कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमा नाकामा हेल्थ डेस्क

भारतबाट फर्किएकामा देखियो संक्रमण
मोहन बुढाऐर

धनगढी — सरकारको सन् २०२५ भित्रै औलो निवारण गर्ने लक्ष्यलाई भारतबाट भित्रिने संक्रमणले प्रभावित पार्ने देखिएको छ । स्वास्थ्यकर्मीका अनुसार सीमावर्ती जिल्लामा भारतबाट भित्रिने औलोको प्रकोप फैलिएको हो  ।

सीमा नाकामा हेल्थ डेस्क

जनस्वास्थ्य कार्यालयहरूले भारतसँग सीमा जोडिएको कैलालीलगायत सीमावर्ती जिल्लामा ७० प्रतिशतभन्दा बढी भारतबाटै आएकामा औलो भेटिएको जनाएका छन् । कैलाली जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले गएको साउनदेखि हालसम्म भेटिएका ९५ औलो बिरामीमा ७० जना भारतबाट संक्रमित भई आएको बताए ।

२५ जना मात्रै स्थानीयलाई औलो संक्रमण भएको उनले बताए । उनका अनुसार आव ०७४/७५ मा पनि कैलालीमा औलोबाट प्रभावित ३ सयमध्ये २ सय ५ जना भारतमा काम गरी घर फर्केकामा औलो देखिएको थियो । यसैगरी पछिल्ला वर्षको तथ्यांकमा भारतबाट संक्रमित भई आएका औलोका बिरामीको संख्या बढदै गएको छ ।

‘खुला सीमामा भइरहने आउजाउका कारण भारतबाट भित्रिने औलो नियन्त्रण गर्न गाह्रो छ,’ उनले भने, ‘यसले सरकारको सन् २०२५ सम्ममा औलो निवारण गरी सक्ने लक्ष्यलाई प्रभावित पार्ने चिन्ता बढेको हो ।’ उनका अनुसार सरकारले २०२२ सम्ममा स्थानीय औलो नियन्त्रण गर्ने र २०२५ सम्म भारतबाट भित्रिने संक्रमणमा समेत पूर्ण रोकथाम गरी विश्व स्वास्थ्य संगठनबाट औलो निर्मूल भएको प्रमाणपत्र पाउने लक्ष्य राखेको बताए ।

उनले भारतको सीमावर्ती जिल्लामा फैलिने औलोको संक्रमणको असर यहाँसम्म पर्ने बताए । अहिले फेरि सीमावर्ती बरेली, लखनउ, लखिमपुर खिरी, पलियालगायत क्षेत्रमा औलोको प्रकोप देखिएको छ । औलो नसरोस् भन्दै सीमा नाकामा हेल्थ डेस्क राखेर उच्च सतर्कता अपनाएको उनले जनाए । उनले चाडबाडमा घर फर्कनेहरू बढी हुने भएकाले तिहारसम्म एक महिनाका लागि हेल्थ डेस्क राखिएको बताए ।

कैलालीको मुख्य भन्सार नाका त्रिनगर, भजनी र टीकापुरको खक्रौलामा हेल्थ डेस्क राखिएको छ । उक्त हेल्थ डेस्कबाट भारतका विभिन्न सहरबाट आएका बिरामीको रक्त जाँच गर्ने र मलेरिया पत्ता लगाउने गरेको भट्टले बताए ।

टीकापुरको खक्रौला भन्सार नाकामा एक औलो संक्रमित फेलासमेत उनले बताए । उनका अनुसार टीकापुर ३, शंकरपुर कैलालीका ४८ वर्षीय गणेश बिकलाई सामान्य खालको औलो फेला परेको हो । औलो कडा खालको (फाल्सीफारम) र नरम (पाल्जीफारम भाइरस) दुई खालको हुन्छ । कडा खालको औलोले मान्छेको ज्यानसमेत जान सक्ने जोखिम रहन्छ ।

गत असोज २१ गतेदेखि सीमानाकामा राखेका उक्त हेल्थ डेस्कमा भारतबाट फर्केका ४ सय ८१ जनाको रक्त जाँच भइसकेको छ । त्रिनगर भन्सार नाकामा दैनिक १५/२० जना भारतबाट फर्केका नेपालीको रगतमा औलो जाँचिने हेल्थ डेस्कका दिनेश ठकुल्लाले बताए । उनका अनुसार बिहान ६ देखि बेलुका ६ बजेसम्म रक्त परीक्षण गरिन्छ । ‘किट’मा राखेर बिरामीको रक्तजाँच तुरुन्तै गरिने बताए । औलोको जीवाणु देखिएका बिरामीलाई तुरुन्तै अस्पताल रिफर गर्ने गरेको उनले सुनाए ।

जिल्लामा २०७० देखि औलो नियन्त्रण हुँदै गएको छ तर पनि कैलालीका १३ स्थानीय तहका २६ वडालाई उच्च जोखिम क्षेत्रका रूपमा घोषणा गरिएको छ । औलोको उच्च जोखिम क्षेत्रका वडामा औलोबाट बच्ने उपायका कार्यक्रम लागू गरिएको जिल्ला जनस्वास्थ्य कार्यलयको भनाइ छ । धनगढी, टीकापुर, गोदावरी, भजनी, सुगरखाल र चौमालामा औलो संक्रमितको चाप बढी देखिने गरेको भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित : कार्तिक १२, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?