कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कांग्रेस चियापान: तीन घण्टा उभिएरै स्वागत

सभापतिमा कोइराला परिवारको दाबी रहन्छ : शशांक
सानेपामा बल्ल कांग्रेस भेटेँ : खनाल
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे चियापान सुरु भएसँगै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आगुन्तकको स्वागतमा उभिए । यी दुई नेताको दायाँबायाँ पदाधिकारी र पूर्वपदाधिकारी थिए ।

कांग्रेस चियापान: तीन घण्टा उभिएरै स्वागत

नेकपा अध्यक्ष पुष्पकमल दाहाल चियापानमा सहभागी हुन ठीक ४ बजे सानेपा पुग्दा दुवै नेता आगन्तुकको स्वागतमा उभिइरहेका थिए । दाहालको आगमनले बल्ल देउवा र पौडेललाई राहत मिल्यो । तीन घण्टा निरन्तर उभिएर आगुन्तकलाई स्वागत गरिरहेका उनीहरू दाहालसँगै कुर्चीमा सुस्ताए ।


७३ वर्षीय देउवा र ७४ वर्षीय पौडेल तीन घण्टा उभिए पनि दायाँबायाँ रहेका अन्य नेता लामो समय टिक्न सकेनन् । महामन्त्री शशांक कोइराला त एकछिन उभिनासाथ कुर्सीमा बसेरै स्वागत गरे । अरू नेता पनि बस्दै, उभिँदै गरे । दुवै नेता यसरी उभिएको दृश्यलाई कतिपयले भावी नेतृत्वको सांकेतिक प्रतिस्पर्धाका रूपमा समेत चित्रण गरे । ‘दुवैलाई म के कम भन्ने भावना होला,’ नजिकै रहेका एक नेताले भने, ‘ठूलो संख्यामा आएका नेता(कार्यकर्तालाई आफू कमजोर नभएको मनोवैज्ञानिक प्रभाव पार्ने प्रयास गरेको हुनसक्छ ।’

७३ वर्षीय देउवा र ७४ वर्षीय पौडेलले तीन घण्टा उभिएरै पाहुनालाई स्वागत गरे तर दायाँबायाँ रहेका नेताहरु लामो समय टिक्न सकेनन् । महामन्त्री शशांक कोइरालाले त अधिकांश समय कुर्सीमा बसेरै स्वागत गरे । अरु नेता पनि बस्दै, उभिँदै गरे । दुवै नेता यसरी उभिएको दृश्यलाई कतिपयले भावी नेतृत्वको सांकेतिक प्रतिस्पर्धाका रुपमा समेत चित्रण गरे ।


संवाददातालाई प्रतिक्रिया दिँदा देउवा र पौडेल पार्टी राजनीतिबारे खुल्न चाहेनन् । बरु महामन्त्री कोइरालाले १४ औं महाधिवेशनमा कोइराला परिवारबाट कसैले सभापतिमा प्रतिस्पर्धा गर्ने संकेत गरे । ‘अझै नेपाली राजनीतिमा कोइरालाको लिगेसी आवश्यक छ,’ उनले भने, ‘कोइराला परिवारबाट सभापतिमा दाबी रहन्छ । त्यसका लागि सल्लाह हुँदैछ ।’


आन्तरिक संघर्षमा अल्झिएरै प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेकोमा कांग्रेस नेताप्रति पार्टी कार्यकर्ताकै असन्तुष्टि बढदो छ । यही मेसोमा नेकपा नेता झलनाथ खनालले व्यंग्य कसे । ‘प्रतिपक्ष कता हरायो भन्ने लागिरहेको थियो, आज सानेपामा आउँदा भव्यतासाथ चियापान भइरहेको पाएँ,’ खनालले भने, ‘बल्ल कांग्रेससँग भेट भयो, खुसी लागेको छ ।’


सभापति देउवाले बीपीले सुरु गरेको चियापानलाई निरन्तरता दिँदै आएको प्रसंग जोडेर सबैलाई शुभकामना दिए । तर, कांग्रेसको चियापानको सन्दर्भ, एकता र मेलमिलापको आवश्यकताबारे भने नेकपा अध्यक्ष दाहालले प्रकाश पारे । बीपीले राष्ट्रिय एकता र मेलमिलापको सन्देश लिएर स्वदेश फर्कंदा सुरुवात गरेको चियापान आज सबै पार्टीले अनुसरण गर्न लागेको सन्दर्भ जोड्दै दाहालले भने, ‘राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हिजो जति थियो, आज पनि त्यति नै छ ।’ मुलुकको राजनीतिक परिवर्तन र विकासको आधार राष्ट्रिय एकता भएको उनले बताए ।


उनले तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूबीच भएको शान्ति सम्झौताअनुसार शान्तिप्रक्रिया टुंगोमा पुगेको प्रसंग जोडे । ‘भलै केही काम बाँकी छन् तर शान्तिप्रक्रिया टुंगोमा पुगेको छ,’ उनले भने, ‘अहिले संविधानको भावनाअनुसार विकास र समृद्धि जनताको चाहना छ । त्यसलाई पूरा गर्न राष्ट्रिय एकताको जगमा मात्रै सम्भव छ ।’ उनले कांग्रेस नेताहरूलाई समृद्धिको यात्रामा सँगै अघि बढ्न अपिल गरे । सँगै अघि बढ्ने, नबढ्ने प्रश्नमा दाहालपछि बोलेका देउवाले यति मात्रै भने, ‘यसका लागि सत्तापक्षले नै सोच्नुपर्छ ।’


वरिष्ठ नेता पौडेलले राष्ट्रिय स्थायित्व, स्थिरता र एकता कायम गर्न सत्तापक्षलाई अहिलेको जस्तो अनुकूल परिस्थिति फेरि नआउने भन्दै त्यसको सदुपयोग गर्न अपिल गरे । ‘सबै परिस्थिति बनेको बेलामा पनि राम्रो विकास हुन सकेन भने भविष्य अन्धकारमा जान्छ,’ उनको भनाइ थियो ।


नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आर्थिक क्रान्तिका लागि प्रतिपक्षलाई सँगै अघि बढ्न आग्रह गरे । ‘यो चियापानले नेताहरूबीच एकता कायम गरी आर्थिक समृद्धिको यात्रामा अघि बढ्न सहयोग पुर्‍याउँछ,’ उनले थपे ।


चियापान व्यवस्थित
कांग्रेस चियापान यसपटक व्यवस्थित थियो । चियापानलाई व्यवस्थित बनाउन मुख्यसचिव कृष्ण पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा तीन दिनदेखि तयारीमा थिए । नेताहरू बस्नेभन्दा अग्लो मञ्च मिडियाका लागि बनाइएको थियो । जहाँबाट नेताहरूले आगुन्तकलाई स्वागत गरिरहेको तस्बिर र भिडियो लिन सहज बनेको थियो ।


नेताहरूको अघि र लाइन लाग्ने ठाउँमा ‘सेल्फी’ लिन मनाही गरिएको थियो । तस्बिर लिन पार्टी कार्यालयको पछिल्लो ठाउँमा छुट्टै व्यवस्था थियो । विदेशी कूटनीतिक र पार्टीका वरिष्ठ नेताका छुट्टै बाटो र ठाउँ तोकिएको थियो । नेताहरूसँग सहजै पुग्न मात्रै नभएर चियापामा जान, फर्कन र भेटघाट गर्न पनि यसपटक सहज भएको नेताहरूले बताए ।

प्रकाशित : कार्तिक १७, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?