कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

हराउँदै रैथाने बासमती धान

डिल्लीराम खतिवडा

उदयपुर — गुणस्तरीय मानिने बासमती धान अचेल सहजै पाउन मुस्किल छ  । सिँचाइको उचित व्यवस्थापन हुन नसक्दा र खेतीयोग्य जमिनको खण्डीकरण हुँदै जाँदा त्रियुगा नदी तटीय क्षेत्रको रैथाने बासमती धान लोप हुँदै गएको हो  ।

हराउँदै रैथाने बासमती धान

५/७ वर्षअघिसम्म तटीय क्षेत्रका खेतमा कात्तिक/मंसिर नलाग्दै बासमती धानको बासना आउँथ्यो । हाल रैथाने बासमतीको स्थान आयातितले ओगटेको छ ।

खेतीयोग्य जमिनको खण्डीकरणसँगै जनसंख्या वृद्धिले समेत उच्चकोटिको धान उत्पादनमा ह्रास आउने गरेको किसान बताउँछन् । बासमती धानको उत्पादनले धान्नै नसक्ने भएपछि खेती गर्न छाडेको स्थानीय किसानले बताए ।

‘अहिले उच्चकोटिको होइन, धेरै उत्पादन दिने उन्नत जातको धान लगाइन्छ,’ चौडण्डिगढी नगरपालिका ५ बेल्हिका किसान मानबहादुर राउतले भने, ‘बासमती, करियाकामत र चनमचुर जस्ता धानले धेरै क्षेत्रफलमा थोरै उत्पादन दिने भएकाले पनि खेती गर्न छाडियो ।’ उनले पहिले खानाका लागि मात्रै खेती गरिन्थ्यो अहिले व्यावसायिक उत्पादनमा जोड दिएकाले पनि लगाउन छाडिएको बताए ।

परम्परागत खेतीमा जस्तो अहिलेको आधुनिक खेती प्रणालीमा बासमती धान नफल्ने किसान बताउँछन् । ‘त्रियुगा नदी किनारका आसपासका खेतमा पहिलेको जस्तो अहिले बासमतीको खेती हुँदैन,’ किसान ललकु चौधरीले भने, ‘वर्षौंदेखि ५ देखि १० बिघा खेतमा बासमती धानको खेती गर्दै आएकोमा अहिले एक बिघामा पनि मुस्किले लगाउँछौं । उनले पहिले जस्तो जग्गा पनि नभएको बताए । ‘फेरि बासमती रोप्दा उत्पादन पनि कम हुने भएकाले यसको खेती छाडेको हूँ ।’

धानका उन्नत जात (हाइब्रिड) को विकाससँगै पुरानो र परम्परागत खेतीमा प्रयोग गरिने धान लोप हुँदै गएको त्रियुगा नगरपालिका १ जोगीदहका किसान हरि चौंलगाईले बताए ।
‘बासमतीको समेत उन्नत जातको बीउ आएको छ, तर अहिलेको उन्नत जातको बीउ पहिलेको जस्तै बासना आउने धान फल्दैन,’ उनले भने, ‘धानमा पर्याप्त सिँचाइ र कम्पोस्ट मलको प्रयोग गर्न नसक्दा बासमती लगायतका धान लोप भए ।’

१०/१२ वर्षयता क्रमश: बासमती धान लोप हुँदै गएको कृषि प्रसार अधिकृत उदयनारायण कोइरालाले बताए । ‘रैथाने बासमतीलाई उन्नत जातका अन्य धानले विस्थापित गरेकाले पनि लोप भएको हो,’ उनले भने, ‘खेतीयोग्य जमिनको खण्डीकरण, उत्पादनमा ह्राससँगै स्थानीय जातको बासमती हराएको हो ।’ उदयपुरमा १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । त्यसमध्ये ७ हजार ३ सय ३ हेक्टरमामात्रै सिँचाइ सुविधा पुगेको छ ।

प्रकाशित : कार्तिक ११, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?