कांग्रेसले क्रियाशील सदस्यता हटाउने

पार्टी सदस्य २० लाख पुर्‍याउने लक्ष्य
‘अब पूर्ण मासबेस्ड पार्टी’
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसले आन्तरिक कलहको जड बन्ने गरेको क्रियाशील सदस्यता हटाउने भएको छ  । महामन्त्री पूर्णबहादुर खडका संयोजक रहेको विधान संशोधन समितिमा क्रियाशील सदस्यता हटाई खुला सदस्यता अपनाउने सहमति जुटेको छ  ।

कांग्रेसले क्रियाशील सदस्यता हटाउने

समितिका प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य रमेश लेखकले खुला सदस्यता अपनाउनेमा सहमति जुटेकाले अब कांग्रेस पूर्ण रूपमा ‘मासबेस्ड’ हुने बताए । अहिलेसम्म कांग्रेसमा साधारण र क्रियाशील गरी दुई किसिमको सदस्यता छ । तर, व्यवहारमा साधारण सदस्यता अस्तित्वमा छैन ।

पार्टीको मुख्य सदस्यता क्रियाशील हो । त्यो पनि सबैका लागि खुला छैन । महाधिवेशनको मुखमा सम्बन्धित निकाय र नेताहरूको निगाहमा अगुवा कार्यकर्ताले मात्रै क्रियाशील सदस्यता पाउँछन् । चाहेजति सबैलाई क्रियाशील सदस्यता नदिइने कारणले कांग्रेसलाई ‘मासबेस्ड भन्ने कि क्याडरबेस्ड’ भन्नेमा अन्योल थियो । अर्कोतर्फ यसैले पार्टीभित्र विवाद पनि बढाउँदै लगेको थियो ।

अहिले कांग्रेसमा ४ लाख ७० हजार क्रियाशील सदस्य छन् । १३ औं महाधिवेशनमा १५ जिल्लाबाहेक सबैमा क्रियाशील सदस्यताको विवाद थियो । तीमध्ये ३५ जिल्लामा चर्को विवाद थियो । विवादमा तानिएका करिब २ लाख क्रियाशील सदस्यता ‘पेन्डिङ’ मा छन् । कतिपय जिल्लामा यही विवादले केन्द्रीय महाधिवेशन सम्पन्न भइसक्दा पनि जिल्ला अधिवेशन हुन सकेको थिएन ।

क्रियाशील सदस्यले प्रत्येक गाउँ र नगर कार्यसमितिको पदाधिकारीसहित क्षेत्रीय प्रतिनिधि चयन गर्छन् । क्रियाशील सदस्यबाट चुनिएका क्षेत्रीय प्रतिनिधि जिल्ला र क्षेत्रको अधिवेशनको मतदाता बन्छन् । उनीहरूबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुन्छ ।

‘अब त्यस्तो हुन्न,’ लेखक भन्छन्, ‘अनलाइनबाट समेत सदस्यता लिन सकिने प्रावधान राखिएकाले क्षेत्रीय महाधिवेशन प्रतिनिधि छनोटबाटै अहिले देखिएको विवाद हट्छ ।’ उनका अनुसार महाधिवेशनबाट विधान पारित हुनासाथ यस्तो सदस्यता प्रणाली लागू हुनेछ । अहिले भइरहेका क्रियाशील सदस्यता स्वत: नयाँ प्रणालीमा रूपान्तरण हुनेछन् ।

सदस्यता खुला हुनासाथ करिब २० लाख पार्टी सदस्य हुने अनुमान गरिएको उनले जनाए । अब सबै सदस्यले वडा, गाउँपालिका र नगरमा मत दिएर क्षेत्रीय प्रतिनिधि र नेतृत्व छनोट गर्नेछन् । पार्टी अधिवेशनका लागि गाउँ तहदेखि हुने निर्वाचन प्रणाली भने पुरानै ढंगको हुनेछ । धेरै सदस्य हुने भएकाले क्षेत्रीय प्रतिनिधि र नेतृत्व छनोट प्रक्रिया पहिलेभन्दा यस पटक जटिल हुने अनुमान छ । ‘त्यस्तो नहोस् भनेर व्यवस्थित बनाउने व्यवस्था पनि विधानमै गर्छौं,’ उनले भने ।


‘हामीले कांग्रेसलाई पूर्ण ‘मासबेस्ड’ पार्टी बनाउन खोजेका हौं, नयाँ सदस्यता प्रणाली कार्यान्वयनमा आएपछि यो सम्भव हुन्छ,’ मस्यौदा समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘यसले कार्यकर्ताबीच समान हैसियत बनाउँछ । हिजोको दिनमा क्रियाशील सदस्यता दिने पक्षले एकलौटी गर्ने, त्यसका आधारमा नेतृत्व कब्जाको अभ्यास गर्ने, न्यायोचित ढंगले सदस्यता वितरण नगर्ने प्रचलन थियो, अब अनलाइनबाट समेत सदस्यता लिन सकिने भएकाले त्यस्तो स्थिति रहन्न ।’ उनीसहित युवा नेताहरूले यसअघि केन्द्रीय कार्यसमिति बैठकमा एक सदस्यता प्रणाली अपनाउन माग गरेका थिए ।

नयाँ व्यवस्थाअनुसार १९ वर्ष उमेर पुगेका इच्छुक सबै नागरिकले कांग्रेसको सदस्यता पाउने छन् । सदस्यता लिन महाधिवेशन कुर्नुपर्दैन । सदस्यता लिन वर्षमा एक तहको प्रशिक्षण लिनैपर्ने र पार्टीमा निरन्तर क्रियाशील रहनुपर्ने व्यवस्था राखिएको छ । सदस्यता अब केन्द्रले बाँड्ने छैन । गाउँ र नगर तहमै सदस्यता वितरणको व्यवस्था मिलाउने प्रबन्ध गरिएको छ ।

‘कुनै कानुनले अयोग्य ठहर्‍याएको बाहेक सबैले सदस्यता पाउने छन्, नपाएको गुनासो आए वा विवाद भए त्यसको उजुरी जिल्ला, प्रदेश र केन्द्रले सुनेर निर्णय गर्नेछ,’ लेखकले भने ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आकार १ सय २१ सदस्यीय बनाउने तयारी भएको छ । त्यसको चालीस प्रतिशत समावेशी प्रतिनिधित्वबाट छनोट व्यवस्था छ । संविधानले तोकेको समावेशी समानुपातिक प्रतिनिधित्वको सिद्धान्तअनुसार कांग्रेसले पार्टीका ८ वटै निकायलाई रूपान्तरण गर्ने तयारी गरेको छ ।

जसअनुसार महिलाको सहभागिता न्यूनतम एक तिहाइ हुनेछ । विधान मस्यौदा समिति पदाधिकारी नबढाउने निष्कर्षमा पुगेको छ । तर, यसलाई सभापति शेरबहादुर देउवासहित पार्टीका शीर्ष तहका नेतासँग छलफल गरी अन्तिम टुंगो लगाइने भएको छ ।

प्रकाशित : कार्तिक १३, २०७५ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?