१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जताततै ज्यानमारा खाल्डा

काठमाडौँ — ललितपुर ठेंचोस्थित सडकको खाल्डोमा एक साताअघि रामप्रसाद घिमिरे र कोपिला घिमिरे चढेको बा५२प १२५३ नम्बरको स्कुटर पर्‍यो । बज्रवाराही मन्दिर दर्शन गएका बेला खाल्डोबाट जोगिन खोज्दा पछाडिबाट आएको ट्रकले झन्डै किचेन  ।

जताततै ज्यानमारा खाल्डा

तैपनि उनीहरू खाल्डोमा परे । स्कुटर क्षतिग्रस्त भयो । ‘साइडलाइट, लुकिङ ग्लास मर्मत गर्नुपर्दा १५ सय रूपैयाँ खर्च भयो,’ कोपिलाले भनिन् ।
***

हरिसिद्धिका रवीन्द्र महर्जनको बा१८प ४४६१ नम्बरको मोटरसाइकल सातदोबाटो–गोदावरी सडकअन्तर्गत हरिसिद्धि मोडमा रहेको खाल्डामा खस्यो । सुनाकोठीका राम महर्जनको बा१६प ३५१९ नम्बरको मोटरसाइकल पनि सडकको खाल्डामा पर्‍यो । दुवै जना यसअघि पनि यसैगरी दुर्घटनामा परेका थिए । ‘विपरीत दिशाबाट आएको ट्रक छल्ने क्रममा खाल्डामा परें,’ रवीन्द्रले भने । कलंकी–कोटेश्वर सडक खण्डअन्तर्गत सर्भिस ट्रयाक बालकुमारी पुल र कोटेश्वरको बीचमा परेको खाल्डोमा ५ महिनाअघि बा१ख ४३५३ नम्बरको कार खसेको थियो ।
***

कीर्तिपुरस्थित ल्याबोरेटोरी स्कुल अगाडि केयूकेएलले खुल्लै छोडेको भल्भ च्याम्बरमा खस्दा शनिबार मात्रै काठमाडौं महानगर १५ चागलका श्यामसुन्दर श्रेष्ठको ज्यान गयो । उनले चलाएको साइकल स्ल्याबमा ठोक्किँदा उनी च्याम्बरमा खसेका थिए । कीर्तिपुरबाट नयाँबजार जाने सडकमा पनि दाहिनेपट्टि ढल खुलै छ ।
***

उपत्यकामा सडकमा जताततै रहेका यस्ता खाल्डाले दुर्घटना बढेका छन् । महानगरीय ट्राफिक प्रहरी ललितपुरका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथुका अनुसार उपत्यकामा हुने सडक दुर्घटनाका ८० प्रतिशत कारण सडकका खाल्डा हुने गरेका छन् । ‘सडकमा घर पसलको बत्तीको भर पर्नुपर्छ,’ उनले भने, ‘पानी परेका बेला खाल्डोमा परी घाइते हुने सवारी चालक र यात्रु पनि धेरै हुने गरेका छन् ।’ उपत्यकाका अधिकांश सडकमा बत्ती छैनन् । रातको समयमा खाल्डो देखिँदैन । देखिए पनि छल्ने क्रममा दुर्घटनामा पर्ने गरेको पीडितहरू बताउँछन् ।


कोटेश्वर–कलंकी सडकअन्तर्गत सातदोबाटो खण्डमा ड्रेनको ढकनी फुटेको छ । त्यसको पछाडि दुई ठाउँमा सँगसँगै खाल्डो खनिएको छ । एक वर्ष बितिसक्दा पनि यी खाल्डो मर्मत गर्न कसैले पनि चासो नदिएको नजिकै हार्डवेयर पसल गर्ने श्रवण शर्माले बताए । ‘मान्छे खसेर दुर्घटना हुन सक्छ, यस्तो अवस्थामा चासो दिइनुपर्ने हो ।’ दुवै खाल्डा मेलम्ची खानेपानी आयोजनाले बनाएको हो । ‘एक वर्षअघि यो खाल्डोमा मान्छे खसेपछि हामीले झिकेका थियौं,’ शर्माले भने, ‘अहिले दर्जनौं मोटरसाइकल ओहोरदोहोर गर्छन् । कहिले के हुने हो ठेगान छैन ।’ दसैंसम्म खाल्डो छोपिदिने प्रतिबद्धता जनाए पनि ठेकेदारले पूरा नगरेको उनले भनाइ छ । ‘दसैंपछि त्यहाँ कोही कामदार आएका छैनन्, ठेकेदारको पनि अत्तोपत्तो छैन,’ उनले भने, ‘हाम्रो व्यापारमा पनि असर परेको छ । हिँडडुल गर्न पनि गाह्रो छ ।’

शनिबार मात्रै त्यो ठाउँभन्दा केही वर त्रिवि गेटमा केयूकेएलले खुल्लै छोडेको भल्भ च्याम्बरमा खस्दा एक जनाको ज्यान गयो ।


शनिबार मानिसको मृत्यु भएको ल्याबोरेटोरी स्कुल अगाडिको केयूकएलको भल्भ च्याम्बर आइतबार टालिएको छ । ‘सडकमा राखिएको स्ल्याबले अहिले त यस्तो राम्ररी टालिएको छ कि यहाँ हिजोसम्म यस्तो जोखिमयुक्त खाल्डो थियो भन्ने पत्तो हुन्न,’ नगरपालिकाका कर्मचारी रामकृष्ण महर्जनले भने, ‘यही हिजो गरेको भए मान्छेको मृत्यु त हुने थिएन नि ।’ कीर्तिपुर नगरपालिका १० का अध्यक्ष अमन महर्जन आफूहरूले उक्त स्थान छोप्न पटक(पटक ताकेता गरे पनि केयूकेएलले बेवास्ता गरेको आरोप लगाए । ‘उक्त सडक राजमार्गमा पर्ने भएकाले स्थानीय तहले केही गर्न सकेनौं । तर बारम्बार आग्रह गरेका थियौं,’ उनले भने । यता मेलम्ची खानेपानी आयोजनाले बिछ्याएका पाइपमा दबाब परीक्षण गरिरहेकाले ठाउँ–ठाउँमा खाल्डा उप्काइएको जनाएको छ । आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले भने, ‘केशरमहल, चाबहिल चोक, सोह्रखुट्टे ओरालोजस्ता स्थानमा प्रेसर टेस्ट भइरहेकाले मर्मतलगायतका कार्य भइरहेका छन् ।’ उनले ती सबै स्थानमा खाल्डालाई खुला नराखी हरियो जालीले ढाकिएको दाबी गरे ।


त्यसैगरी, ललितपुरको चापागाउँ दोबाटोमा गाडी रोक्ने स्थानसँगै ढल छ । ढलमाथि राखिएका स्ल्याब तीन ठाउँमा फुटेका छन् । मान्छे जहिले पनि त्यसमा खस्न सक्छन् । त्यसको ठीक पछाडि दुई ठाउँमा सँगै खाल्डो खनिएका छन् । यसरी खाल्डो बनाएको एक वर्षभन्दा बढी भइसकेको स्थानीय व्यवसायीको भनाइ छ । एउटामा ढलको पाइप जोडिएको छ भने अर्कोमा खानेपानीको भल्भ छ । पहिले खाल्डोलाई चारैतिरबाट घेरिए पनि अहिले छैन ।


३६ खाल्डा पुरिँदै
डिभिजन सडक कार्यालयले ललितपुरले सडकमा ३६ खाल्डा पुर्ने गरी कालोपत्रे गर्न तीन वटा प्याकेज बनाएर ठेक्का दिइसकेको जनाएको छ । कार्यालयका इन्जिनियर सुजन कँडेलले सडकका खाल्डा पुर्ने काम धमाधाम भइरहेको दाबी गरे । ‘कार्यालयको तालिकाअनुसार काम अगाडि बढिरहेको छ,’ उनले भने । कार्यालयका अनुसार सुगलचोक–भोल ढोका–बालकुमारी, ग्वार्को–मंगलबजार–पुल्चोक, इटी–प्रयागपोखरी–ग्वार्को, पाटनढोका–मंगलबजार, लगनखेल–कृष्ण मन्दिरलगायत १८ सडकको खाल्टा मर्मत गर्ने ठेक्का राज कन्स्ट्रक्सनले पाएको छ । उक्त कम्पनीलाई २०७३ पुस १९ मा ११ लाख ७८ हजार ९ सय रुपैयाँमा ठेक्का दिइएको छ ।

यस्तै, ओम निर्माण सेवाले ठैब–सानोगाउँ, धोबिघाट–पुल्चोक, कुपन्डोल–सानेपा, सानेपा–बल्खुलगायत १३ सडकका लागि ९ लाख ९६ हजार ७ सय रुपैयाँको ठेक्का पाएको छ भने पीएम निर्माण सेवाले गोदावरी–पुल्चोक, चापागाउँ–बज्रबाराही–सन्तानेश्वर–बाँडेगाउँ, टौखेल–बडिखेल–लेले गरी ५ सडकका लागि १८ लाख ९७ हजार ९ सय रुपैयाँमा ठेक्का पाएको छ ।

प्रकाशित : कार्तिक १२, २०७५ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?