१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

‘खास नेपाल बल्ल देखें’

विश्वको ध्यान यस क्षेत्रतिर तान्न प्रचारप्रसार र पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्छ
वसन्तप्रताप सिंह

बझाङ — संसारभर ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ मात्र छ । तीमध्ये आठ हिमाशिखर नेपालमै छन् ।

‘खास नेपाल बल्ल देखें’

८ हजार मिटरभन्दा माथिका सबै हिमाल चढिसकेकी प्रथम महिला स्पेनकी एडुुर्ने पासावन । उनी हिमाल आरोहणका क्रममा नेपालमा २८ पटक आइसकेकी छन् ।

आरोहणको बहाना बनाएर कुनै सामाजिक काम गर्न रुचाउने पासावन जब साइपाल हिमाल आरोहणका क्रममा पहिलोपटक सुदूरपश्चिम पुगिन्, अनि साँच्चिकै प्रफुल्लित भइन् ।

यहाँ नआएको भए वास्तविक नेपाल देख्न नपाउने बताउँदै उनले भनिन्, ‘खास नेपाल बल्ल देखेँ ।’ सुदूरपश्चिमको पहिचानसँग जोडिएका छाउपडी प्रथा, छुवाछूत, अभाव, गरिबी र विकटताका कथा पढेर सुदूरपश्चिमप्रतिको धारणा बनाएकी उनले त्यहाँ पुग्दा सम्भावना नै सम्भावना देखेको उनले बताइन् ।

‘नेपालमा अन्त कतै नभएको प्राकृतिक सुन्दरता यहाँ भेटेँ,’ उनले भनिन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा यहाँका बासिन्दाले अहिलेसम्म नेपालीपन जोगाएर राखेको भेटेँ । खेतीपाती लगाउने परम्परागत तरिका, लवाइखवाइ, स्वार्थबिनाको आत्मीयताले मलाई यो क्षेत्र खास नेपालजस्तो लाग्यो ।’ उनले कान्तिपुरसँगको कुराकानीमा मौलिकतालाई जोगाइराख्न सके भविष्यमा यही कुरा सम्पत्तिमा रूपान्तरण हुन सक्ने सुनाइन् ।

‘अहिलेका पर्यटक नयाँनयाँ गन्तव्य खोजिरहेका छन् । नेपाल आउनेहरू यहाँको ठाउँमात्र होइन, मौलिक परिवेश पनि हेर्न रुचाउँछन् त्यो सबै कुराको प्याकेज सुदूरपश्चिममा भेटिन्छ,’ उनले सम्भावनाको खानी भएर पनि पर्यटन विकास हुन नसकेकामा अचम्म मान्दै भनिन्, ‘सुदूरपश्चिम बास्तवमा लुकेको स्वर्ग हो । यो क्षेत्रमा पाइला टेक्न पाएकामा गौरवान्वित ठानेकी छु ।’ नेपाल सरकारले विश्वको ध्यान यस क्षेत्रतिर तान्न प्रचारप्रसार र पूर्वाधार विकासमा जोड दिनुपर्ने उनको सुझाव छ ।

साइपाल हिमाल आरोहण गर्ने टोलीको नेतृत्व गरिरहेका आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटै हिमाल चढेर विश्व रेकर्ड राखेका स्पेनिस नागरिक डा. जर्ज इगोचेएगाले पनि सुदूरपश्चिमको भ्रमणपछि नेपाल यात्रा पूर्ण भएको बताए । सन् १९८९ मा पहिलोपटक नेपाल आएका उनी त्यसयता ३३ पटकभन्दा बढी आइसकेका छन् । पहिलोपटक सुदूरपश्चिम आएका उनको यसअघि यस क्षेत्रप्रतिको धारणा बेग्लै थियो रे । ‘मिडियामा हेर्दा यहाँ अभाव, गरिबी र विकटतामात्र छ भन्ने भान हुन्थ्यो,’ उनले भने, ‘यहाँको भौगोलिक सुन्दरता विश्वजगत्लाई लठ्याउने छ । यस्तो कुरा ओझेलमा परेको रहेछ ।’ उनले यहाँबाट फर्केर विश्वलाई एकपटक सुदूरपश्चिम घुम्न आहान गर्ने बताए ।

उनी हिमाल आरोहीमात्र नभएर बालरोग विशेषज्ञसमेत हुन् । हरेक पटक नेपाल आउँदा उनी सँगै स्वास्थ्यकर्मीको टोली र औषधि पनि आउँछ । र, दुर्गमका बस्तीमा स्वास्थ्य शिविर चलाउँछन् । उनले मकालु क्षेत्रमा अस्पतालसमेत स्थापना गरिदिएका छन् । आफूसँगै हिमाल आरोहण गर्ने क्रममा मकालु हिमालमा जीवनसंगिनी गुमाएका उनले बाँकी नेपालमा देखिने र भेटिनेभन्दा थुप्रै नयाँ कुरा सुदूरपश्चिममा भेटेको बताए । बझाङको साइपाल हिमालको प्रशंसा गर्दै उनले भने, ‘हिमाल मेरो नशा हो । म विश्वका धेरै हिमालको समीपमा गएको छु । तर साइपालको सुन्दरताले लट्ठ पार्‍यो ।’

उनले साइपाल हिमाल आसपासका ६ हजार मिटरभन्दा होचा थुप्रै रहेको र सबैले ती हिमालको सजिलै आरोहण गर्न सकिने भएकाले यो क्षेत्रलाई आरोहीमात्र नभएर पदयात्रीहरूको गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना देखाए ।

प्रकाशित : कार्तिक १५, २०७५ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?