कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सम्झनाको सपना

आफूजस्तै शारीरिक रूपले अशक्तहरूको सेवा गर्ने अठोट
डम्बरसिं राई

खोटाङ — सम्झना १९ वर्षकी भइन्  । उमेर बढेसँगै उनले आफूजस्तै शारीरिक अशक्तता भएकाको सेवामा लाग्ने सपना बुन्न थालेकी छन्  ।

सम्झनाको सपना

खोटेहाङ गाउँपालिका–७ की सम्झना राई शारीरिक रूपमा अशक्त भए पनि मानसिक रूपमा अब्बल छिन् । दुवै हात नभए पनि खुट्टैले लेखेर कक्षा १२ सम्म पुगेकी छन् । उनी भगवती दीनानाथ माविमा अध्ययनरत छिन् ।


उच्च शिक्षासम्म अध्ययन गरेर आफूजस्तै शारीरिक अशक्तहरूलाई सेवा गर्ने उनको भनाइ छ । ‘मजस्तै शारीरिक अशक्तहरूलाई सेवा गर्ने मेरो लक्ष्य छ,’ उनले भनिन्, ‘हामीजस्ता शारीरिक अशक्तहरूका लागि सेवा गरेर नाम कमाउने मेरो उद्देश्य छ ।’


उनी ८ वर्षको हुँदा स्कुल भर्ना भएकी हुन् । खुट्टाले बालुवामा अक्षर लेखेको देखेपछि लेख–पढ गर्न सक्ने रहिछ भनेर स्कुल भर्ना गरिदिएको उनकी आमा सुनीता राईले सुनाइन् । ‘छोरी अपाङ्ग भएपछि साह्रै चिन्ता लागेको थियो,’ सुनीताले भनिन्, ‘अब त आस लागेको छ ।’ मिहिनेती भएकाले केही गर्न सक्ने आशा जागेको उल्लेख गर्दै उनी भन्छिन्, ‘इच्छाअनुसार पढाउन पाए भविष्य राम्रो हुन्थ्यो ।’ आर्थिक अवस्था कमजोर भएकाले उनको पढाइ बीचमै टुट्ने हो कि ? भन्ने चिन्ता आमा–बुवाको छ । केही मनकारीहरूले सहयोग गरे पनि उच्च शिक्षासम्मका लागि कसरी पढाउने भन्ने सुर्ता लागिरहेको सुनीताले सुनाइन् ।


उनका अनुसार बेलायती वेयलफेयरले सपनाका लागि एउटा घरसमेत बनाइदिएको छ । दुईतले जस्ताले छाएको घर बनाइदिए पनि पढाउने खर्च भने अभाव नै छ । यसबाहेक अन्य मनकारीहरूले केही कापी–कलम र कपडा किनेर सहयोग गरेको स्मरण सुनीताले सुनाइन् ।


उनलाई राज्यले कुनै सुविधा नदिएको सुनीताले बताइन् । ‘१० कक्षासम्म पढिन्जेल पाँच सयका दरले छात्रावृत्ति दिए ।’ सुनीताले भनिन्, ‘अहिले केही दिएको छैन ।’ विद्यालयका प्रअ कुमार पराजुलीले भने अध्ययनमा लाग्ने शुल्कहरू छुट दिएको बताए । उनको पढाइ पनि राम्रै भएकाले सहयोग गरे उनको भविष्य राम्रो हुने प्रअ पराजुलीले बताए ।


‘आजसम्म मलाई सहयोग गर्नुहुने सबैलाई धेरै–धेरै धन्यवाद’ उनी थप्छिन्, ‘सहयोगको गुन सेवा गरेर तिर्न सकौं ।’

प्रकाशित : कार्तिक १६, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?