कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

३९ प्रतिशत सेयरधनी महिला

‘विगतमा महिलाको उपस्थिति मात्र रहन्थ्यो, अहिले सक्रियता पनि बढेको छ’
यज्ञ बञ्जाडे

काठमाडौँ — सेयर बजारमा महिलाको संख्या बढेको छ । पब्लिक कम्पनीको सेयरलाई विद्युतीय रूपमा सुरक्षित राख्ने सीडीएस एन्ड क्लियरिङ कम्पनीको अभिलेखमा आइतबारसम्म करिब १३ लाख ३६ हजार डिम्याट खाता खुलेका छन् ।

३९ प्रतिशत सेयरधनी महिला

तीमध्ये ३९ प्रतिशत महिलाका नाममा छन् ।

साँझ–बिहान घरको कामकाजमा व्यस्त गृहिणी दिउँसो सेयर कारोबारमा सक्रिय हुने क्रम बढेको हो । घरको कामकाज पनि भ्याइने र दिउँसो खाली समय उपयोग हुने भएकाले महिलाका लागि सेयर बजार आयआर्जनको उपयुक्त विकल्प बनेको जानकारहरू बताउँछन् । सेयर बजारमा दैनिक ४ घण्टा कारोबार हुन्छ । बिहान ११ बजे बजार खुल्छ, ३ बजे बन्द हुन्छ ।

सेयर बजारको सामान्य सिद्धान्त बजार घटेका बेला लगानी गर्ने र बढेका बेला बेच्ने हो । तर, नेपालमा बजार बढ्दा धेरै लगानीकर्ता भित्रिन्छन् भने घट्दा बाहिरिन्छन् । यसकारण अहिले सेयर बजार घट्दो अवस्थामा रहेकाले लगानीकर्ताको संख्या पनि घटेको छ ।

‘बिहान घरधन्दा सकेर ११ बजे बजार आउँछु, साढे ३ बजे बच्चा लिन स्कुल पुगिसकेकी हुन्छु,’ सेयर लगानीकर्ता दीपा केसीले भनिन्, ‘दिउँसो खाली समय राम्रोसँग उपयोग भएको छ ।’ सुरुमा छिमेकी दिदीको सल्लाहमा सेयर बजारमा लगानी गरेकी दीपाले औसतमा मासिक १८/२० हजार कमाउने गरेको बताइन् । ‘अहिले बजार घटिरहेको छ, यस्तोमा पनि मासिक १८/२० हजारजति कमाउँछु,’ उनले भनिन्, ‘बजार बढेका बेला राम्रो कमाइ गरेकी थिएँ ।’ सुर्खेत स्थायी घर भएकी उनी ८ वर्षदेखि कलंकीमा बस्दै आएकी छन् । उनका श्रीमान् निजामती कर्मचारी हुन् ।

ललितपुर, भैंसेपाटीमा बस्दै आएकी मानुषी विष्टले पनि सेयर बजारमा लगानी गरेकी छन् । उनका छोरा र छोरी उच्च शिक्षाका लागि विदेशमा छन् । श्रीमान् एक सरकारी बैंकका काम गर्छन् । ‘कम्पनीबारे राम्रोसँग विश्लेषण गरेर लगानी गरे सेयर बजारबाट राम्रो आम्दानी हुन्छ,’ उनले भनिन्, ‘पहिले दिन कटाउन गाह्रो हुन्थ्यो । अहिले बजारबारे थोरैधेरै विश्लेषण, सही र गलत समाचार विश्लेषण गर्न सक्ने भएकी छु ।’

६ महिनायता बजार बढ्न नसकेकाले राम्रो कमाउन नसकेको उनले बताइन् । दिउँसो समय कटाउनकै लागि श्रीमान्ले सेयर बजारमा लाग्न सुझाएको उनले बताइन् । ‘बिहान घरधन्दा सकेर आउँछु, साँझ छिट्टै घर पुग्छु,’ उनले भनिन्, ‘अचेल दिन कटेको पत्तै हँुदैन ।’

महिला लगानीकर्तामा लगानीसम्बन्धी आफैं निर्णय गर्ने, कम्पनी तथा बजारबारे विश्लेषण गर्ने क्षमता अपेक्षित रूपमा नबढे पनि संख्या बढेको सेयर ब्रोकर सरिता विष्टले बताइन् । ‘विगतमा महिलाको उपस्थिति मात्र रहन्थ्यो,’ उनले भनिन्, ‘पछिल्ला वर्ष सक्रियता पनि बढेको छ ।’

सेयर बजारमा भित्रिएकामध्ये अधिकांश सरकारी कर्मचारी र उच्च पदस्थको परिवारका महिला रहेको उनी बताउँछिन् । ‘सेयर बजारमा निकै सचेत तरिकाले लगानी गर्नुपर्ने भएकाले जानेबुझेका शिक्षित परिवारकै महिला धेरै छन्,’ उनले भनिन् ।

सीडीएसको तथ्यांकअनुसार गत शुक्रबारसम्म सेयर बजारमा कुल ४ अर्ब ८० करोड ९५ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको छ । तीमध्ये ३ अर्ब ९० करोड ४५ लाख २१ हजार कित्ता सेयर अभौतिकीकरण (विद्युतीय रूपमा परिवर्तन गरिएको) भएको छ । यो कुल सूचीकृत सेयरको करिब ८१ प्रतिशत हो । बाँकी १९ प्रतिशत सेयर अझै डिम्याट हुन भ्याएका छैनन् । दोस्रो बजारमा कारोबारका लागि सेयर डिम्याट हुनुपर्ने अनिवार्य व्यवस्था छ ।

हाल मुलुकभरका ७७ वटै जिल्लामा निक्षेप सदस्य (डीपी) सेवा पुगेको छ । कागजी रूपमा रहेको सेयरलाई विद्युतीय रूपमा परिवर्तन गर्ने विधिलाई डिम्याट (अभौतिकीकरण) भनिन्छ । बैंकले नागरिकको बचत संकलन गरेजस्तै निक्षेप सदस्यले लगानीकर्ताको सेयर संकलन गर्ने काम गर्छ । हाल नेपालमा विभिन्न प्रकृतिका गरी ६९ वटा संस्थाले निक्षेप सदस्यका लागि अनुमति पाएका छन् ।

प्रकाशित : कार्तिक १२, २०७५ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?