पूर्वमन्त्री एवं मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर रहेनन्

अतुल मिश्र

काठमाडौँ — पूर्वमन्त्री एवं मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा उपचारको क्रममा आइतबार काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको छ । उनको दिउँसो २ बजेर ४ मिनेटमा कार्डियो रेस्पिरेटोरी फेलियर र मल्टिपल अर्गेन फेलियरका कारण निधन भएको अस्पतालले जनाएको छ ।

पूर्वमन्त्री एवं मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर रहेनन्

तुलाधरलाई मस्तिष्कघात भएपछि ६ गते शुक्रबार अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृगौलामा समस्या देखिएपछि डायलाइसिसका लागि अन्नपूर्ण न्यूरो अस्पतालबाट कार्तिक १३ गते बेलुकी नर्भिक अस्पतालको आइसियूमा सारिएको थियो । नर्भिकमा तीनपटक डायलाइसिस लगायतको अन्य समस्याको उपचारपश्चात् पनि उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि केही दिन अघि भेन्टीलेटरमा राखिएको थियो । बिहान ९ बजे उनको स्वास्थ्य अवस्था नाजुक भएपछि तीनपटक सीपीआर गरिएको अस्पतालले जानकारी दिएको छ ।


तत्कालीन कम्युनिस्ट पार्टीहरुले समर्थनमा जनपक्षिय उम्मेदवारका रुपमा राष्ट्रिय पञ्चायतको सदस्य समेत भएका उनी प्रखर वक्ताका रुपमा परिचित छन् । बहुदल आएपछि उनले सूर्य चिह्न लिएर चुनाव लड्दै सांसद समेत भएका थिए । उनी २०४८ र २०५१ मा गरी दुईपटक सांसद भएका थिए । उनले २०५१ सालमा स्वास्थ्य मन्त्रीका रुपमा समेत काम गरेका थिए ।


पछिल्लो समय आदिवासी जनजातीहरुको अधिकारका लागि आवाज उठाउँदै आएका उनले नेपालमा मानव अधिकारवादीका रुपमा परिचय बनाएका छन् । तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।

प्रकाशित : कार्तिक १८, २०७५ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?