मुलुक साढे २५ अर्ब घाटामा

यज्ञ बञ्जाडे

काठमाडौँ — चालु आर्थिक वर्षको दोस्रो महिनामा पनि मुलुक करिब साढे २५ अर्ब रुपैयाँले घाटामा छ । मुलुकबाट बाहिरिने र भित्रिने रकमबीचको अन्तर देखाउने शोधनान्तर (भुक्तानी सन्तुलन) गत भदौमा पनि २५ अर्ब ४५ करोड रुपैयाँले घाटामा गएको हो । तीब्र गतिमा आयात बढ्दै गएको र मुलुकको बाह्य क्षेत्र अपेक्षित रुपमा सुधार नहुँदा मुलुकको भुक्तानी सन्तुलन ऋणात्मक बनेको हो । 

मुलुक साढे २५ अर्ब घाटामा

शोधनान्तरले मुलुक भित्रने र बाहिरिने रकमबीचको अवस्था (सम्बन्ध) देखाउँछ । बाहिरिने भन्दा भित्रिने रकम बढी भएमा शोधनान्तर बचतमा हुन्छ । तर, भित्रने भन्दा बाहिरिने रकम बढी भएमा शोधनान्तर स्थिति घाटामा हुन्छ । शोधनान्तर घाटामा रहँदा खासगरी, विदेशी लगानी निरुत्साहित हुनुका साथै स्वदेशी मुद्राप्रतिको विश्वास घटछ । उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले मुलुकको परनिर्भरता बढ्छ र विदेशी विनिमय सञ्चितिमा ह्रास आउँछ ।

विगतका तुलनामा पछिल्ला महिनामा देखिएको शोधनान्तर घाटा डरलाग्दो भएको र यसले समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने अर्थविदहरुले बताएका छन् ।

गत असारको तुलनामा मूल्य वृद्धिदरमा केही सुधार भएको छ । असारमा ४.२ प्रतिशत रहेको वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर भदौमा ३.९ प्रतिशत छ ।


अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ३.४ प्रतिशत रहेको थियो । गैर–खाद्य तथा सेवा समुहको मूल्य वृद्धिका कारण उक्त अवधिमा समग्र मूल्यवृद्धिदर केही दबाब सिर्जना भएको राष्ट्र बैंकले जनाएको छ ।


गत भदौमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर १.४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यो १.८ प्रतिशत थियो । खासगरी दालहन तथा गेडागुडी, तरकारी एवम् चिनीजन्य वस्तुको मूल्यमा आएको गिरावटका कारण समीक्षा अवधिमा समग्र खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिदर अघिल्लो वर्षको भन्दा कम भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : कार्तिक १३, २०७५ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?