कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निर्मला हत्या प्रकरण: न्याय माग्नमै बित्यो सय दिन

अनुसन्धान अझै शून्यमा
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पुगेको छ  ।

निर्मला हत्या प्रकरण: न्याय माग्नमै बित्यो सय दिन

घटना भएदेखि न्यायका लागि सुरु भएको आन्दोलन आजसम्म रोकिएको छैन  । पीडित परिवार र स्थानीय महिलाको सय दिन न्याय माग्नमै बितेको छ ।


घटनाको सय दिन पुग्दा पनि निर्मलाका आमाबुवा न्यायको खोजीमा स्थानीय प्रशासनदेखि प्रदेश र संघीय सरकार प्रमुखसमक्ष अनुनयविनय गरिरहेका छन् । तर न त निर्मलाको वास्तविक अपराधी पत्ता लाग्यो न प्रहरीको अनुसन्धानमा ठोस प्रगति भयो । पीडित परिवारले अब न्याय पाउने आस मारिसकेका छन् ।


‘सय दिन त न्याय माग्नमै बित्यो, घरपरिवार र अन्य काम सबै छुट्यो,’ बुवा यज्ञराजले भने, ‘अब न्याय पाउने आस पनि मर्दै गयो, जहाँबाट र जसरी अनुसन्धान हुनुपथ्र्याे त्यो हुन सकेन ।’ प्रहरीले सही तरिकाले अनुसन्धान गरेको भए साताभित्रै अपराधी पत्ता लाग्ने उनको बुझाइ छ ।


साउन १० गते भीमदत्त नगरपालिका १८ भगतपुरमा साथीको घर गएकी निर्मला दोस्रो दिन भीमदत्त नपा २ र १८ को सीमास्थित उखुबारीमा मृत भेटिएकी थिइन् । सोही दिनदेखि अपराधी पत्ता लगाउन माग गर्दै आन्दोलन सुरु भएको हो । ‘न्याय माग्दै हामी सीडीओदेखि प्रधानमन्त्रीसम्म पुग्यौं,’ यज्ञराजले भने, ‘सबैले अपराधी कुनै हालतमा जोगिँदैन भन्छन्, तर अहिलेसम्म को हो थाहा पत्तो छैन ।’


निर्मला घटनाकै अघिपछि भएका बलात्कारपछि हत्याका घटनाको दोषी पत्ता लागेर कारबाही भोगिरहेका छन् । कञ्चनपुर कृष्णपुरकी कविता विष्ट, कैलालीकी माया विक घटनाका दोषी तत्कालै पत्ता लागेका थिए । निर्मला घटनापछि पोखरामा भएको यस्तै प्रकृतिमा पनि दोषी पत्ता लागिसकेका छन् । ‘सबैतिर दोषी पत्ता लागेकै छन्, तर हाम्री छोरीका अपराधी किन गुमनाम ?’ यज्ञराजले भने, ‘अनुसन्धानका नाममा दिनैपिच्छे फरकफरक व्यक्ति र प्रहरी टोली आउँछन् तर दोषी पत्ता लाग्ने छाँट देखिँदैन ।’


यसैको अनुसन्धानका नाममा आधा दर्जनभन्दा बढी टोली गठन भए । अनुसन्धानमा भएको लापरबाहीकै लागि पनि गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति र प्रहरी प्रधान कार्यालयले समेत समिति गठन गरेको थियो । राष्ट्रिय मानव अधिकार आयोग टोलीले पनि अनुसन्धानमा भएको लापरबाहीको छुट्टै छानबिन गरेर सरकारलाई निर्देशन दिइसकेको छ ।


निर्मलाका आमाबुवाले न्याय माग्नकै लागि मुख्यमन्त्रीलाई दुईपटक भेटे । स्थानीयस्तरमा प्रजिअ र एसपीलगायतको टोलीलाई कति पटक भेटे कुनै लेखाजोखा छैन । यसैगरी न्यायकै लागि एक सातासम्म काठमाडाैं बसेर प्रधानमन्त्री, गृहमन्त्रीसँगै राष्ट्रिय मानव अधिकार आयोग टोलीलाईसमेत भेटेका छन् । ‘सबैलाई भेटेर न्याय चाहियो भन्ने कुरा राखिसकेका छौं,’ निर्मलाकी आमा दुर्गादेवीले भनिन्, ‘तर न्याय पाउने छाँट छैन ।’ उनलाई प्रहरीले छोरी बेपत्ता भएको ठाउँदेखि अझै अनुसन्धान नगरेकाले अपराधी जोगाउन खोजिएको महसुस भएको छ ।


सुरुदेखि नै प्रहरीले अनुसन्धानमा गरेको लापरबाही र अहिले भइरहेको अनुसन्धान पनि सन्तोषजनक नभएको पीडित परिवारको गुनासो छ । निर्मला घटनाका अपराधी पत्ता लगाउनुपर्ने माग गर्दै आन्दोलित स्थानीयसमेत अब वारपारको आन्दोलन गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । छठ पर्वसम्म आन्दोलनका कार्यक्रम स्थगित गरेका उनीहरूले त्यतिबेलासम्म पनि अपराधी पत्ता नलागे कडा आन्दोलन गर्ने चेतावनी दिए ।


‘प्रहरीले अहिले पनि सही तरिकाले अनुसन्धान गरेको छैन,’ आन्दोलनमा सक्रिय रूपमा सहभागी भइरहेका भीमदत्त नगरपालिका १९ बागफाँटाका खडक विष्टले भने, ‘अहिले पनि वास्तविक दोषी पत्ता लगाउला भन्ने आस छैन ।’ प्रहरीले घटना भएको २६ औं दिन भदौ ४ मा उनकै भाइ दिलीप विष्टलाई मुख्य अपराधीका रूपमा सार्वजनिक गरेको थियो ।

प्रकाशित : कार्तिक १६, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?