कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सेतक चिनी दोहन

वसन्तप्रताप सिंह

बझाङ — जिल्लाका हिमाली क्षेत्रमा रहेका बहुमूल्य जडीबुटी सेतक चिनी बिना अनुमति संकलन र निकासी भइरहेको छ । सुदूर र मध्यपश्चिमका विभिन्न जिल्लाबाट आएका सयौं मानिस भदौ अन्तिम सातादेखि वनक्षेत्रमै पाल हालेर बसेका छन् ।

सेतक चिनी दोहन

अवैध धन्दा रोक्न गएको वनटोली असुरक्षाको कारण देखाउँदै बीचबाटै फर्किएको छ ।

अहिले बझाङका वनमा रुकुम, रोल्पा, सल्यान, प्यूठान, दाङ, दैलेख, जाजरकोट, हुम्ला, जुम्ला, सुर्खेतसम्मका मानिस सेतक चिनीलगायत जडीबुटी संकलनमा व्यस्त छन् । साइपाल गाउँपालिकाका चाल्नावन, राइढुंगी, माझा, फरालखेत, स्याङवन, औलागाड, दोतले, चिडा र सुर्मा गाउँपालिकाका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुंगा, पार्थी क्षेत्रमा संकलन र निकासीमा संलग्नहरू छयासछयास्ती देखिन्छन् ।

‘बुंगल नगरपालिका, दुर्गाथली, छबिसपाथिभेरा, खप्तडछान्ना गाउँपालिकाका वनमा स्थानीय र बाहिरी जिल्लाका संकलकले पाल टाँगेर डेरा जमाएका छन्,’ साइपाल–५ का ढाक्पा लामाले भने, ‘साइपाल गाउँपालिकामा मात्र ७० हजार क्विन्टलभन्दा बढी सेतक चिनी संकलन गरेर राखिएको छ ।’

हिमाली क्षेत्रमा रहेका बहुमूल्य जडीबुटी सेतक चिनी संकलन गर्न बझाङ बाहिरबाट समेत आएकाहरु जंगलमा डेरा जमाएरै बसेका छन् । कसैले संकलन अनुमति लिएका छैनन् । अवैध धन्दा रोक्न गएको वनटोली असुरक्षाका कारण देखाउँदै बीचैबाट फर्किएको छ ।



एक जनाले दिनमा पाँच क्विन्टलसम्म काँचो खिरौंला (सेतक चिनी) संकलन गर्न सक्ने हुम्लाबाट आएका सर्केगाड गाउँपालिकाका ललिजन फडेराले बताए । ‘एउटा वनमा १ सयदेखि ५ सयसम्म मानिस संकलनका लागि गएका छन्,’ उनको अनुमान छ । साइपालको दोतलेमा क्याम्प खडा गरेर बसेका उनले आफूहरूले १०/१५ दिन अवधिमा २ सय क्विन्टलभन्दा बढी सेतक चिनी संकलन गरिसकेको बताए । संकलन र निकासीमा संलग्न कसैले पनि डिभिजन वन कार्यालय र सामुदायिक वनको अनुमति लिएका छैनन् । वन नियमावली २०५१ मा सेतक चिनी कात्तिक र मंसिर महिनामा मात्र संकलन गर्न पाइन्छ । तर यहाँ भदौ अन्तिमदेखि संकलन भइरहेको छ ।


यस्तै सुर्मा गाउँपालिकामा ५० हजार क्विन्टलभन्दा बढी सेतक चिनी संकलन भएको स्थानीय गणेश बोहराको भनाइ छ । व्यापारीले विभिन्न जिल्लाबाट कामदार ल्याएर पाटनमा काँचो सेतक चिनीको प्रतिकिलो ५० रुपैयाँ र सुकाएर पकाएको प्रतिकिलो २ सय रुपैयाँ दिने गरेको हुम्लाकै काली फडेराले बताइन् । ‘कतिपयले दैनिक ज्यालामा पनि संकलन गर्न लगाएका छन्,’ उनले भनिन् ।


बझाङको पञ्चवर्षीय वन व्यवस्थापन योजना २०७१ अनुसार जिल्लाभरका सामुदायिक वनबाट ३ सय ५० क्विन्टल र सरकारी वनबाट ५० क्विन्टल मात्र सेतक चिनी संकलन गर्न मिल्छ । वनस्रोतको वैज्ञानिक सर्वेक्षणपछि वनपैदावारको कुल मौज्दात र त्यसको वार्षिक वृद्धिदर निक्र्योल गरेर मात्र संकलन गर्न मिल्ने परिमाण निकालिन्छ । यसरी बनाइएको पञ्चवर्षीय योजना वन विभागले स्वीकृत गरिसकेपछि लागू हुन्छ ।


‘वार्षिक वृद्धिदरको आधाभन्दा कम वनपैदावार मात्र संकलन गर्न मिल्छ,’ वन प्राविधिक जीवन बोहराले भने, ‘तोकिएको परिमाणभन्दा बढी संकलन भए यसले त्यो प्रजातिको अस्तित्व संकटमा त पर्छ नै, समग्र जैविक विविधता नै प्रभावित हुन सक्छ ।’ अन्धाधुन्ध संकलनकै कारण केही वर्षअघिसम्म प्रशस्त पाइने कटुकी, वन लसुन, सतुवाजस्ता जडीबुटी लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

विवादित अवस्थामै संकलन
वन विभागले तत्कालीन वन नियमावलीमा सेतक चिनी र कुकुरडाइनोलाई एउटै वैज्ञानिक नाम ‘स्माइलक्स स्पेसिज’ भन्दै आए पनि फरकफरक प्रजाति भएकाले सेतक चिनीको वैज्ञानिक नाम र राजस्व दर टुंगो नलाग्दासम्म संकलन रोक लगाएको थियो । वन मन्त्रालयले २०७५ असोज २९ गते राजपत्रमा सूचना प्रकाशन गरी वन नियमावली २०५१ हेरफेर गरेको थियो ।


वन तथा भूसंरक्षण विभागले यही कात्तिक ४ गते सबै डिभिजन वन कार्यालयलाई पत्राचार गरी सेतक चिनीको वैज्ञानिक नाम पोलिगोनाटम स्पेसिज रहेको जनाउँदै राजस्व प्रतिकेजी १५ रुपैयाँ तोकेको थियो । तर बझाङमा बिक्रीवितरण टुंगो नलाग्दै असोजभित्र १ लाख क्विन्टलभन्दा बढी संकलन भइसकेको अनुमान छ । साइपालका वसन्त बोहराले भने, ‘भदौ अन्तिमतिरै मानिस पाटन ओइरिन थालेका हुन् । असोजको मध्यतिरसम्म एक जनाले २०/३० क्विन्टल संकलन गरिसकेका थिए ।’

सेतक चिनीको चोरीनिकासी भइरहेको चर्चापछि डिभिजन वनले असोज अन्तिम साता फरेस्टर रघुवीर कुँवर नेतृत्वको ५ जनाको टोली संकलन क्षेत्रतर्फ परिचालन गरेको थियो । तर टोली आधा बाटोबाटै फर्किएको स्थानीयले बताए । साइपालको लेकाली भेगमा भेटिएका स्थानीय र जडीबुटी संकलकले भने, ‘काँकरकोटसम्म वनटोली आएको थियो रे । जडीबुटी व्यापारीलाई त्यहाँ भेटेपछि के भनेर कुरा मिलाए कुन्नि, सबै फर्केर गए । संकलन क्षेत्रसम्म पुग्दै पुगेनन् ।’ काँकरकोटबाट जडीबुटी संकलन भइरहेको ठाउँ पुग्न चार दिन हिँड्नुपर्छ । संकलकहरू सयौं तर आफूहरू थोरै संख्यामा भएकाले असुरक्षाको कारण सबै ठाउँ पुग्न नसकेको अनुगमन टोलीमा सहभागी डिभिजन वनका वनरक्षक झिल्के बोहराले बताए ।

डिभिजनले वनरक्षकको टोली संकलन क्षेत्रतर्फ पठाएको तर नियन्त्रण प्रयास विफल भएको निमित्त डिभिजन वन अधिकृत कर्णबहादुर खातीले बताए । संकलकको तुलनामा वन कार्यालयसँग सीमित जनशक्ति रहेकाले ‘ब्याक हुनुपरेको’ उनको भनाइ छ ।सेतक चिनी संकलनका लागि हालसम्म जिल्ला वनले कसैलाई पनि अनुमति नदिएको उनले बताए । ‘६० जनाभन्दा बढीले निवेदन दिएका छन् । अनुमति पुर्जी कसैलाई दिइएको छैन । वितरण गर्ने तयारीमा छौं,’ उनले भने ।

वन व्यवस्थापन योजनाले तोकेभन्दा बढी परिमाणमा संकलित जडीबुटीलाई कसरी वैधानिकता दिन सकिन्छ भन्ने विषयमा पनि छलफल भइरहेको खातीले बताए ।‘यहाँ तोकिएभन्दा बढी परिमाणमा सेतक चिनी छ । ईआईए गर्ने कि भन्ने तयारी गरिरहेका छौं,’ उनले भने । स्थानीयले भने डिभिजन वन पनि व्यापारीसँग मिलेर अवैध रूपमा संकलित जडीबुटीलाई वैध बनाउन लागिपरेको आरोप लगाएका छन् । साइपालका पासाङ लामाले भने, ‘कात्तिक–मंसिरमा संकलन गर्नुपर्ने जडीबुटी भदौ–असोजमै संकलन भएको छ । अनुमतिबिना संकलन भइरहेको देख्दादेख्दै कारबाही गर्नु साटो ईआईएको कुरा गरेर वन कर्मचारी नै तस्करीलाई प्रवद्र्धन गर्न खोजिरहेका छन् । सबैतिर साँठगाँठ छ ।’

बझाङबाट धेरैजसो जडीबुटी हुम्ला हुँदै निकासी हुन थालेको संकलकले नै बताए । व्यापारीले साइपालको राईढुंगी नाका हुँदै हुम्लाको रानीसहिनाबाट सेतक चिनी सिमीकोट पुर्‍याउने र त्यहाँबाट डिभिजन वन कार्यालयको कागज बनाएर हवाईजहाजमार्फत नेपालगन्ज पठाउने गरेको उनीहरूले जनाए ।

‘३०/४० हजार क्विन्टल सेतक चिनी हुम्ला पठाइसकेका छन्,’ राइढुंगी जाने बाटामा भेडापालन गरेर बसेका बाजुराका चन्द्रसिंह थापाले भने, ‘जंगलमै पकाएर सुकाएपछि भेडाच्यांग्रा र मान्छेलाई बोकाएर रातारात हुम्ला पठाइन्छ ।’

बझाङका प्राय: सबै क्षेत्रमा सेतक चिनी संकलन गर्न लगाउने मुख्य व्यापारी जुम्लाका जंगवीर बोहरा र हुम्लाका टेकबहादुर तामाङ रहेको बुझिएको छ । यस्तै जाजरकोट, कुसे गाउँपालिकाका प्रेमबहादुर शाही, जुम्लाका कृष्णबहादुर राउत, भीमबहादुर राउतले जडीबुटी हुम्ला पठाउने, स्थानीय एजेन्ट परिचालन गर्ने र स्थानीय तहका जनप्रतिनिधि र डिभिजन वनका कर्मचारीसँग सेटिङ मिलाउने गरेको संकलक तथा स्थानीय बताउँछन् । उनीहरूले प्रत्येक गाउँमा स्थानीयलाई कमिसनको लोभ देखाएर एजेन्ट बनाएको र तिनले जनप्रतिनिधिसँग साँठगाँठ मिलाउने गरेको साइपालका मानबहादुर बोहराले दाबी गरे ।


स्थानीय तहबाटै अवैध प्रवेश शुल्क
अनुमतिबिनै सेतक चिनी संकलन गर्न गएकाबाट स्थानीय तहले प्रवेश शुल्क उठाएको छ । साइपाल गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका संकलकबाट प्रतिव्यक्ति ५ सय, गाउँपालिका बाहिरका व्यक्तिबाट ७ सय र जिल्ला बाहिरका व्यक्तिबाट १ हजारका दरले रकम लिएको हो । सुर्मा गाउँपालिकाले पनि आफ्नो क्षेत्रकालाई ३ सय, अन्य स्थानीय तह र जिल्ला बाहिरकालाई १ हजारका दरले प्रवेश शुल्क उठाएको गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले बताए ।


१ हजारभन्दा बढी संकलक रहे पनि गाउँपालिकाको टोली राजस्व संकलन गर्न जाँदा आधाजसो लुक्ने गरेका छन् । डिभिजन वनको अनुमतिबिनै संकलन गरिरहेकासँग प्रवेश शुल्क उठाइएकोबारे उनले भने, ‘मैले यस विषयबारे जिल्लासभाको बैठकमा पनि कुरा उठाएको हुँ । हजारौं संकलकले अन्धाधुन्ध खिरौला निकालिरहेका छन्, नियन्त्रण गर्नुपर्‍यो भन्दा डीएफओ बोलेनन् । हामीले त भूमिकर लिएका हौं । जडीबुटीको राजस्व उठाउने काम वनको हो ।’ यता साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीले सुरुमा प्रवेश शुल्क उठाए पनि विवादमा परिने देखेर पछि उठाउन छोडेको बताए ।

उनले पनि हजारौं क्विन्टल सेतक चिनी अन्धाधुन्ध संकलन भइहेको र त्यसले ठूलो वातावरणीय विनाश निम्त्याउने खतरा रहेकाले नियन्त्रणका लागि डिभिजन वनलाई पत्राचार गरिएको जनाए । ‘जिल्ला समन्वय समितिको बैठकमा पनि कुरा उठाएको हुँ तर वन कार्यालयले चासो दिएन । ठूलो परिमाणको जडीबुटी अन्धाधुन्ध संकलन भइरहेको छ,’ उनले भने ।

प्रकाशित : कार्तिक १८, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?