२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

‘लाइन टुटेपछि’ रोकिए टिपर

कागज नपुगेको भन्दै १९३ टिपर २ दिनदेखि सडकमा
घनश्याम गौतम

रूपन्देही — सिमेन्टका लागि खानीबाट चुनढुंगा निर्यात गर्दै आएका टिपरलाई प्रहरीले कागज नभएको भन्दै बुधबार रोक लगाएपछि बुटवलका सडकमा कच्चा पदार्थ बोकेका सयौंको लाइन लागेको छ  ।

‘लाइन टुटेपछि’ रोकिए टिपर

कच्चा पदार्थको भ्याट बिल नभएको, खानीबाट ढुवानी गर्ने, खानी उत्खनन प्रमाणपत्र नभएको र कतिपयले ओभरलोडसमेत बोकेको फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ । प्रदेश ५ सहित जिल्लामा सुरक्षा निकायका प्रमुख फेरिएसँगै वर्षौंदेखि चल्दै आएका टिपर रोकिनु ‘संयोग वा नियत’ भन्ने शंका सर्वसाधारणमा छ । वडा प्रहरीका प्रमुख हेमबहादुर केसीले बुधबार मजदुरसँग माथिको आदेश भन्दै सवारी रोकेर भ्याट बिल मागेका थिए ।


अर्घाखाँची र सर्वोत्तम सिमेन्टले पाल्पाका कचल, श्रीडाँडा, मरेक र सिद्धेश्वरमा खानी उत्खनन अनुमति लिएका छन् । सबै खानीबाट झन्डै ३ वर्षदेखि नियमित चुनढुंगा उत्खनन र निर्यात हुँदै आएको छ । पाल्पाको समन्वय समिति र सरकारसँग खानी उत्खनन आवश्यक प्रक्रिया पूरा गरी निर्यात हुँदै आएकामा अहिले भ्याट बिल खोज्दै प्रहरीले रोकेको अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक उद्धवबहादुर कार्कीले बताए । ‘हामीले ३० वर्षका लागि सरकारबाट खानी उत्खनन स्वीकृति लिएर निर्यात गर्दै आएका छौं,’ उनले भने, ‘गत वर्ष सरकारलाई ५ करोड २२ लाख राजस्व र जिससलाई ५५ लाख २२ हजार रोयल्टी तिरेका छौं ।’ प्रतिटन ६० रुपैयाँ खानी विभागलाई र १० प्रतिशत जिससलाई रोयल्टी तिर्ने गरेको उनले बताए ।


कच्चा पदार्थ उत्खनन गर्दा टिपर चालकसँग खानीबाट उपलब्ध गराएको चलानीपत्र हुने र त्यसकै आधारमा कम्प्युटर काँटाबाटै ढुवानीको र सरकारको राजस्व निर्धारण हुने उद्योगीले बताए । खानी तथा खनिज पदार्थ उत्खनन ऐन, २०४२ को दफा १८ र १९ ले पनि रोयल्टी तथा अन्य दस्तुर तथा स्थानीय विकास शुल्क तोकिएको दरमा तोकिएको निकायमा बुझाउनुपर्ने उल्लेख छ ।

ढुवानी व्यवसायीले चालकले सवारी प्रमाणपत्र, चालक अनुमतिपत्र नभएका र मापदण्डभन्दा बढी ढुवानी गर्नेलाई नियन्त्रणमा लिनु स्वाभाविकै भए पनि अन्यलाई समेत दुई दिनदेखि नियन्त्रणमा राखेको गुनासो गरेका छन् । व्यवसायी अरविन्द पाण्डेले उद्योगसँग सम्झौता गरेर खानीबाट सामग्री बोक्ने गरेकामा अहिले भ्याट बिल र अन्य प्रमाणपत्र खोजिएको बताए । उनले सडकमा झन्डै २ सय र खानीमा २ सय टिपर रोकिँदा मजदुर, व्यवसायी र उद्योग सबै मर्कामा परेको बताए ।


प्रहरी निरीक्षक केसीले रोयल्टी तिरेको र खानी उत्खनन प्रमाणपत्र नभएको, तोकिएकोभन्दा बढी सामग्री ढुवानी गर्ने गरेको देखिएपछि टिपर नियन्त्रणमा लिइएको बताए । ‘नीति–नियम उल्लंघन गर्ने सबैलाई नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘थप कारबाहीका लागि जिसस र ट्राफिकमा लेखेर पठाएका छौं ।’ ५ वर्षदेखि निरन्तर टिपर चलाएका एक व्यवसायीले भने ‘लाइन’ नमिलेपछि टिपर सडकमा रोकिएको आरोप लगाए । ‘अहिले पुराना गए, नयाँ आए, त्यसैले लाइन टुटेको छ,’ उनले भने, ‘त्यही मिलाउने प्रयास हो, भोलिसम्ममा सबै मिल्छ ।’


यति धेरै टिपर एकैपटक नियन्त्रणमा लिएको यो पहिलो हो । जिसस रूपन्देहीका प्रमुख एकबहादुर विश्वकर्माले समस्या समाधानका लागि व्यवसायी, उद्योगी, प्रहरी र प्रशासनसँग संयुक्त रूपमा छलफल भइरहेको बताए । ‘हामी समस्या समाधान गर्ने प्रयासमा छौं,’ उनले भने, ‘कागजपत्रको पनि अध्ययन हुँदैछ ।’ पाल्पा र अर्घाखाँचीका खानीबाट भैरहवाका उद्योगका लागि कच्चा पदार्थ बोक्ने यस क्षेत्रमा १ हजारभन्दा बढी टिपर छन् ।


मापदण्डविपरीत सामग्री बोकेर तीव्र गतिमा ओहोरदोहोर गर्दा सडक बिग्रिनेदेखि दुर्घटना बढेको भन्दै सर्वसाधारणले वैकल्पिक सडक व्यवस्था गर्न माग गर्दै आएका छन् । बुटवल क्षेत्रमा टिपरकै कारण तीन वर्षमै ७ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : कार्तिक १६, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?