ला खलंगासम्म २ सय ३३ किमिको दूरीमा छ । राजमार्गमा पर्ने विभिन्न ९ स्थानमा पुल बन्न बाँकी छ । पुल निर्माणको ठेक्का भएको वर्षौं बिते पनि ठेकेदारको ढिलासुस्तीले राजमार्ग थप असुरक्षित छ । राजमार्गको दैलेख खण्डमा पाँच र कालीकोट खण्डका चार पुल निर्माण सुरु भएको चार/पाँच वर्ष बितिसक्दा पनि काम नसकिएको स्थानीयको गुनासो छ ।


‘विभिन्न खोलामा पुल बन्न थालेको वर्षौं भयो,’ नागरिक अगुवा लीलाराम न्यौपानेले भने, ‘पुल बन्ने छाँटकाँट छैन ।’ कालीकोटको सेरीघाटस्थित तिला नदी र जुम्लाको नाग्मस्थित हिमा नदीमा १२ वर्षअघि हालिएका बेलिब्रिज खिया लागेर भाँचिने अवस्थामा पुगेका छन् ।


सेरीघाटको पक्की पुलका लागि ४ करोड ५० लाख रातो किताबमा बजेट विनियोजन भए पनि पुल बन्न कति वर्ष लाग्ने हो निश्चित छैन । संघीय संसद्का सदस्य दुर्गाबहादुर रावतले छिटो पुल बनाउन सबैले ताकेता गर्नुपर्ने बताए । उनले दैलेख रामभन्दा तल २ खण्ड र राकममाथि कालीकोट हुँदै जुम्लासम्म एक गरी तीन खण्डमा काम हुने जनाए । बजेट यकिन नभए पनि स्तरवृद्धि गर्ने कुरा भएको उनको भनाइ छ ।


राजमार्ग जीर्ण हुँदा यात्रु र रारा घुम्न आउने आन्तरिक पर्यटकलाई पनि सास्ती छ । ‘सडक नै खत्तम छ,’ यातायात व्यवसायी हस्त बमले भने, ‘कतिपय ठाउँमा राजमार्ग भन्नै नसुहाउने सडक छ, थोरै तलमाथि भए दुर्घटना भइहाल्छ ।’ उनका अनुसार दुर्घटनामा केही मानवीय कारण भए पनि मुख्य समस्या साँघुरो र अप्ठ्यारो बाटो हो । उनले साँघुरो र जीर्ण सडकका कारण गाडी पनि छिट्टै थोत्रा हुने समस्या रहेको बताए ।


राजमार्गको अधिकांश पिच उप्किएका कारण यात्रा जोखिमपूर्ण बनेको प्रजिअ चन्द्रबहादुर कार्कीले बताए । ‘जताततै पहिरोले राजमार्ग जीर्ण छ,’ उनले भने, ‘राजमार्गको स्तरवृद्धि जरुरी छ ।’ उनले सडक राम्रो बन्न सके धेरै विकासे काम गर्न सहज हुने बताए । चालकको लापरबाही, व्यसायीको मनपरी, फितलो कानुन कार्यान्वयन संयन्त्र र प्रहरी उदासीनतासहित कमजोर सडक संरचनाले राजमार्गमा दुर्घटना बढी हुने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ११, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?