कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हरफरउली

पवन यादव

सिमरा — स्थानीय भाषामा बिरहनी गीत गाउँदै किसानको समूह बुधबार बाराको जितपुर सिमरा उपमहानगरपालिका–१८, बडहर्वा चोकस्थित साना किसान कृषि सहकारी संस्थाको मूलढोकामा जम्मा भयो ।

हरफरउली

पर्वत उपर जरत अगिनिया
लकाने गेला इजोत हे
सेहे इजोत देखी बछवा हरकले
लागी गेल हरवा के नोख हे...


बाहिर गीत गुन्जिएको सुनेपछि भर्खर कार्यालयमा जम्मा भएका कर्मचारी बाहिर निस्किए । हलो, कोदालो, डोरीसहित आएका किसानले उनीहरूलाई ढोकैमा च्याप्प समाते र एकै ठाउँमा बाँधिदिए ।

किसानले बिनाकारण बाँधेपछि मुख्य प्रबन्धक पुष्पराज खतिवडासहित कर्मचारी अलमलमा परे । कोही रिसाए । कसैले थर्काए । तर, किसान समूह टसको मस भएन । ‘चुप लागेर बस्नुस्, हामी तपाईंहरूलाई यसै छाड्दैनौं,’ समूहको नेतृत्व गरेकी जितपुर सिमरा उपमहानगरपालिका–१७, जैतापुरकी ५३ वर्षीया सुमित्रादेवी चौधरीले भनिन्, ‘हामीलाई दक्षिणा चाहिन्छ ।’ किसानले पाँच हजार रुपैयाँ मागे । केही बेर गलफत्ती चल्यो । कर्मचारीको रिसको पारो चढ्दै गएपछि चौधरीले आफ्नो परम्परा र बाँध्नुको उद्देश्य प्रस्ट्याइन् । अनि सुरु भयो मोलतोल । अन्तिममा एक हजार पाँच सय रुपैयाँमा सहमति जुट्यो ।

किसानले डोरी खोले । मुख्य प्रबन्धक खतिवडाले सहमतिबमोजिम रकम किसानलाई दिए ।

मध्य तराईमा धानको बीउ राख्ने र रोपाइँ गर्ने बेला खेतधनी परिवार (साहु) लाई डोरीले बाँधेर दक्षिणा उठाउने परम्परा छ । त्यसलाई हरफरउली भनिन्छ । आफूहरूले त्यही परम्परालाई निरन्तरता दिएको चौधरीले बताइन् । ‘हामी वर्षाैंदेखि यो परम्परा मान्दै आएका छौं,’ जितपुर सिमरा–१८, मनहर्वाकी विद्यादेवी पटेलले भनिन्, ‘पुर्खादेखि चल्दै आएको हो ।’ दक्षिणाबापत उठेको रकममध्ये केहीले इन्द्रको पूजाका लागि प्रसाद खरिद गरिन्छ । केही रकम किसानलाई बाँडचुँड गरिन्छ । बाँकीले भोजभतेर र नाचगान गर्ने गरेको जितपुर सिमरा–१८, मनहर्वाकी पटेलले बताइन् ।

किसानले बीउ राख्ने र रोपाइँ गर्ने बेला यस्तो परम्परा मनाउँदै आए पनि धान काट्ने बेला मनाएको धेरैलाई थाहा थिएन । मुख्य प्रबन्धक खतिवडाले यो परम्पराबारे पहिलो पटक थाहा पाएको बताए ।

साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष नयनकला खडकाले १६ हप्ते आईपीएम तालिममा सहभागी कृषकलाई प्रमाणपत्र वितरण गर्न समापन कार्यक्रममा सहभागी हुन आएका किसानले एक्कासि बाँधेपछि ‘हरफरउली’ परम्पराबारे जानकारी पाएको बताइन् । ‘हाम्रो परम्पराबारे हामीलाई नै थाहा थिएन,’ १५ वर्षदेखि संस्थामा कार्यरत सहायक प्रबन्धक श्रीलाल यादवले भने ।

प्रकाशित : कार्तिक १५, २०७५ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?