कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

'निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनलाई अम्बरबहादुरले नाइन एमएमको पेस्तोलबाट गोली हानेका थिए'

जनकराज सापकाेटा

काठमाडौँ — निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीनजना पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले सार्प सुटर कालु भनिने अम्बरबहादुर रानासहित लोप्साङ भनिने सोम तामाङ र रोशन बुढाथोकीलाई घटनाको एक वर्षपछि पक्राउ गरेको हो ।

'निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनलाई अम्बरबहादुरले नाइन एमएमको पेस्तोलबाट गोली हानेका थिए'

प्रहरीले यसअघि नै घटनाका मुख्य योजनाकार समीरमान बस्नेतसहित नौ जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले झापाको काँकडभिट्टाबाट पक्राउ गरेको बताए पनि उनीहरूलाई भारतीय क्षेत्रबाट पक्राउ गरेर ल्याइएको स्रोतको दाबी छ ।


२०७४ असोज २३ मा घरबाट प्राडो गाडी चढेर महासंघको कार्यालय जान निस्केका गौचनमाथि शान्तिनगरको ओम शान्ति चोकमा गोली प्रहार भएको थियो । उनी चढेको गाडीको अगाडिको सिसा इँटा प्रहार गरेर फुटाएपछि गोली हानिएको थियो । लगत्तै मीनभवनस्थित सिभिल अस्पताल पुर्‍याइएका गौचनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।


प्रहरीले पक्राउ परेकाहरू एक दशकदेखि अपराध कर्ममा निरन्तर संलग्न रहेको दाबी गरेको छ । तीमध्ये लोप्साङ भनिने सोम तामाङले २०७३ पुस ४ गते रूपन्देहीको देवदह ७ मा युवासंघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानेका थिए । अम्बरबहादुर राना नेपाली सेनाका भगौडा जवान हुन् । २०७२ मा नेपाली सेनाको इलामस्थित कालीध्वज गणमा कार्यरत उनी सेनाको जागिरबाट भागेका थिए । उनले २०७३ चैत २९ गते काठमाडौंको गौरीघाटमा दावा लामामाथि गोली प्रहार गरेका थिए । समीरका मुख्य सहयोगी लोप्साङले रानालाई प्रयोग गरेर दावामाथि तीन गोली प्रहार गरेका थिए । तर तीनै गोली खुट्टामा लागेका कारण दावा बाँच्न सफल भए ।


समीरले विरोधी सबै सिध्याएर आफ्नो गुन्डाराज साम्राज्य फैलाउने प्रयास गरेको प्रहरीको दाबी छ । गौचन हत्यालगत्तै लोप्साङले भारतीय मोबाइल नम्बरबाट तत्कालीन प्रहरी परिसर काठमाडौंका एसपी छविलाल जोशीलाई फोन गरेर घटनाको जिम्मा लिएका थिए । दुर्गा तिवारी हत्याको घटनामा पनि लोप्साङले उसैगरी भारतीय नम्बरबाट तत्कालीन रूपन्देही प्रहरी प्रमुखलाई फोन गरेर जिम्मा लिएका थिए ।


अपराध महाशाखाका अनुसार गौचन हत्याकाण्डमा समीरको निर्देशनमा लोप्साङले सबै व्यवस्थापनको काम गरेका थिए । पक्राउ परेका रोशनले गौचनको दैनिकी पत्ता लगाउन सुराकीको काम गरेका थिए । अम्बरबहादुरले नाइन एमएमको पेस्तोलबाट गोली हानेका थिए । एक अनुसन्धान अधिकारीका अनुसार गौचनलाई गोली प्रहार गरेलगत्तै उनीहरूको टोली चितवन पुगेर पाँच दिनसम्म लुकेको थियो । त्यहाँबाट टोली झापाको काँकडभिट्टा हुँदै भारत प्रवेश गरेको थियो ।


डाँफे कन्स्ट्रक्सनका प्रमुखसमेत रहेका गौचनले वीरगन्जदेखि विराटनगरसम्म जोड्ने हुलाकी मार्गको ठेक्का पारेपछि त्यसमा समीरमानले आँखा लगाएका थिए । समीरमानले उक्त ठेक्काबापत आउने २० करोड रुपैयाँको दुई प्रतिशत कमिसन मागेका थिए । तर गौचनले त्यसलाई बेवास्ता गर्दै आएपछि समीरमानकै योजनामा उनीमाथि गोली प्रहार भएको थियो ।


सडकलगायत ठेक्कापट्टाका ठूला काममा संलग्न गौचनले आफ्ना केही ठेक्कापट्टामा गुन्डा नाइकेका रूपमा कुख्याति कमाएका कुमार घैंटेलाई पनि साथै लिइरहेका थिए । समीरमानलाई पक्राउ गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्युरोले गौचनको निर्माण कम्पनीमा घैंटेले २ करोड ५० लाख रुपैयाँ लगानी गरेको भेटेको थियो ।


घैंटेले लगानी गरेको रकममा आफ्नोसमेत हिस्सा रहेको दाबी समीरमानले गर्दै आएका थिए । २०७२ भदौ पहिलो साता प्रहरीको गोली लागी घैंटेको मृत्यु भएपछि समीरमानले आफ्नो र घैंटेको रकम फिर्ता मागेका थिए । त्यसपछि गौचन र उनीबीचको विवाद उत्कर्षमा पुगेको थियो ।


यसअघि डीआईजी गणेश केसी नेतृत्वको समूहले गौचन हत्याकाण्डमा संलग्न मुख्य सुटर राजीव स्याङ्तानसहित चार जनालाई कात्तिक २८ गते सार्वजनिक गरेको थियो ।


त्यसलगत्तै केन्द्रीय अनुसन्धान ब्युरोले हत्याको घटनामा सूचना संकलन, वितरण गर्ने र हत्यापछि बन्दुक लुकाउन सहयोग गर्ने वसन्त थेवे र धनराज योङहाङलाई जोरपाटीबाट र भारतबाट समीरमान बस्नेतलाई पक्राउ गरेको थियो । अपराध महाशाखाले अझै पनि उक्त घटनामा संलग्न दुई जना फरार रहेको जनाएको छ । प्रहरीका अनुसार घटनाका बेला रेकी गर्ने काममा संलग्न अजय थापा र हतियारको व्यवस्थापन गर्ने बोका भनिने गंगा लिङदेन फरार छन् । प्रहरीका अनुसार गंगा पनि नेपाली सेनाका भगौडा सिपाही हुन् ।

प्रकाशित : कार्तिक १२, २०७५ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?