२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चिकित्सा शिक्षा विधेयकको छलफलमा मन्त्री उपस्थित, सांसदहरु नै अनुपस्थित

सुदीप कैनी

काठमाडौँ — संसद्को शिक्षा तथा स्वास्थ्य समिति अन्तरगत चिकित्सा शिक्षा विधेयक माथि छलफल गर्न बनेको उपसमिति बैठकमा सांसदहरु नै अनुपस्थित भएका छन् ।

चिकित्सा शिक्षा विधेयकको छलफलमा मन्त्री उपस्थित, सांसदहरु नै अनुपस्थित

बिहीबार बिहान सवा १० बजे बोलाइएको बैठकमा सांसदहरु नआएपछि आगामी मंसिर २ गते सम्मलाई स्थगित गरिएको छ । बैठकमा छलफलका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेल भने उपस्थित थिए । उनी झण्डै एक घण्टा सिंहदरबारस्थित समितिको कार्यालयमा सांसदहरुलाई कुरेर मन्त्रालय फर्केका हुन् । विधेयक माथि छलफल गर्न मन्त्रीलाई डाकेर सांसद्हरु नै नआएका हुन् । बैठकमा सहभागी हुन उपसमितिका सदस्य सांसदहरु खगराज अधिकारी र एकवाल मियाँमात्र समितिको कार्यालय आएका थिए ।

सांसदहरु अञ्जना विंशेखे, भैरवबहादुर सिंह, योगेशकुमार भट्टराई, सन्तकुमार थारु, हितबहादुर तामाङ, उमाकान्त चौधरी, गगनकुमार थापा र चित्रलेखा यादव बैठकमा आएनन् । उनीहरुलाई बैठकमा आउन बुधबार नै समितिको कार्यालयले खबर गरेको थियो ।

चिकित्सा शिक्षा विधेयक माथि छलफल गरि प्रतिवेदन तयार पार्न समितिले ११ सदस्यीय समिति गठन गरेको छ । उपसमितिका ५ जना सदस्य बुधबारकै बैठकमा उपस्थित थिए । उनीहरुकै सल्लाहअनुसार बिहीबार बिहानलाई बैठक डाँकिएको थियो । तर उनीहरु नै अनुपस्थिति भए ।


प्रतिवेदन तयार पारेर विधेयक मंसिर २ गतेसम्म संसद्मा दर्ता गर्ने समितिले कार्यतालिका तय गरेको थियो । उपसमितिको बैठकमा सांसदहरु नै अनुपस्थित भएपछि छलफल र प्रतिवेदन तयार गर्ने काम अनिश्चित हुन पुगेको छ ।

चिकित्सा सेवा र शिक्षा सुधारको माग गर्दै आन्दोलनरत अभियान्ता डा. गोविन्द केसीले विधेयक संसद्बाट पास गर्न ढिलाइ भए पुन: अनसन बस्ने चेतावनी दिदैं आएका छन् । सांसदहरुले विधेयक पास गर्न ढिलाइ गर्न नहुने भन्दै समितिबाट चाँडो टुङ्गो लगाउन सुझाव दिएका थिए । समितिको बैठक पनि मंसिर २ गतेलाई नै बोलाइएको छ ।

प्रकाशित : कार्तिक १५, २०७५ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?