नयाँ पर्यटकीय गन्तव्य सिकलेसले लोभ्यायो

दैनिक ४ सयजना पर्यटक पुग्दै 
लालप्रसाद शर्मा

सिकलेस (कास्की) — काखे बालकसहित पोखरा सभागृहचोकका व्यवसायी होमराज भट्टराई र श्रीमती पर्यटकीय गाउँ सिकलेस घुम्न निस्किए । उनीहरुको साथमा अन्य ११ आफन्तजन पनि थिए ।

नयाँ पर्यटकीय गन्तव्य सिकलेसले लोभ्यायो

‘सिकलेसको गाउँ, नजिकै देखिने हिमालको तस्बिरले हामीलाई लोभ्यायो,’ भट्टराईले भने, ‘त्यही भएर आएको । हिमाल हेर्दै ट्रेकिङ गर्दा आनन्दको अनुभूति भयो ।’ उनले ढुंगाका छाना छाएका घरहरू भएको चिटिक्कको गाउँ, आतिथ्यता र सुन्दरताले थप मोहित भएको प्रतिक्रिया दिए ।


पोखराकै युवा लक्ष्मण गुरुङको एउटा समूह पनि सिकलेस आइपुग्यो । आँखा अघिनै हिमाल देखिएपछि उनमा खुसीको सिमै थिएन । ‘देशभित्रै घुम्नुपर्ने ठाउँ थुप्रै छन् । सिकलेसको विशेषता बेग्लै रहेछ’ उनले भने, ‘समयमै आएर राम्रो गरिएछ ।’ उनको समूहमा ९ जना युवा थिए ।


सरकारले बिहीबारमात्रै नयाँ पर्यटकीय गन्तव्य घोषणा गरेको सिकलेस क्षेत्रमा यतिबेला आन्तरिक पर्यटकको चहलपहल निकै बढेको छ । साथै विदेशी पर्यटकहरु पनि राम्रै देखिन थालेका छन् । यसले स्थानीयलाई उत्साही बनाएको छ । पर्यटकको चहलपहल बढेपछि गाउँमा होटल खुल्ने र होमस्टे (घरबास) सञ्चालनको लहरै चलेको छ । अहिलेसम्म १२ होटल र १५ होमस्टे सञ्चालनमा आइसकेका छन् । तर, यतिलेमात्र थेग्ने अवस्था नदेखिएपछि तत्काल १० घरमा होमस्टे सञ्चालनको तयारी भएको स्थानीय अन्नपूर्ण माविका शिक्षक गेहेन्द्र गुरुङले बताए ।


अन्नपूर्ण हिमश्रृंखला र लमजुङ हिमालको काखमा रहेको यो ठूलो गुरुङ गाउँ पर्यापर्यटन (इको टुरिजम) को हिसावले उत्कृष्ट छ । ‘गुरुङ संस्कृति, विभिन्न नाच, शान्त र रमणीय गाउँ अनि हिमपहिरोको समेत दृश्य देखिने भएकाले आन्तरिक पर्यटकहरु आउने क्रम बढेको छ,’ स्थानीय नमस्ते गेष्ट हाउसका सञ्चालक धन गुरुङ (माइला)ले भने, ‘विदेशी पनि आउन थालेका छन् । अब गाउँलाई नमूना बनाउने अभियानमा छौं ।’


माइलाका अनुसार कास्की, काठमाडौं, चितवन, बुटवललगायतका स्थानबाट आन्तरिक पर्यटक आइरहेका छन् । घुम्न आउनेमा युवापुस्ता बढी भए पनि पछिल्लो समय परिवारसहित आउने क्रम पनि बढेको छ । पर्यटकको चहलपहलले गर्दा गाउँबाट बसाई सराईसमेत रोकिएको उनले बताए । ‘घरजग्गा बेचेर पोखरा बसाई सरेकाहरु यहाँ आउन खोजेका छन्,’ उनले भने, ‘तर जग्गा नपाएर फर्किन पाएका छैनन् । यो सबै पर्यटकको चहलपहलले भएको हो ।’ दुई दिनको ट्रेकिङ गर्ने अवसर पनि यहाँ मिल्छ । भेंडीगोठको पनि थप विशेषता हो ।


स्थानीयका अनुसार दैनिक ५ सय जति पर्यटकलाई एकरात राख्न सकिन्छ । अहिले चारसयसम्म दैनिक पर्यटक पुग्ने गरेका छन । थेग्न नसके होटल, लज र होमस्टेको पूर्वाधार थप्ने तयारी पनि भइरहेको शिक्षक गुरुङले बताए । कतिपय विद्यालयले शैक्षिक भ्रमणसमेत यही गराउँछन् जैविक, सांस्कृतिकलगायत हिसाबले उत्कृष्ट गाउँवासीको स्वागत, सत्कारले पनि पर्यटकलाई आउन प्रेरित गरिरहेको हुन्छ । ‘प्राकृतिक सुन्दरता, मनमोहक हिमाल, मिलेर बसेको समाजले फेरि आउन प्रेरित गर्‍यो’ भट्टराईले भने । घाँटु, काँचो कटहर (आमा समूहको नाच), संग्रहालय, नजिकै देखिने हिमाल, हिमपहिरो पनि देख्न सकिने शान्त र रमणीय गाउँ भएकाले पर्यटकहरु आउने स्थानीय युवा देवीजंग गुरुङले बताए ।


विशेषगरी सडक सञ्जालले जोडिएपछि आन्तरिक पर्यटकको रोजाइमा सिकलेस परेकोले संख्या ह्वात्तै बढेको हो । ‘यातायात सेवाले पोखरालगायत स्थानबाट आन्तरिक पर्यटक घुम्न आउने बढेका हुन्,’ माइलाले भने, ‘बिदा मनाउन, शैक्षिक भ्रमण गर्नेहरु पनि उल्लेख्छ छन् ।’ सार्वजनिक यातायातका साधनदेखि मोटरसाइकलमा पर्यटक पुग्ने गरेका छन् । पछिल्लोपटक खुलेको संग्रहालयले पनि पर्यटकको मन जित्न सकेको उनले बताए ।


मादी गाउँपालिका १ का वडाध्यक्ष सुरज गुरुङका अनुसार सरकारको नयाँ गन्तव्य घोषणा स्वागतयोग्य रहेको बताए । ‘यसै त आन्तरिक पर्यटकको आगमन बढिरहेको थियो । त्यहीमाथि सरकारले नै गन्तव्य घोषणा गरेपछि अब झनै बढ्ने विश्वास छ,’ उनले भने, ‘यसलाई मध्यनजर राख्दै पर्यटकलाई थप सेवासुविधाका लागि योजना बनाउने छौं ।’


गाउँबाट ७ घन्टाजति पैदल हिँडेमा सबैभन्दा कम उचाइमा रहेको कपूचे हिमताल हेर्न पाइन्छ । यसैगरी गुरुङहरुको पैतृक थलो क्होंलासोथार पनि यहीबाट जान सकिन्छ । पोखराको काहुँखोलाबाट ४० किलोमिटर उत्तरमा सिकलेस छ । बिहान ८ बजेदेखि नियमितरुपमा सवारीसाधन उपलब्ध हुन्छन् ।


प्रकाशित : कार्तिक १७, २०७५ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?