रेडपान्डाको छाला तस्करी

ठाकुरसिंह थारू

नेपालगन्ज — कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी जिल्लामा पाइने अति दुर्लभ रेडपान्डा चोरीसिकार गरी छाला तस्करीका लागि नेपालगन्ज ट्रान्जिट पोइन्टका रूपमा प्रयोग भएको पाइएको छ । रेडपान्डाका छाला यहाँबाट सिधै काठमाडौंका लागि तस्करी हुने गरेको हो  ।

रेडपान्डाको छाला तस्करी

दुर्लभ वन्यजन्तुको छाला काठमाडौंबाट चीनसम्म तस्करी हुने गरेको विभिन्न घटनाक्रमले देखाएका छन् ।शनिबार रेडपान्डाका दुईवटा छालासहित मुगु घर भई हाल बाँके, कोहलपुर नगरपालिका २ बस्ने मानबहादुर शाही पक्राउ परे ।

त्यसअघि असोज ११ गते बैजनाथ गाउँपालिका १, गाभरबाट चितुवाका २ छाला र ६ दारासहित कृष्ण बादी र चन्दन नेपाली पक्राउ परेका थिए । भदौ २१ गते रेडपान्डाको छालासहित बाजुरा, कार्तिकस्वामी गाउँपालिका ३ का जोगेन्द्रबहादुर शाहीलाई नेपालगन्जबाट नियन्त्रणमा लिइएको थियो । यसअघि पनि रेडपान्डाका छाला तस्करी घटना सार्वजनिक भएका छन् ।

दुर्लभ वन्यजन्तुको चोरी तस्कर नियन्त्रण गर्न इन्टरपोल, सीबीआई र जिल्लास्थित सुुरक्षा अधिकारीको क्रियाशीलता बढेका बेला तस्कर गिरोह भने सक्रिय छ । काठमाडौं लैजान सहज भएका कारण पनि नेपालगन्जलाई ट्रान्जिट पोइन्टका रूपमा प्रयोग गरिएको जानकार बताउँछन् ।

रेडपान्डाको छाला अमूल्य मानिन्छ । तसर्थ, तस्करले स्थानीयलाई प्रयोग गर्दै यसको तस्करी गरिरहेका छन् । सुरक्षा अधिकारी यसमा अन्तर्राष्ट्रिय गिरोहको हात रहेको बताउँछन् । ‘पछिल्ला केही घटनाले नेपालगन्ज दुर्लभ वन्यजन्तुको छाला तस्करीको ट्रान्जिटका रूपमा प्रयोग गरेको पाइएको छ ।

नेपालगन्जबाट भारत र काठमाडौं जान सहज भएका कारणले पनि यस्तो भएको हुन सक्छ,’ प्रदेश ५ को विशेष ब्युरोका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले भने, ‘नेपालगन्जमा रेडपान्डासहित पक्राउ परेका व्यक्ति हिमाली जिल्लाका छन् ।’ रेडपान्डा पश्चिमको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालिकोट, डोल्पा, दार्चुला, डोटी, बझाङ, अछाम र बाजुरा क्षेत्रमा पाइने गरेको छ । २ हजार मिटरभन्दा बढी उचाइमा पाइने रेडपान्डा संरक्षित वन्यजन्तु हो ।

साइटिसको अनुसूची १ र आईयूसीएनको रातो किताबमा रेडपान्डा अति संकटापन्न सूचीमा सूचीकृत छ । नेपालमा करिब ३ सयदेखि १ हजारसम्म रेडपान्डा रहेको अनुसन्धानहरूले देखाएका छन् । तीमध्ये ४६ प्रतिशत पश्चिम क्षेत्रको पहाडी जिल्लामा पाइन्छन् ।

बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले दुर्लभ वन्यजन्तुुको छाला तस्करीका घटना नियन्त्रण गर्न विशेष पहल सुरु गरेको बताए । उनले प्रदेशको ब्युरोसँग समन्वय गरी तस्करलाई पक्राउ गरिरहेको जनाए । ‘नेपालगन्ज हरेक कुराले ट्रान्जिट पोइन्ट हो । त्यसैले लुक्नछिप्न तस्करहरू यहाँ आउन सक्छन्,’ उनले भने, ‘केही तस्करलाई पक्राउ गर्न सफल भएका छौं ।’

यस क्षेत्रबाट पाटे बाघ र लोपोन्मुख रेडपान्डाको छाला तस्करीमा अन्तर्राष्ट्रिय गिरोहको सक्रियता बढेको प्रहरी अनुमान छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ को दफा २६ बमोजिम ५ वर्षदेखि १५ वर्षसम्म कैद तथा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

दुर्लभ रेडपान्डा नेपालको उच्च पहाडी क्षेत्रमा पाइने वनका अधिकारी बताउँछन् । उच्च पहाडी हिमाली क्षेत्रमा रेडपान्डाको सिकार गरी तस्करीका लागि नेपालगन्ज र कोहलपुरलाई प्रयोग गरिँदै आएको छ ।

लजालु स्वभावको रेडपान्डाले मानिसलाई देख्दा एकोहोरो हेरिरहने र नभाग्ने भएकाले सिकार गर्न सजिलो हुँदा चोरीसिकार बढी हुने गरेको हो ।

प्रकाशित : कार्तिक १२, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?