तपोवनलाई दिइएको ३७ राेपनी वन क्षेत्र फिर्ता 

अब्दुल्लाह मियाँ

काठमाडौँ — शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जले ओशो तपोवनलाई धार्मिक वनका रुपमा प्रयोग गर्न दिएकाे ३७ रोपनी वन क्षेत्र बिहीबार फिर्ता लिएको छ । सरकारले २०६२ सालमा ओशो तपोवनलाई नागार्जुनको ३७ रोपनी वन क्षेत्र धार्मिक वनका रुपमा हस्तान्तरण गरेको थियो । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) कमलजंग कुवँरले ओशो तपोवनले धार्मिक वनमा मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ विपरित गतिविधि गरेको पाइएपछि फिर्ता गरिएको पत्र बिहीबार ओशो तपोवनलाई बुझाइएको जनकारी दिए। उक्त पत्र तपोवन व्यवस्थापकले बुझेको हो।

तपोवनले मध्यवर्ती धार्मिक वनमा वातावरणमा प्रतिकुल असर पर्ने सडक, पुल र भवन निर्माण गरी वन क्षेत्रलाई अन्य प्रयोजनमा लगेर वन विनाश तथा रुख कटानबाट जलाधार क्षेत्रमा भूक्षय गर्नसक्ने कार्य गरेको र कानुनको प्रावधान विपरित कार्य गरेको पाइएकाले वन फिर्ता लिइएको पत्रमा उल्लेख भएको कुवँरले बताए।

धार्मिक वनका रुपमा दिइएको वन क्षेत्रमा परापूर्वकालदेखि रहेको कुनै धार्मिक स्थल वा त्यस वरिपरिको वन क्षेत्र नभएको र ओशो तपोवन कुनै धार्मिक निकाय, समूह वा समुदाय नभई एक गैरसरकारी संस्था रहेकाले नियमावलीको नियम २२ (४) मा भएको व्यवस्था अनुसार फिर्ता लिइएको हो। तपोवनले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएकोसमेत उनले बताए।

फिर्ता लिइएको बोधार्थ डिभिजन सडक कार्यालय टेकुलाईसमेत दिइएको छ। फिर्ता लिइएको वन क्षेत्र मुड्खु सृजनशील महिला सामुदायिक वनमा गाभ्ने प्रक्रिया अघि बढाउन निकुञ्जको नागार्जुन सेक्टर कार्यालयलाई बोधार्थ दिइएको छ।

नियमावलीको दफा (२२) को उपनियम (३) मा ‘वातावरणमा प्रतिकुल असर पर्ने गरी वा सार्वजनिक रुपमा हानीनोक्सानी हुने गरी जलाधार क्षेत्रमा भू–क्षय हुने गरी रुख कटान’ गर्न नपाइने व्यवस्था भए पनि ओशो तपोवनले आफूखुसी सडक, पुल र अन्य भौतिक संरचना बनाएर व्यापार सञ्चालन गरेको थियो।
नियमावलीको दफा २२ (४) को उपनियम (२) मा मध्यवर्ती धार्मिक वनमा सम्वन्धित धार्मिक निकाय, समूह वा समुदायले मध्यवर्ती धार्मिक वनमा गर्नुपर्ने कार्य सञ्चालन गर्न नसकेमा संरक्षकले त्यस्तो धार्मिक वनसंरक्षकले फिर्ता लिन सक्ने व्यवस्था छ। निकुञ्ज प्रमुख संरक्षक हुन्।

प्रकाशित : कार्तिक १५, २०७५ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्

यसरी हुँदैछ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे काम

शब्द/तस्बिर : लालप्रसाद शर्मा

पोखरा — राष्ट्रिय गौरवको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतिबेला टर्मिनल भवनको जग हाल्ने, रनवे सम्याउने, ट्याक्सी वे, एप्रोन, नाला निर्माणको काम धमाधम भइरहेको छ । विमानस्थलको १७ प्रतिशत भौतिक प्रगति र १२ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख विनेश मुनाकर्मीले समग्र आयोजनाको काम १७ प्रतिशत र २ अर्ब भन्दा बढी अर्थात् करिब १२ प्रतिशत बित्तिय प्रगति भएको जनाए । अनुगमनमा आएको प्रतिनिधिसभा अन्तराष्ट्रिय सम्बन्ध समिति र पर्यटन तथा नागरिक उड्ययन अध्ययन अनुगमन उपसमितिका संयोजक माधवकुमार नेपाल नेतृत्वको टोलीसमक्ष उनले आयोजनाको अवस्था जानकारी गराएका थिए ।

५० बढी उपकरण २ सय कामदारले दैनिकरुपमा विमानस्थलमा काम गरिरहेको निर्माण कम्पनीका जनसम्पर्क अधिकृत कृष्ण चापागाईले बताए । आयोजनाको डिजाईन तयार भएको र यही महिनाभित्र नागरिक उड्ययन प्राधिकरणले स्वीकृति जनाउने विश्वास निर्माण कम्पनीको छ ।

सन् २०१९ भित्र रनवे निर्माण सक्नेगरी काम भइरहको छ । १४ हजार बर्गमिटरको टर्मिनल भवन २०२० को जुलाईसम्ममा निर्माण सकिनेछ । जमीन खन्ने क्रममा कडा चट्टान भेटिएपछि अपेक्षा अनुसार भौतिक प्रगतिको काम हुन नसकेको मुनाकर्मीले टोलीसमक्ष जनाएका थिए । साथै विष्फोटक पदार्थ अभावले पनि काममा केही ढिलाई हुन पुगेको छ ।

जग्गा अधिग्रहण गर्दा अहिलेसम्म मुआब्जामात्रै ३ अर्ब सकिएको छ । विमानस्थल आसपासको सडकका लागि ५० करोड खर्च भइसकेको छ । चिनियाँ निर्माण कम्पनी सिएएमसी इन्जिनियरिङले तालिका अनुसारनै काम गरिरहेको छ ।

विमानस्थल अनुगमनपछि समितिका सभापति नेपालले तोकिएको मिति अर्थात आगामी २०२१ जुलाईमा निर्माण सम्पन्न गर्नुपर्ने बताए । विमानस्थलमा १९२ देखि २ सयसम्म यात्रु बोक्ने मझौला खालका जहाज अवतरण र उडान हुनेछन् ।

पोखराबाट बेइजिङ, अजरबैजान, सिंगापुर र दोहासम्म सिधा उडान हुनेछ । विमानस्थलसँगै भन्सार, क्वारेन्टाइनजस्ता आवश्यक १५ वटा संरचनाको डिजाइन र निर्माणको काम पनि अघि बढेको छ ।

चीनको एक्जिम बैंकको करिब २२ अर्ब ऋण सहयोगमा २०७४ साउन १८ मा विमानस्थल निर्माणको काम सुरु भएको हो । १० जुलाई २०२१ भित्र निर्माण सकिएर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा छ । इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्ड अनुसार ‘४डी’ विमानस्थल बन्न लागेको हो ।

विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाइको हुनेछ । अन्तर्राष्ट्रिय, राष्ट्रिय टर्मिनल भवन, ४ वटा बोर्डिङ कक्ष, ट्याक्सी वेलगायत पूर्वाधार पनि बन्नेछन् ।


प्रकाशित : कार्तिक १५, २०७५ १४:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्