१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पोखरामा डेंगु : एकै दिन २२ नयाँ बिरामी

ज्वरो आउने, टाउको, पेट, आँखाको गेडी, जोर्नी, जीउ दुख्ने प्रारम्भिक लक्षण
लालप्रसाद शर्मा

पोखरा — लामखुट्टेबाट सर्ने डेंगु रोगको पोखरामा प्रकोप फैलिएको छ । मंगलबारमात्रै २२ नयाँ बिरामी फेला परेसँगै बिरामीको संख्या ६९ पुगेको छ ।

पोखरामा डेंगु : एकै दिन २२ नयाँ बिरामी

जनस्वास्थ्य कार्यालय कास्कीका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालका अनुसार मंगलबार फेवासिटी अस्पतालमा उपचार गराइरहेका १२, गण्डकी मेडिकल कलेजमा ६ र चरक मेमोरियलमा ४ नयाँ बिरामी भेटिएका हुन् । सुरुमा पोखरा महानगरको ८ नम्बर वडामा मात्र देखिएको डेंगु अहिले चाउथे, छोरेपाटन, नयाँबजार र मालेपाटनलगायत क्षेत्रमा फैलिएको छ ।

बिरामीमध्ये ६० प्रतिशत बढी वडा ८ कै छन् । ‘चिकित्सकीय भाषामा यो महामारी नै हो,’ बरालले भने, ‘तर हामीले भनेर मात्र हुँदैन । महानगरले भन्नुपर्छ ।×’ सर्वसाधारण सचेत नहुँदा बिरामी बढेको भन्दै उनले लामखुट्टेको लार्भा खोजेर नष्ट गर्नुपर्नेमा जोड दिए ।

महानगरमा डेंगुका बिरामी फेला पर्न थालेको पहिलोपटक यही कात्तिक ६ मा मात्रै सार्वजनिक भएको थियो । त्यसलगत्तै महानगरपालिकाको स्वास्थ्य महाशाखा र जनस्वास्थ्य कार्यालयले ८ का वडाध्यक्ष रुद्रप्रसाद बरालको नेतृत्वमा सचेतनामूलक कार्यक्रम गरिएको थियो । कात्तिक ८ र ९ मा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान चलाइएको पनि थियो । लगातार रूपमा सरोकारवालाका लागि अभिमुखीकरण कार्यक्रम भइरहेको छ भने सञ्चारका माध्यमबाट पनि सतर्कताका सूचना प्रचारप्रसार गरिएको छ ।

डेंगुका बिरामी भेटिएपछि अहिलेसम्म पोखराका १ देखि १९ सम्म र २२ वडामा अभिमुखीकरण गरिएको महानगरपालिकाले जनाएको छ । टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका, आमा समूह, जनप्रतिनिधिलाई अभिमुखीकरण गरिएको हो । साबिकको लेखनाथ नगर क्षेत्रमा भने अहिलेसम्म डेंगु भेटिएको छैन । बाक्लो बस्ती भएकै ठाउँमा यो फैलिएको छ ।

अभिमुखीकरणमा रोगको परिचय, लक्षण, बच्ने उपाय, लामखुट्टेको लार्भा घरघरमा गएर खोजेर नष्ट गर्न सिकाउने गरिएको महाशाखाका अधिकृत राजुरमण न्यौपानेले बताए । फेवासिटी, गण्डकी मेडिकल कलेज, क्षेत्रीय अस्पताल, चरक मेमोरियल, सामुदायिक अस्पताल र पार्कल्यान्ड अस्पतालमा बिरामीको उपचार भइरहेको छ ।

लामखुट्टे बढ्न नदिने, घर वरपर पानी जम्न नदिने (बासी पानी नराख्ने), उक्त लामखुट्टेले दिउँसो मात्र टोक्ने भएकाले शरीर पूरै ढाकेर कपडा लगाउने र लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा जान स्वास्थ्यकर्मीले सर्वसाधारणसँग आग्रह गरेका छन् । बिरामीमा पर्वत, बागलुङ र स्याङ्जाका एक–एक र २ जना तनहुँका छन् । पोखरा ५, १५ र २५ वडाका पनि केही छन् । यतिबेला सबै बिरामीको विवरण संकलन थालिएको छ । संकलनका क्रममा पहिलोपटक असोज ६ मा गण्डकी मेडिकल कलेजमा डेंगुको बिरामी उपचारका लागि भर्ना भएको पत्ता लागेको न्यौपानेले बताए ।

अहिलेसम्मका बिरामीको विश्लेषण गर्दा ११ जनामा असोजमा र बाँकी सबै दसैंपछि कात्तिकमा बिरामी परेका छन् । दसैंमा पानीको जोहो गरेको, कतिपयले पानी त्यत्तिकै छाडेर गाउँ गएकाले पानी जमेर लामखुट्टे वृद्धि भएको अनुमान गरिएको छ । चेतनामूलक कार्यक्रम भइरहेको, चिसो बढेकाले अब बिरामी घट्ने विश्वास रहेको महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले बताए ।

अहिलेसम्म औषधि नभएको डेंगु ज्वरो एडिज जातको लामखुट्टेले सार्छ । अघिल्ला २/३ वर्षमा १/२ डेंगुका बिरामी भेटिएका थिए । तर यति ठूलो संख्यामा पहिलोपटक बिरामी भेटिएकाले महामारी नै भन्नुपर्ने बराल बताउँछन् । उनका अनुसार एडिज लामखुट्टेका लार्भा एक सातामा लामखुट्टे बनेर थप फैलन्छन् । लामखुट्टेको टोकाइले सर्ने सरुवा रोग डेंगु नेपालका विशेष गरी तराईका जिल्लामा बढी हुन्छ । पोखरा पर्यटकीय सहर रहेकाले देश विदेशबाट पर्यटक आउने, तराईलगायत भारतको नयाँ दिल्लीबाटसमेत सिधा बस सेवा रहेकाले त्यसमार्फत लामखुट्टे पनि भित्रिने गरेका छन् । प्रयोगपछि फालिएका वा राखिएका टायर, गमला, सिसा, अन्य भाँडाकुँडा, एयरकुलर, टिनका बट्टा, पानी टयांकी वा ड्रम, प्लास्टिकका चिया खाने कपमा रहेको पानीमा लामखुट्टे हुर्कन्छन् । त्यसैले त्यस्ता सामान नष्ट गर्न वा पानी जम्न नदिन स्वास्थ्कर्मीहरूले अनुरोध गरेका छन् । एकपटक संक्रमित लामखुट्टेको सबै अण्डा संक्रमित हुने र त्यसबाट उत्पादन हुने सबै लामखुट्टे स्वत: संक्रमित भई रोग सार्ने भएकाले एकैपटक धेरै बिरामी पर्ने सम्भावना बढी रहन्छ ।

शरीरमा सेता र काला धर्काहरू हुने एडिसज एजिप्टाई र एडिस एलबोपिक्टर्स नामको लामखुट्टेले टोकेपछि डेंगु सर्छ । अत्यधिक ज्वरो आउने, टाउको, पेट, आँखाको गेडी, जोर्नी, जीउ दुख्ने, वाकवाकी लाग्ने, शरीरमा रातो बिमिरा देखा पर्ने डेंगुका लक्षण हुन् । कसैकसैलाई रक्तस्राव पनि हुने गर्छ ।

प्रकाशित : कार्तिक १४, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?