१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रधानमन्त्री ओलीलाई मौसमी रूघाखोकी, अझ तीन दिन घरमै आराम गर्न चिकित्सकको सल्लाह

अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री केपी ओली दुई दिनदेखि मौसमी रूघाखोकी र हल्का ज्वरोको समस्याका कारण निवासमै आराम गरिरहेका छन् । चिकित्सकले थप तीन दिन आराम गर्न सुझाएका छन् ।

प्रधानमन्त्री ओलीलाई मौसमी रूघाखोकी, अझ तीन दिन घरमै आराम गर्न चिकित्सकको सल्लाह

प्रधान‍नमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माका अनुसार उनको स्वास्थ्यस्थितिमा शनिबारको तुलनामा आइतबार सुधार देखिएको छ ।

"मौसमी रूघाखोकी र हल्का ज्वरो देखिएपछि प्रधानमन्त्रीलाई भेटघाट, बैठक र भीडभाडभन्दा टाढा रहन सल्लाह दिएका हौं' डा. शर्माले कान्तिपुरसंग भने ।


दशैं, तिहार, नेपाल सम्वत, छठलगायतका चाडपर्वका उपलक्ष्यमा नेकपाले शनिवार आयोजना गरेको चियापानमा प्रधानमन्त्री ओली उपस्थित भएनन् । सञ्चो नभएर कार्यक्रममा उपस्थित नभएको भनिएपछि उनको स्वस्थ्यस्थितिबारे चासो बढेको हो ।


चिकित्सकका अनुसार हाल प्रधानमन्त्री ओलीलाई एउटा साधारण एन्टिवायोटिक र रूघाखोकीको औषधी दिइएको छ । उपचारमा सलग्न चिकित्सकले उनलाई थप तीन दिन औषधी सेवनसंगै निवासमै आराम गर्न सल्लाह दिएका छन् ।


यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले एक प्रेस नोट जारी गरी प्रधानमन्त्री अोली चिकित्सकको सल्लाह बमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रहेको उल्लेख गरेका छन् । प्रेस नोटमा स्वास्थ्यमा सुधार भएको उल्लेख गर्दै पूर्ण सुधार भएपछि सार्वजनिक कार्यक्रममा सहभागी हुने उल्लेख छ ।

प्रकाशित : कार्तिक ११, २०७५ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?